www.tandavnews.com
Fact ~ In search of truth

पाेखरामा पर्यटक लक्षित विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय निर्माण सुरु

गण्डकी सरकारको  ५० लाख, वडा नम्बर ४ को २५ लाख

विनिता सुनार/ताण्डव न्यूज ।

पोखरा महानगरपालिका वडा नं १ गुठीबारी मार्गमा विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय निर्माण सुरु भएको छ । विन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले करिब २६ करोडको लागतमा उक्त चिकित्सालय निर्माण गर्न लागेको हो । चिकित्सालयको मंगलबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शिलान्यास गरे ।

शिलान्यास पछि बोल्दै मेयर जिसीले पोखरामा पहिलो पटक निर्माण हुन लागेको प्राकृतिक चिकित्सालयको महत्व पृथक रहेको बताए । उनले मेडिटेशन गर्ने बिदेशी पर्यटकहरुका लागि समेत बिशेष चासोको चिकित्सालय बन्ने बिश्वास ब्यक्त गरे । निर्माण हुने चिकित्सालयको बिशेष महत्व रहेको बताउदै उनले समयमै निर्माण काम सम्पन्न गर्नका लागि महानगर सहयोग गर्न कटिबद्ध रहेको बताए । स्थानियहरुले नै तिरेको करबाट सो चिकित्सालय निर्माण हुने उल्लेख गर्दै मेयर जिसीले भने, ‘पोखरेलीहरुले तिरेको करबाट यो चिकित्सालय निर्माण हुन लागेको हो, निर्माणको काम समयमै सक्नेगरि लाग्नुपर्नेछ । यसकारण तपाईहरु अघि बढ्नुहोस महानगरपालिकाको सधैँ साथ रहनेछ ।’

गण्डकी सरकारको  ५० लाख, वडा नम्बर ४ को २५ लाख

Batas

चिकित्सालय निर्माणको लागि गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका वडा नम्बर ४ लगायतले आर्थिक सहयोग गर्ने भएका छन् । चिकित्सालय निर्माण गर्न प्रदेश सरकारले ५० लाख रुपैयाँ, पोखरा महानगरपालिका ४ ले २५ लाख रुपैयाँ, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सल्लाहकार शुशिल कुमार गोसेलीको २५ लाख रुपैयाँ सहयोग उपलब्ध हुनेछ । त्यस्तै ओम विकास बैँक, लक्ष्मी गु्रप तथा प्रभु बैँकको तर्फबाट २५÷२५ लाख रुपैयाँ, रामप्रसाद शर्मा पस्र्याङको ७ लाख ७ हजार रुपैयाँ, रामजी कोइरालाको ४ लाख रुपैयाँ र टिका कार्कीको ५ लाख १ हजार रुपैयाँ सहयोग गर्नेछन् ।

विन्ध्यावासीनी धार्मिक क्षेत्रका सचिब तिर्थ श्रेष्ठका अनुसार आगामी दुई बर्षमा निर्माण सम्पन्न हुने सो प्राकृतिक चिकित्सालय २१ रोपनी क्षेत्रफलमा बन्नेछ । पोखरा महानगरपालिकाको वडा नम्बर १ मा पर्ने भएपनि पोखरा महानगर र वडा नम्बर १ ले लगानी गरेका छैनन् । पर्यटकीय महत्वको संरचना निर्माण हुन लागेको भन्दै वडा नम्बर ४ ले भने २५ लाख रुपैयाँ सहयोग गर्न लागेको छ । ‘यो पोखरा र समग्र देशकै महत्वको विषय हो भन्ने आधारमै वडा नम्बर ४ ले चिकित्सालय निर्माण गर्न सहयोग गरेको हो,’ वडा नम्बर ४ का वडा अध्यक्ष शंकर बास्तोलाले भने, ‘एउटा राज्यले नै गर्नुपर्ने काम धार्मिक क्षेत्रले गर्छ भने त्यसलाई हौसला थप्न, प्रोत्साहन दिन र हातमा हात–काँधमा काँध हामी किन नमिलाउने भनेर हामी २५ लाख दिन लागेका हौँ ।’

चिकित्सालयले पोखराको पर्यटन गतिविधिलाई थप बढावा दिने उनको विश्वास छ । वडा नं १ का अध्यक्ष शारदा पराजुलीले पोखराको अस्तित्व र सम्झना बोकेको बिन्ध्यवासिनीलाई महानगरको मात्र नभई सिंगो नेपालकै धार्मिक पर्यटन स्थल बनाउनुपर्नेमा जोड दिइन् । उनले बिन्ध्यवासिनी धार्मिक क्षेत्रको सिमा एकिन नभएको भन्दै महानगरको ध्यानाकार्षण गराइन ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.