www.tandavnews.com
Fact ~ In search of truth

पदमार्ग जोगाउन ३० बर्ष मोटरबाटो नखनीने

पर्वत / ताण्डव न्युज

सवारी गुडाउनको लागि खनिएका सडकका कारण पदमार्गहरु नै खतरामा परेपछि अन्नपूर्ण पदमार्गमा अबको ३० बर्ष सडक नखनीने भएको छ ।
धुलाम्मे सडकका कारण बिश्वकै उत्कृष्ट अन्नपुर्ण पदमार्गका धेरै स्थान फोहोर र पदमार्गको औचित्य नै खतरामा परेपछि अन्नपुर्ण पदमार्गमा पर्ने झिनु देखि अन्नपुर्ण आधार शिबीर(बेस क्याम्प) सम्मको पदमार्गलाई जोगाई राख्न स्थानियबासीले सडक नखन्ने प्रतिबद्धता जनाएका छन ।

अन्नपुर्ण संरक्षण क्षेत्रमा पर्ने कास्कीको अन्नपुर्ण गाउँपालिका ११ मा पर्ने झिनुडाडाँ देखि अन्नपुर्ण बेस क्याम्प सम्मको पदमार्गलाई बचाउन स्थानियले ३० बर्ष सम्म सडक नखन्ने प्रतिबद्धता जनाएका हुन ।

Batas

झिनुडाडाँ देखि अन्नपुर्ण बेस क्याम्प सम्मको पदायात्रा दुई देखि तीन दिन सम्ममा पुग्ने र त्यति नै समय लगाएर सोही बाटो फर्कन सकिन्छ ।
‘बिश्वकै उत्कृष्ट पदमार्गलाई बचाउनुपर्छ भनेर तीस बर्ष सडक नखन्ने निर्णय स्थानियस्तरमा भएको छ।’ अन्नपुर्ण गाउँपालिका ११ वडाध्यक्ष तथा पर्यटन ब्यबसायी हिमबहादुर गुरुङ्गले भने ।

शुरुमा पोखरा–बागलुङ्ग राजमार्गको नयाँपुल देखि नै शुरु हुने यो पदमार्गमा पर्ने घान्द्रुकको उरी गाउँसम्म सडक पुगेको छ ।
त्यसलाई झिनुडाडाँको फेद सम्म बाहेक माथिल्लो क्षेत्रमा नलैजान सबै स्थानिय सहमत भएको वडाअध्यक्ष गुरुङ्गले बताए ।

मोदीखोलामा जलबिद्युत आयोजना बनाउने प्रर्बद्धकहरुले लोभलालच समेत देखाएर माथिल्लो क्षेत्रमा सडक लैजाने प्रयास गर्दै आएका छन ।

छोम्रोङ्ग भन्दा माथिल्लो क्षेत्रमा सडक पु¥याउन सके सुपर मोदी जलबिद्युत आयोजनाले १ सय १० मेघावाट सम्म बिद्युत उत्पादन गर्न सक्छ तर त्यस भन्दा तलबाट आयोजना बनाएमा ७० मेघावाट सम्म बिद्युत उत्पादन हुन सक्ने बताइन्छ ।

‘सडक खन्नका लागि माथिल्लो तहबाट राजनैतिक दबाब दिने र आर्थिक प्रलोभन देखाउने काम पनि भएको छ’ अध्यक्ष गुरुङ्ग भन्छन ‘हामी पदमार्ग बचाउन कसैको दबाब र प्रभाबमा पर्नेवाला छैनौ ।’

झिनुदेखि छोम्रोङ्ग हुँदै माछापुच्र्छे आधार शिबीर र अन्नपुर्ण आधारशिबीर सम्म ५१ वटा होटल सञ्चालनमा छन ।यो रुटमा बर्षमा ३५ हजार भन्दा बढी बिदेशी पर्यटकले पदयात्रा गर्दै आएका छन भने त्यति नै संख्यामा नेपाली पनि पुग्ने गरेका छन ।

अन्नपुर्ण पदयात्रा मार्गमा पर्ने लमजुङ्गको बेसीशहर देखि मनाङ्ग सम्म सडक पुगेको छ भने मुस्ताङ्गको मुक्तिनाथ सम्मै सडक पुगेको छ ।

मुलुकका अन्य पदयात्रा मार्गहरुमा पनि जथाभावी रुपमा सडक खनेपछि पदयात्रा मार्ग छोटिँदै गएका छन भने धेरै पदमार्गको अस्तित्व नै समाप्त भएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.