www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकी गन्त्व्य बन्दै म्याग्दीको खोप्रालेक

 

म्याग्दी ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने खोप्रालेक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ ।

समुदायले पूर्वाधार निर्माण र प्रचारप्रसार गरेर खर्कलाई पर्यटकीय गन्तव्यस्थलमा रुपान्तरण गरेका हुन् । समुन्द्री सतहदेखि तीन हजार ६६० मिटरको उचाइमा अवस्थित खोप्रामा स्वदेशी र विदेशी पर्यटकको चाप बढेको त्यहाँ रहेको सामुदायिक लजका प्रबन्धक नवीन पुनले बताए ।

असोज–कात्तिकको पछिल्लो याममा करीब एक हजार पर्यटक आएका छन् । सन् २०१७ मा एक हजार विदेशी पर्यटक आएका थिए । प्राकृतिक, जैविक र भौगोलिक हिसाबले पनि मनमोहक खोप्राबाट मनास्लु, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरि, धौलागिरि, गुर्जालगायतका दर्जनौँ हिमशृङ्खलालाई नजिकबाट अवलोकन गर्न पाउनु यहाँको प्रमुख विशेषता हो ।

खोप्राबाट सूर्योदयको साथमा म्याग्दी, पर्वत र कास्कीका पहाडी बस्तीको अवलोकन गर्न सकिन्छ । ५० भन्दा बढी प्रजातिका जडीबुटी तथा हिमाली वनपैदावारका साथै एक दर्जन प्रजातिका लालीगुराँस पाइन्छन् ।

मृग, घोरल, डाँफेलगायत जङ्गली जनावर र पशुपछीको अवलोकन गर्न सकिने पाउद्धारका अगुवा भीमबहादुर तिलीजाले बताउनुभयो । समथर भूगोलको चरनमा पालिएका चौरी, गाई, बाख्रा र भेँडाका बथानले पर्यटकलाई लोभ्याउने गरेको छ ।

एकै ठाउँमा प्रकृतिको धेरै किसिमका सौन्दर्यको अनुभव लिन पाएको गत हप्ता खोप्रा भ्रमणमा गएकी बागलुङकी प्रमिला कुँवरले बताए । पहाडको टाकुरामा रहेका भिरालो पाखोबाट पृष्ठभूमिमा देखिने दन्तलहरझैँ हिमाल, तलतिरका वन, टाढाटाढाका मनमोहक पहाडी भूगोल एवं ग्रामीण बस्तीहरु, बिहानीमा देखिने सूर्योदयले मन छोएको पोखराकी प्रशन्न खड्काले बताए ।

वसन्त ऋतुमा खोप्रा वरपरका पाखो लालीगुराँस फुलेर रङ्गिन्छ । बर्खायाममा रङ्गीबिरङ्गी बुकी फुलेर वातावरणमा उमङ्ग थपिन्छ । बादलले एकैछिनमा हिमाललाई ढाक्ने र केही समयमा खुल्ने गरेको दृश्य बादल र हिमालले लुकामारी खेलेजस्तो लाग्छ ।

खोप्रामा सूचना प्रविधिका अभियन्ता महावीर पुनले बेतारे इण्टरनेटको रिपिटरटावर, मौसम सूचना केन्द्र सञ्चालन गरेका छन । खोप्रा, वयली, डाँडाखर्कका सामुदायिक लजमा पुनकै पहलमा ५० किलोवाट क्षमताको घोस्केखोर लघुजलविद्युत् परियोजना निर्माण गरी २४सै घण्टा विद्युत् आपूर्ति गराइएको शिखका अगुवा बागवीर पाइजाले बताए।

पर्यटकको चाप बढेपछि विसं २०६५ मा स्थापना भएको २४ जना क्षमताको सामुदायिक लजको क्षमता विस्तारको तयारी गरिएको छ । अहिले क्षमताभन्दा बढी पर्यटक आउँदा टेन्टमा सुत्ने व्यवस्था मिलाइएको छ । रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.