www.tandavnews.com
Fact ~ In search of truth

नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरिँदै

काठमाडौं ।

नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ ।

आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्न लागिएको हो । सो विषयमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले यो अभियान गाउँगाउँसम्म पुग्नु नै उपलब्धिपूर्ण भएको बताए ।

देशमा विभिन्न किसिमका कठिनाइ हुँदाहुँदै पनि आम मानिसमा चेतना बढ्दै गएको उनको भनाइ थियो । मन्त्री मगरले भने, “कतिपयले विदेशबाट कमाएर ल्याएको पैसाले त कतिले गहनासमेत बेचेर शौचालय बनाएका छन् ।”

मन्त्रालयका सचिव माधव बेल्बासेले यो अभियान तत्कालका लागि मात्रै नभएर दीर्घकालीन महत्वको भएको बताए । आम जनताका बानीमा एकैपटक परिवर्तन ल्याउन नसकिएको र बाढी तथा पहिरोलगायत प्रकृतिक प्रकोपले पनि अभियानमा बाधा पुर्याएको उनले औँल्याए।

सरकारले २०६८ देखि खुला दिसामुक्त क्षेत्र घोषणा शुरु गरेको हो । विसं २०६९ मा कास्की नेपालको पहिलो खुला दिसामुक्त जिल्ला घोषणा भएको थियो । सरकारले चालु आवको नीति तथा कार्यक्रममा देशका बाँकी सबै पालिका र जिल्ला खुला दिसामुक्त घोषणा गरेको थियो ।

अहिले देशका झण्डै सबै घरधुरीमा सरसफाइको आधारभूत सुविधा तथा शौचालयको पहुँच पुगेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति सचिवालयले जनाएको छ । देशभर कूल ५६ लाख ६० हजार २१४ घरधुरीमा शौचालय निर्माण भएको मन्त्रालयले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.