www.tandavnews.com
Fact ~ In search of truth

पर्वतका ४२ घरवास : जिल्लाकै समृद्धि खोज्दै संचालक

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

केही बर्ष अगाडिसम्म सुनसान रहने पर्वतको मोदी गाउँपालिका ८ चित्रेमा आजभोली मानिसहरुको चहलपहल देखिन्छ ।

चित्रे हुँदै पञ्चासे घुम्न जानेहरु चित्रेमा बास बस्छन्, एक रात भएपनि स्थानीय परिकारहरुको स्वाद चाखेर रमाउँछन् । स्थानीय गुरुङ जातिको समुदायले पाहुनाहरुलाई देखाउने गुरुङहरुको मौलिक कला र संस्कृतिमा उनीहरु रमाउँछन् । आन्तरिक र बाह्य पर्यटकहरुले पाहुनाहरु खचाखच भरिँदा स्थानीय होम स्टे सञ्चालकहरु पनि निकै हौसिएका छन् ।

Batas

केही वर्ष अगाडिसम्म खेतबारीका काममा मात्र ब्यस्त हुने स्थानीयहरु आजभोली पाहुनाका लागि मिठा परिकार बनाउन ब्यस्त हुन्छन, पाहुनाहरुसंग एकछिन गफिएर उनीहरुलाई ठाउँको बारेमा जानकारी गराउन ब्यस्त हुन्छन् । होमस्टे सञ्चालनमा ल्याएपछि उनीहरुको दैनिकीमा समेत परिवर्तन आएको छ ।

होमस्टे चलाउन महिलाहरु बढी सक्रिय छन् । यही कारण केही वर्ष अगाडिसम्म परिवारको गर्जो टार्न घरका लोग्ने मान्छेको भर पर्ने गरेका महिलाहरु आजभोली आप्mनै मिहिनेतले घर खर्च चलाउने मात्र होइन राम्रो आम्दानी गर्न सफल भएका छन् ।

स्थानीय पूर्णिमा गुरुङ भन्छिन, ‘पहिला पहिला नुन तेल किन्न पनि श्रीमानसंग पैसा माग्नुपर्ने बाध्यता थियो। अहिले होमस्टेमा आउने पाहुनाबाट भएको आम्दानीले श्रीमानलाई नै पैसा दिन सक्ने भएकी छु ।’ गुरुङ जस्तै चित्रेका १० भन्दा बढी परिवारमा सामूहिक रुपमा होमस्टे सञ्चालन गरिएको छ । चित्रेमा रहेको होमस्टेमा एक सय जना भन्दा बढी पाहुनालाई एकै ठाउँमा राख्न सकिन्छ ।

चित्रे जस्तै जिल्लाका अरु ठाउँमा सञ्चालनमा रहेका होमस्टेहरुले पनि स्थानीयलाई ब्यस्त मात्र बनाएका छैनन् । आम्दानी गरेर जीवीका नै चलाउने आधार बनाइदिएका छन् । जिल्लाको डहरेको लेक पर्यटकीय स्थल हो । स्याङजा र पर्वतको सिमानामा पर्ने डहरेको लेक धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण छ ।

डहरेको लेक हेर्न जानेहरुको लागि अर्को आकर्षण फलेवास नगरपालिका १ कार्कीनेटामा रहेको होमस्टे सेवा बनेको छ । स्थानीय रुपमा उपलब्ध कोदाको ढिँडो र लोकल कुखुराको स्वादमा रमाउनेहरुका लागि कार्कीनेटाको होमस्टे धेरैको आकर्षणमा परेको छ । जहाँ ५० जनाभन्दा धेरैलाई राख्न सक्ने गरी खाना र बस्नको व्यवस्था भएको छ। कार्कीनेटाको होमस्टेले पनि संचालकहरुको दैनिकीमा परिवर्तन ल्याइदिएको छ ।

यी हुन पर्वतका बढी चलेका हेमस्टे

कार्कीनेटा र चित्रेमा जस्तै पर्वतमा अरु ४० ओटा होमस्टेहरु संचालनमा रहेका छन् । जिल्लामा रहेकामध्ये पर्यटकहरुको बढी चहलपहल हुने होमस्टेहरु भूक, देउराली, दुर्लुङ, ठूलीपोखरी, खौला, आर्थर, पकुवा, तिलाहार, राम्जा, थापाठाना, भँगरा, ठानामौला, लिमिठाना, खानीगाउँ, बाँसखर्क, बनौँ, शालिजा, लेकफाँट, लेस्पार, भोक्सीङ, पाखापानी, लुँखु, बालाकोट, भोर्ले, त्रिवेणी, हुवास, शालिग्राम, उरामपोखरा, बर्राचौरमा रहेका होमस्टे बढी चर्चामा छन् ।

भेगीय हिसावले बिभिन्न ठाउँमा बनाइएका कारण जिल्लाका ७ ओटै स्थानीय तहका सबैजसो ठाउँहरुमा होमस्टे संचालनमा छन् । जिल्लाका जुन जुन ठाउँहरुमा धार्मिक, सांस्कृति, भौगोलिक र ऐतिहासिक पर्यटकीय स्थलहरु रहेका छन, ती क्षेत्रलाई ख्याल गरेर होमस्टे संचालन गरिएको छ ।

प्रदेश सरकारले दिएको छ प्राथमिकता

गण्डकी प्रदेश सरकारले पनि पर्यटकको माध्यमबाट आर्थिक समृद्धि सम्भव छ भन्ने विश्वास राखेको छ । यही कारण सञ्चालनमा रहेका र सञ्चालनमा आउन लागेका होमस्टेहरुलाई विशेष महत्व दिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई होटलको बसाइभन्दा होमस्टेको बसाई आनन्दमय लाग्छ भन्ने सोचका साथ नै गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आर्थिक अनुदानको समेत व्यवस्था गरेको छ ।

कतिपय होमस्टे सञ्चालकहरुलाई सोही ठाउँमा पुगेर पाहुना सत्कार र खानाका परिकार पकाउने बारेमा तालिम समेत प्रदान गरेको छ । होमस्टेहरुलाई प्रवद्र्धन गर्नकै लागि प्रदेश सरकारले चालु आर्थिक बर्षमा पर्वतका ४२ ओटा होमस्टेलाई प्रति होमस्टे १० लाखका दरले ४ करोड २० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल भन्छन, ‘हामीले सन २०१९ लाई आन्तिरक भ्रमण बर्षको रुपमा मनाईरहेको छ । यो अवधिमा गण्डकी प्रदेशभित्र करीब १५ लाख पर्यटकहरु भित्रयाउने लक्ष्य लिएका छौँ । यसलाई सफल पार्न होमस्टेहरुको हात ठुलो हुने हाम्रो विश्वास छ ।’

सन् २०२० लाई नेपाल सरकारले पर्यटन बर्षको रुपमा मनाउन लागेकोले त्यसमा पनि होमस्टेले टेवा पुग्ने उनको भनाई छ । ‘प्रदेश सरकारको आन्तरिक भ्रमण बर्षलाई मात्रै होईन, नेपाल सरकारले सन् २०२० लाई पर्यटन बर्षको रुपमा मनाउन पनि यसले ठूलो सहयोग हुनेछ’ मन्त्री लम्सालले भने, ‘पर्यटकहरुको रोजाईमा होटलभन्दा होमस्टे बढी पर्छन, तर होमस्टेको व्यवस्थापन भने पर्यटकहरुले खोजे अनुसारको हुनु आवश्यक छ ।’

प्रदेश सरकारले गरेको यो निर्णयको भने कतिपयले आलोचना गरेका छन् । पर्यटकहरुलाई गाउँ गाउँमा पु¥याएर स्थानीयलाई स्वरोजगार बनाउने प्रयास राम्रो भएको भएपनि प्रदेश सरकारले बाँड्दै गरेको कुल ३० करोड रुपैयाँ बिना अध्ययन दिन लागिएको भन्दै आलोचना भएको हो ।

यसो भन्छन पर्यटक

पर्वतमा रहेको नेपालकै अग्ला र लामा झोलुंगे पुलहरुको अवलोकन गर्नको लागि चितवनका यूवाहरुको समूह जिल्लामा आएको थियो । दिनभरजसो पर्वतका पुलहरु, निर्माणाधिन बञ्जीजम्प, मोदीवेणी धाम, कुस्मा बलेवा जोड्ने गरी केबलकारको मोडलमा निर्माण गरिएको यान्त्रिक पुल, गुप्तेश्वर गुफा र दुर्लुङमा रहेको क्यानोनिङको अवलोकन गरेका उनीहरु घुम्दा घुम्दै सदरमुकाम कुश्मामै साँझ परेको थियो। तर उनीहरु कुस्मामा बस नबसी मोदी गाउँपालिकाको चित्रेमा रहेको होमस्टेमा बास बस्न पुगे ।

उनीहरुले भोलीपल्ट स्याङजा, कास्की र पर्वत तीन जिल्लाको सिमानामा पर्ने पञ्चासे क्षेत्र घुम्ने योजना बनाए । साँझै परिरहेको भएपनि उनीहरुलाई चित्रेमा बास बस्न मन लाग्यो । पञ्चासे जान चित्रे हुँदै जानुपर्ने एउटा बाध्यता त थियो तर बजारका होटलमा बस्न भन्दा गाउँमा रहेका होमस्टेहरुमा बस्न उनीहरुलाई आनन्द लाग्यो । घुमुवा टोलीका एक जना विशाल पौडेलले भने, ‘हामीलाई होटलमा बसेर रमाउने रहर होइन ।

होटलहरुमा त धेरै बसिएको छ नी, तर गाउँमा रहेका होमस्टेमा बस्नुको मज्जा होटलमा जति पैसा खर्च गरे पनि कहाँ पाईन्छ?’ पौडेल जस्तै अन्य धेरै पर्यटकहरुले पनि होमस्टेमा बस्दा गाउँका बारेमा सिक्न पाइने बताउँछन् । ठाउँ अनुसारका गाउँ गाउँमा फरक फरक चलन, संस्कृति र परम्परा रहने भएका कारण जति फरक फरक होमस्टेमा बस्न सक्यो उति नै फरकपनको महसुस गर्न पाइने पर्यटकहरु बताउँछन् ।

मोटरबाटोले भने समस्या

जिल्लाका सबै स्थानीय तहका सबै वडाहरुमा लगभग १२ महिना नै चल्ने गरी सडकहरु निर्माण भएका छन् । सडकको सहज पहुँच हुने भएका कारण कतिपय ठाउँका होमस्टेलाई भने अप्ठ्यारो हुने गरेको छ । सडकको सहज पहुँच भएका कारण पर्यटकहरु होमस्टेमा पुगेर अवलोक गर्ने तर बास नबस्ने भएका कारण सडकले भने होमस्टेलाई प्रभाव पार्ने संचालकहरुको अनुभव छ ।

फलेवास नगरपालिका २ थापाठानामा संचालनमा रहेको होमस्टेका एक जना संचालन रामबहादुर थापा भन्छन, ‘पदयात्रा गर्दै होमस्टेमा बस्न आउने चहाना भएका ग्राहकहरु पनि आउनुहुन्छ, तर सबै ठाउँमा मोटरबाटोको सुबिधा पुगेका कारण पदयात्रा गर्नेहरुको चहाना भने पूरा भएको छैन् ।’

स्थानीयले पनि दिएका छन प्राथमिकता

होमस्टेको माध्यमबाट स्थानीय नागरिकको जीवनस्तर उकास्न सकिन्छ भन्ने स्थानीय तहहरुलाई पनि लागेको छ । होमस्टेको प्रर्वद्धन गर्दै तिनीहरुलाई बढवा दिनका लागि जिल्लाका ७ ओटै स्थानीय तहहरुले तालिमहरुको संचालन पनि गरिरहेका छन् ।

पाहुनाहरुलाई गर्ने स्वागत, उनीहरुलाई खुवाईने परिकार पकाउने तरिका, पाहुनाहरुको मनोविज्ञान अनुसारको सेवा प्रदान लगायतका बिषयमा होमस्टे संचालकहरुलाई राखेर महाशिला गाउँपालिका, फलेवास नगरपालिका, कुस्मा नगरपालिका, पैयूँ गाउँपालिका, बिहादी गाउँपालिका, जलजला गाउँपालिका र मोदी गाउँपालिकाले तालिम प्रदान गरेका छन् ।

कुस्मा नगरपालिका ७ का वडाध्यक्ष सुवासचन्द्र पौडेल भन्छन, ‘होमस्टेलाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्ड र पोखराका स्टार होटलका सेफहरु ल्याएर हामीले तालिम संचालन गर्यौ । त्यसमा होमस्टे सेवासँग सम्बन्धित बिभिन्न बिषयमा सहभागीहरुलाई तालिम दिएका थियौँ ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.