www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा भ्रष्टाचारी जनप्रतिनिधिमाथि उच्च निगरानी

पर्वत।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा. सावित्री गुरुङले स्थानीय तहमा व्यापक मात्रामा अनियमितता र भ्रष्टाचारको गुनासो धेरै आउन थालेपछि जनप्रतिनिधिका काम कारवाहीबारे अख्तियारले नजिकबाट निगरानी गरिरहेको बताएका छन ।

आयोग क्षेत्रीय कार्यालय पोखराले हिजो पर्वतमा आयोजना गरेको अन्तरक्रियामा आयुक्त गुरुङले आयोगले जनप्रतिनिधि र स्थानीय तहमा भइरहेका अनियमितताको बारेमा निगरानी राखेको र जुनसुकै बेला पनि कारवाही हुनसक्ने स्पष्ट गरे ।

स्थानीय तहमा जथाभावी नियम बनाउने र अनावश्यक रुपमा खर्च गर्ने प्रवृत्ति बढेको भन्दै प्रचलित कानूनले वर्जित गरेका काम गर्ने जनप्रतिनिधि भ्रष्टाचारको अभियोगमा पर्ने खतरा रहेको छ भने । उनले उपभोक्ता समितिमा आफन्तलाई राख्ने, आफ्ना र आफन्तका निर्माण उपकरण परिचालन बढेको र जनप्रतिनिधिकै सङ्लग्नतामा प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको उजुरी सबैभन्दा बढी आयोगमा परेका कारण यस्ता काम रोक्न अथवा कारवाहीका लागि तयार हुनुपर्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख मनोहर पौडेलले नदीजन्य पर्दाथ उत्खनन र बिक्री गर्ने कुरा सधैँ विवादमा आएको बताउँदै वातावरणीय प्रभाव मुल्याङ्कनको प्रतिवेदनअनुसार घाटगड्डी गरेर बिक्री गरेमा कुनै समस्या आउँदैन भने ।

आयोग क्षेत्रीय कार्यालय पोखराका प्रमुख काशीराज दहालले जनप्रतिनिधिले व्यवसाय गर्ने छुट भए पनि आफ्नो स्थानीय तहबाट प्रत्यक्ष लाभ लिने गरी व्यवसाय गर्दा अख्तियारको दुरुपयोग र गलत मनसाय देखिने भएकाले सचेत हुन आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सुशासन कायम गर्न कार्यालय प्रमुख र स्थानीय तहका कर्मचारीले सहयोग गर्नुपर्नेुमा जोड दिए । कार्यक्रममा सञ्चारकर्मीहरुले स्थानीय तह र सरकारी कार्यालयमा अनियमितता बढेको बताएका थिए भने कतिपय जनप्रतिनिधिले सामान्य काम गर्दा पनि अनेक बहानामा रोक्ने काम गर्दा अधिकार हनन भएको भन्दै ध्यानाकर्षण गराएका थिए । रासस

सांकेतिक तस्बिर: गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.