www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा बन्दै छ दक्षिण एसियाकै लामो झोलुङ्गे पुल

संजय रेग्मी,
पर्वत /ताण्डव न्यूज ।

लामा र अग्ला झोलुङ्गे पुलहरुको जिल्लाको रुपमा परिचित पर्वत जिल्लामा अब फेरि दक्षिण एसियाकै लामो झोलुङ्गे पुल निर्माणको काम शुरु हुने भएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङको अदुवाबारीबाट बागलुङको बागलुङ नगरपालिका १ रामरेखा जोड्ने गरी ५ सय ६७ मिटर लामो पुल निर्माणको काम शुरु हुन लागेको हो ।

कालीगण्डकी नदीमाथि निर्माण गर्न लागिएको उक्त पुलको उचाइ १ सय २२ मिटर रहने छ । पुल निर्माणका लागि हिमशिखर कन्स्ट्रक्सनले ६ करोड ९१ लाख रुपैँयामा ठेक्का सम्झौता गरेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आप्mनो गृह जिल्ला भएको कारण यसमा बिशेष सक्रियता देखाएपछि यस बर्षबाट पुल निर्माणको काम शुरु हुन लागेको हो ।

२०७७ सालको असार मसान्त सम्ममा पुलको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेर काम शुरु हुन लागेको कुश्मा नगरपालिका १ पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीले बताए। पुल निर्माणको लागि सरकारले चिनिया प्रविधिको लठ्ठा तान्ने मेसिन खरिदका लागि ४० लाख रुपैँया बजेट बिनियोजन गरेको थियो ।

इन्जिनियर सागरराम नेपालका अहिले सम्म ३ सय ६५ मिटर सम्मका लामा भोलुङ्गे पुलहरु निर्माण भएका कारण दुई जिल्लालाई जोड्ने गरी बन्न लागेको यो पुल दक्षिण एसियाकै लामो झोलुङ्गे पुल हुनेछ । पैदल यात्रा गरेर बागलुङ–पाङ आवतजावत गर्नका लागि झण्डै डेढ घण्टा भन्दा बढी समय लाग्ने गरेकोमा यो पुल बनेपछि बाटो १५ मिनेटमा छोटीने छ ।

पाङलाई पर्वतकै कृषि उत्पादनको पकेट क्षेत्रको रुपमा लिईन्छ। त्यहाँका कृषकहरुले मौसमी तथा बेमौसमी तरकारीहरु उत्पादन गरेर झण्डै एक घण्टा टाढा पर्ने सदरमुकाम कुश्मा बजारमा लगेर बिक्री गर्ने गरेका छन् । यो पुल बनेपछि भने कुश्मा बजारमा बिक्री हुने गरेका कृषि उपजहरु बागलुङ बजारमा बिक्री हुने छन् ।

कृषकहरुलाई एक घण्टाको यात्रा गरेर कुश्मा बजार पुगेर तरकारी बिक्री गर्नुभन्दा पुलमा १५ मिनेटको यात्रा गरेर बागलुङ बजारमा आफ्ना उपज बिक्री गर्न सजिलो र फाईदा हुने छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.