www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको ऐतिहासिक लुमरेङकोट जीर्ण

पर्वत ।

दक्षिण पर्वतको विहादी गाउँपालिकामा अवस्थित ऐतिहासिक महत्व बोकेको लुमरेङकोट संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

ऐतिहासिक, धार्मिक र पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना रहेको पर्वतको लुमरेङकोट प्रचारप्रसार, संरक्षण र पूर्वाधारको अभावमा अभावमा ओझेलमा परेको हो ।

Batas

नेपाल एकीकरणपूर्व चौबिसे राज्यकालमा शक्तिशाली मानिएको लुमरेङकोटमा अहिले पनि हातहतियारदेखि तरबारको आक्रमणबाट बच्न ढालको रुपमा प्रयोग हुने सामग्री रहेका छन् ।यस्ता ऐतिहासिक तथा पुरातात्विक सामग्री संरक्षणको अभावमा हराउने खतरा बढेको छ । भुरे राजाको दरबार रहेको लुमरेङकोट बाइसे चौबिसे कालमा निकै शक्तिशाली मानिन्थ्यो ।

राजाको दरबार रहेको कोटमा अहिले पनि मन्दिर र सत्तल छ । सत्तलमा एउटा दराजमा युद्धमा प्रयोग भएका दरबार, खुँडा, गैँडाको छालाबाट बनेका ढाल रहेका छन् तर यी सामग्रीमा रङरोगन गर्दा यसको ऐतिहासिकता हराएको छ ।

कुनै कुनै हतियारमा सन् १७३४ एडी लेखेकोसमेत भेटिएको स्थानीय अगुवा धनबहादुर थापाले बताए । पुरातात्विक महत्व बोकेका यस्ता सामग्री हराउन थालेपछि स्थानीय तवरबाट संरक्षणको प्रयास थालिएको उनले बताए ।

तत्कालीन समयमा लुमरेङकोटका राजा चन्द्र सिंह निकै पराक्रमी रहेको पाइन्छ । उनका छोराहरु चतुर सिंह र भानुप्रताप सिंह रहेका बेला कुनै पनि राज्यले आक्रमण गरेर नियन्त्रणमा लिन सकेका थिएनन् ।

तत्कालीन समयमा शक्तिशाली मानिने पैंयुकोटे राजाले जासुसी गरेर छोराहरु विहादीको फाँटमा रोपाइँ गर्न गएको मौका छोपी लुमरेङकोटमा आक्रमण गरेका थिए ।आक्रमणमा परेर चतुर सिंहको कोटमै मृत्यु भएको थियो भने एक छोराको बीच भागमा र एकको रोपाइँ गर्ने स्थानमा नै मृत्यु भएको थापाले बताए । रोपाइँका बेला बाजा बजाउन प्रयोग भएको दमाहा स्थानीय दमाई जातिको घरमा अझै पनि भेटिने उनको भनाइ छ । त्यसपछि लुमरेङकोटको अस्तित्व समाप्त भएर पैंयुकोटमा सरेको थियो ।

पर्वतको विहादी, पैंयु गाउँपालिकाको अग्लो भूभागमा रहेको कोटबाट टाढाका दृश्य देख्न सकिन्छ । यहाँ वनभोजका लागि टाढा टाढाबाट युवायुवती आउने गरेका छन् । गत वर्ष प्याराग्लाइडिङको सफल परीक्षणसमेत गरिएको छ ।

यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुसालले बताए । वनभोज र प्याराग्लाइडिङको गन्तव्य बनाउनका लागि गाउँपालिकाले प्रयास गरिरहेको उनले बताए ।

लुमरेङकोट पुगेर पर्वतबाट निर्वाचित सांसद पदम गिरीले ऐतिहासिक र पुरातात्विक महत्वका सामग्रीको संरक्षण गर्न आग्रह गरे । यसलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्य बनाउका लागि प्रयास गर्ने प्रतिबद्धता पनि उनले जनाए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.