www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका ग्रामिण सडकमा भाडा समायोजन

 

 

 

संजय रेग्मी
पर्वत / ताण्डव न्यूज ।

जिल्लाका ग्रामिण क्षेत्रमा संचालन हुँदै आएका बस तथा जीपहरुले मनोमानी भाडा लिएको गुनासोपछि ग्रामिण क्षेत्रमा चल्दै आएका सवारी साधनहरुको भाडा समायोजन गरिएको छ ।

सवारी साधनहरुले पुराना र कच्ची सडक रहेको बेलामा जति भाडा लिने गरेका थिए अहिले कतिपय सडक कालोपत्रे र कतिपयको स्तरोन्नती हुँदा समेत उही भाडा कायम गरेको भन्दै ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा गुनासो बढेपछि भाडामा समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयको पहलमा बसेको जिल्ला भाडादर निर्धारण समितिको बैठकले जिल्लामा रुट परमिट कायम गरिएका सडकहरुमा बसको लागि प्रति किलोमिटर ७.५० पैसा र जीपको लागि ८.५० पैसा तोकेको छ । तोकिएको भाडादर कायम गराउन सबै स्थानिय तहलाई परिपत्र गरिने र सोही अनुसार कार्यान्वयन गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

तोकिएको भाडादर लागु भएमा अहिले सवारी साधनले लिँदै आएको भाडामा धेरै घट्ने र सर्वसाधरण यात्रुले राहत पाउनेछन । पर्वत सदरमुकाम कुस्माबाट दैनिक रुपमा फलेवास नगरपालिका, महासिला गाउँपालिका र विहादि गाउँपालिकाका तथा कुस्माबाट दुलुङ, बनौँ, पातीचौरबाट क्याङ, भूक देउराली, मिलनचोक र वारी बेनीबाट जलजला गाउँपालिकाका बिभिन्न ठाउँमा जाने तथा अन्य जिल्लामा हुवास तथा बिभिन्न नाकाबाट भित्रीने सवारी साधनले अनिवार्य रुपमा तोकिएको भाडादर लागु गर्नुपर्ने निर्णय भएको छ । भाडादर लागु नगरेमा नियम अनुसार कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए ।

पक्की सडक भएपनि भाडादर नघटेको भन्दै दक्षिण चल्ने सवारी साधनका यात्रुले गुनासो गर्दै आएका थिए । हाल सदरमुकाम कुश्मादेखि साईकल चोक सम्मको बाटो कालो पत्रे भई सकेको छ भने मुडिकुवादेखि लमायखोला सम्मको बाटो पनि कालोपत्रे गरिसकिएको छ । सदरमुकाम कुश्मादेखि फलेवाससम्मको सडक झण्डै १९ किलोमिटर छ यसमध्ये बीच भागमा ५ सय मिटर सडक मात्र कालोपत्रे गर्न बाँकी छ ।

यो रुटमा चल्ने जीपले २ सय ५० र बसले २ सय रुपैयाँ सम्म लिने गरेका छन । यस्तै, लिमिठानाबाट कुश्मा चल्ने जीपले ३ सय र बसले २ सय ५० रुपैयाँ लिने गरेका छन । कच्चि बाटो हुँदा र बाटो कालो पत्रे भैसक्दा पनि एउटै भाडा तिर्नु पर्ने अवस्थामा रहेका स्थानियले चाडो भन्दा चाडो भाडा समायोजन गराउनु पर्ने माग गर्दै आएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.