www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका स्थानीय तहमा ‘क्राइम म्याप’

पर्वत ।

जिल्ला प्रहरी कार्यालय पर्वतले जिल्लामा घटेका र घट्न सक्ने घटनालाई सर्वेक्षण गर्न तथा सर्वसाधारणले समेत हेर्न मिल्ने गरी समग्र जिल्लाको क्राइम म्याप (अपराध नक्सा) तयार पारेको छ । प्रहरीले कुश्मा नगरपालिकाको सहयोगमा जिल्लाका सातै स्थानीय तहको सर्वेक्षण गर्न मिल्ने गरी उक्त नक्सा बनाएको हो ।

पछिल्लो समयमा जिल्ला प्रहरी कार्यालयमा चोरी, डकैती, लुटपाट, झैझगडा, कर्तव्य ज्यानलगायत घटना दर्ता हुने क्रम बढ्दै गएपछि त्यसको तथ्याङ्क अध्यावधिकसँगै घटना सर्वेक्षण गर्न अपराध नक्सा बनाइएको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । धार्मिक तथा पर्यटनका हिसाबले जिल्लामा आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको सन्दर्भमा जिल्लाको आपराधिक अवस्थालाई जस्ताको त्यस्तै नक्सामा उतार्नका लागि प्रहरीले अपराध नक्सा बनाउने काम अघि बढाएको हो ।

Batas

“नक्सा इन्टरनेटको माध्यामबाट जोसुकैले पनि संसारको जुनसुकै ठाउँबाट हेर्न मिल्ने गरी बनाइएको छ”, तिवारीले भने, “जुनसुकै स्थानबाट यहाँ आउने व्यक्तिले जिल्लाको अपराधको अवस्था नक्साबाट हेरेर घुमफिर गर्न सक्छ ।” अपराध नक्सामा जिल्लाका विगत तीन वर्षयतादेखि भएका घटना अद्यावधिक गरिएको छ ।

कुन समयमा कुन स्थानमा के घटना घटेको हो भन्ने कुरा नक्साबाट प्रष्ट थाहा पाउने भएकाले अपराध नक्सा प्रभावकारी हुने देखिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताए । “अब सात स्थानीय तहका जनप्रतिनिधि आफ्नो तहको सुरक्षा संवेदनशील क्षेत्र नक्साबाटै हेर्न पाउनेछन्”, उनले भने ।

उक्त अपराध नक्सा निर्माणको आर्थिक तथा प्राविधिक जिम्मा कुश्मा नगरपालिकाले लिएको छ । अहिले नक्सामा घटना अद्यावधिक गर्ने कार्य भइरहेको इञ्जिनीयर राजीव रिमालले जानकारी दिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.