www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा ५१ वर्षदेखिको नागरिकता अभिलेख व्यवस्थापन

पर्वत ।

जिल्ला प्रशासन कार्यालय पर्वतमा ५२ वर्षदेखिको अभिलेख व्यवस्थापन गर्न थालिएको छ । विसं २०२३ देखि नागरिकता जारी गर्न थालेको जिल्ला प्रशासन कार्यालयले ५२ वर्षपछि अभिलेख व्यवस्थापन गर्न लागेको हो ।

अहिलेसम्म कागजपत्र सेतो कपडाभित्र पोको पारेर राख्ने गरिएकामा पहिलोपटक फाइलिङ गरेर व्यवस्थापन गर्न लागिएको हो । सात वर्षदेखि कम्प्युटर प्रणालीमार्फत नागरिकता वितरण गर्दै आएपनि त्यसअघि वितरण गरिएका नागरिकताका फाइल र वितरण गरिएका नागरिकताको विवरण हराउन सक्ने भन्दै व्यवस्थापन गर्न थालिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

उनका अनुसार आफू सरुवा भएर पर्वत आएदेखि नै अभिलेख व्यवस्थापनलाई प्रभावकारी ढङ्गले अघि बढाएको बताए । “अब जुनसुकै वर्ष निकालेको नागरिकताको विवरण हेर्नु परेपनि तत्काल भेटिन्छ”, उनले भने, “यसले गर्दा कुनै पनि व्यक्तिले दोहोरो नागरिकता लिनसक्ने अवस्था रहँदैन भने कर्मचारीलाई खोज्नका लागि पनि सहज हुनेछ ।”

जिल्ला प्रशासन कार्यालय पर्वतबाट हालसम्म दुई लाख १९ हजार १६३ वटा नागरिकता वितरण भएका छन् । वंशजका आधारमा नागरिकता लिनेको सङ्ख्या दुई लाख १८ हजार ८०५, जन्मसिद्ध नागरिकता दुई, वैवाहिक अङ्गिकृत नागरिकता १३७ र कर्मचारी परिवार २१९ ले नागरिकताको प्रमाणपत्र लिएको तथ्याङ्क छ ।

अहिले जिल्लाको जनसङ्ख्या एक लाख ४८ हजार रहेको छ । जनसङ्ख्याभन्दा झण्डै ७१ हजार बढी नागरिकता जारी भएको कार्यालयले जनाएको छ ।यी सबै नागरिकताको विवरण कम्प्युटर प्रणालीमा पनि संलग्न गरिएको छ ।

कहिलेकाहीँ प्रविधिमा समस्या आउने भएकाले अभिलेखलाई व्यवस्थित बनाएर राखिएको प्रमुख जिल्ला अधिकारी ढकालको भनाइ छ । त्यसैले प्रत्येक महीना र वर्षका कागजपत्रलाई फाइलिङ गरेर राखिएको उनले बताए।

अब जुन वर्षमा नागरिकता लिएको हो सोही वर्षको एउटा फाइल पल्टाएपछि विवरण फेला पार्न सकिन्छ । अर्कोतर्फ जुन स्थानीय तह वा वडाको व्यक्तिको विवरण हेर्नुपर्ने भयो भने पनि तत्काल भेटिने प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।

यसअघि धेरै वर्ष पहिलेका फाइल खोज्नुपर्ने भएमा धेरै समय लाग्ने, कतिपय नभेटिने समस्या रहेको थियो । सेतो कपडाभित्र पोको पारेर राख्ने सरकारी प्रचलनलाई तोडेर रेकर्ड फाइलमै व्यवस्थित गरिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

कतिपय फाइल किरा, मुसाले काट्ने, च्यातिने, कुहिने समस्या थियो अब त्यस्तो समस्या रहँदैन जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा नारायणप्रसाद पौडेलले भने, “अब कसैले पुरानो विवरण हेर्न चाहेमा दुई मिनेटमै उपलब्ध गराउन सकिन्छ ।” यसले छिटोछरितो हुनुका साथै सेवाग्राहीलाई प्रभावकारी ढङ्गबाट सेवा प्रवाहमा सहज हुने प्रशासनले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.