www.tandavnews.com
Fact ~ In search of truth

पर्यटक लोभ्याउँदै भकुण्डेको सङ्ग्रहालय

बागलुङ ।

प्राकृतिक सौन्दर्य र घरवास (होमस्टे) को आनन्द बटुल्न भकुण्डे जाने पर्यटकलाई त्यहाँको सङ्ग्रहालयले आकर्षित गर्ने गरेको छ । मौलिक संस्कृति, जीवनशैली र परम्पराको झल्को दिने सङ्ग्रहालयमा पर्यटक आकर्षित भएका हुन् ।

बागलुङ नगरपालिका–१० स्थित पर्यटकीय गाउँ भकुण्डेमा गत वर्ष निर्मित सङ्ग्रहालय गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको हो । “त्यहाँ जाने पाहुनालाई देखाउने ठाउँ भएको छ”, घरवास सञ्चालक अप्सरा थापामगरले भने, “सङ्ग्रहालय हाम्रो चिनारीसँग पनि जोडिएको छ ।”

Batas

सङ्ग्रहालयमा परम्परागत र ऐतिहासिक महत्वका सामग्री सङ्ग्रहित गरिएको छ । भकुण्डे मगर बाहुल्य गाउँ भएकाले मगर पहिचान दिलाउने सामग्री बढी छन् । जातजातिका वेषभूषा र रीतिरिवाज झल्कने गरी सङ्ग्रहालयलाई विकास गर्न लागिएको सङ्ग्रहालय व्यवस्थापन समितिकी अध्यक्ष इन्द्रा थापामगरले बताए ।

सङ्ग्रहालयमा पुरानो पुस्ताले प्रयोग गरेका काठका भाँडाकुँडासहित घरायसी प्रयोगका सामग्री राखिएको छ । जनजाति समुदायमा प्रचलित परम्परागत खेलका सामग्री पनि सङ्ग्रहित छन् । भकुण्डेमा विसं २०६८ मा (होमस्टे) शुरु भएपछि पर्यटकीय आकर्षण बढेको हो । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द लिन चाहने भकुण्डे पुग्छन् ।

समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित भकुण्डेको मुख्य आकर्षण मनोरम भू–वनोट, हिमशृङ्खला र सूर्योदयको अवलोकन हो । पर्यटकलाई आकर्षित गर्न भकुण्डेकै मूलाबारीमा दृश्यावलोकन स्तम्भ ‘भ्यूटावर’ पनि निर्माण गरिएको छ ।

सदरमुकाम बागलुङ बजारदेखि मोटरमा एक घण्टा र पैदल दुई घण्टामा भकुण्डे पुग्न सकिन्छ । सूचीकृत १०० नयाँ पर्यटकीय गन्तव्यमा भकुण्डे पनि समावेश छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.