www.tandavnews.com
Fact ~ In search of truth

पर्यटन सम्भावनाको प्रयोग गर्न सके आर्थिक समृद्धि हुन्छ : मन्त्री अधिकारी

पोखरा ।

नेपाल पर्यटन बोर्ड पोखराको आयोजनामा गण्डकी प्रदेशको विशिष्ट पर्यटकीय पहिचान सम्बन्धमा छलफल गर्ने लक्ष्यका साथ सरोकारवाला सहितको उपस्थितिमा एक दिवसीय कार्यशाला पोखरामा शुरु भएको छ ।

कार्यशालामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुरूप पूर्वाधार निर्माणका कामलाई तीव्रता दिइएको बताए ।

नेपालमा पर्यटनको विविध सम्भावना रहेको उल्लेख गर्दै उनले सम्भावनाको अधिकतम उपयोग गर्न सकेमा यो आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरे ।

गण्डकी प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गण्डकी प्रदेशका होटेलमा हाल दैनिक २५ हजार पर्यटक बस्नसक्ने क्षमता रहेको बताउँदै उक्त क्षमता विस्तार गरी दैनिक एक लाख जना राख्नसक्ने पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिए ।

अबको पर्यटनलाई नयाँ सोचका साथ अघि बढाउन प्रदेशको स्पष्ट पहिचान आवश्यक भएको बताउँदै उनले त्यसका लागि आयोजित कार्यशाला फलदायी बन्ने विश्वास व्यक्त गरे ।नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने किसिमको पर्यटकीय विकास वर्तमानको आवश्यकता भएको बताए ।

प्रत्येक प्रदेशको आ–आफ्नै पर्यटकीय विशिष्टता भएको बताउँदै उनले तिनै विशिष्ट पहिचानका आधारमा पर्यटकीय पूर्वाधारलाई अघि बढाउनुपर्नेमा जोड दिए ।पर्यटन विज्ञ टेरेन्स दि कोस्टाले प्रत्येक राज्य एवं प्रदेशको आफ्नै पर्यटकीय पहिचान हुने बताउँदै पहिचानका आधारमा पर्यटकीय पूर्वाधार लगायतको विकास प्रभावकारी बन्ने उल्लेख गरे ।

नेपाल पर्यटन बोर्ड पोखरा कार्यलयका प्रबन्धक सूर्य थपलियाका अनुसार गण्डकी प्रदेशको विशिष्ट पर्यटकीय पहिचान सम्बन्धमा छलफल हुने कार्याशालामा पर्यटन समृद्ध निकायका प्रतिनिधि एवं सरोकारवालासहित ८० जनाको सहभागिता छ ।  रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.