www.tandavnews.com
Fact ~ In search of truth

पर्वत ठूलीपोखरीमा पानी उपभोगमा बिबाद

संजय रेग्मी ,
पर्वत /ताण्डव न्यूज ।

पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा संचालित लिफ्ट खानेपानी सिचाईँ आयोजनाको पानी उपभोग गर्ने बिषयमा बिबाद भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष निलाकण्ठ लामिछाने र कर्मचारी अर्जुन पौेडल सहितका केही व्यक्तिहरुले उपभोक्तालाई जानकारी नगराईकन गएको ७ गतेबाट पानीको आपूर्ति बन्द गराएको केही उपभोक्ताले आरोप लगाएका छन् । पानी बन्द गराएको कुरा भने उपभोक्त समितिले पनि स्विकार गरेको छ ।

पानीको आपूर्ति बन्द भएका कारण स्थानीय रोहोटे गाउँका केही घरधूरीलाई पानीको अभाव भएको छ । रोहोटे गाउँका लागि जडान गरिएका पाईप लाईनहरुमा यस अगाडि पनि पटक पटक पानीको आपूर्ति बन्द गर्ने गरिएको पानी बन्द गरिएका उपभोक्ताको भनाई छ । आफुँले उपभोग गर्दै आएको धारामा पानी नआएपछि कुवामा जमेको पानी खानुपर्ने बाध्यता भएको उपभोक्ता टंकप्रसाद पौडेलले बताए । ‘गाउँमा खानेपानीको योजना सम्पन्न भएपछि आनन्दले पानी खान पाईएला भनेको छ फेरि पनि कुवाकै पानी खनुपर्ने बाध्यता भयो’ उनले भने ।

योजनामा कुनै समस्या आएको भए उपभोक्तालाई जानकारी गराएर पानी बन्द गर्नुपर्ने भएपनि समितिले भने रोहोटेमा मात्र पानी बन्द गराउनु अस्वीकार्य भएको उपभोक्तको भनाई छ । अर्की उपभोक्ता दुर्गाकुमारी शर्मा पौेडेल भन्छिन, ‘अरु टोलमा गएको पानी बन्द नहुने हाम्रो गाउँमा आउने पानीको गेट बल्ब मात्र किन बन्द गरियो ? उपभोक्ता समितिका केही ब्यक्तिले योजनामा जे मन लाग्यो त्यो गर्ने अधिकार हुन्छ र ?’

खानेपानी उपभोक्ता समितिका अध्यक्ष निलाकण्ठ शर्माले भने मिटर जडान नगरी अरुकै घरमा जोडिएको घरबाट टी जडान गरी पानीको उपभोग गरिएकाहरुको मात्र आपूर्ति बन्द गराएको बताए । ‘पानी उपभोग गर्ने हो भने त आँपूmले नीजि मिटर जडान गर्नुपर्छ, एक घरमा जडान गरिएको लाईनबाट टी हालेर अर्को घरमा पानी खसाल्न नमिल्ने भनेर समितिले निर्णय गरे अनुसार केही टी जोडेर पानी खाएकाहरुको घरमा मात्र आपूर्ति बन्द भएको छ ।’

उनले भने,‘यहाँका वडाध्यक्ष राजेन्द्र पौडेलले पनि टी जोडेर अरुलाई पानी दिनुभएको रहेछ, त्यसैले हाम्रो प्राबिधिकले उहाँको घरमा पनि पानी बन्द गराएको छ ।’ यस्तै, योजनाका प्राबिधिक अर्जुन पौडेलले योजनाभित्र समेटीनुपर्ने उपभोक्ताहरुले समेत पानी नपाएको अवस्थामा केही उपभोक्ताहरुले योजनाको चार किल्ला बाहिर परेकाहरुलाई पानी बाँडेका कारण केही घरहरुमा पानी बन्द गरिएको बताए ।

लिप्mटको पानी प्रयोग गर्ने उपभोक्ताहरुले मासिक न्यूनतम शुल्क ३ सय रुपैयाँ तिर्दै आएका छन भने ५ यूनिट भन्दा माथिको पानी खपतमा प्रति यूनिट थप २० रुपैयाँका दरले शुल्क लाग्ने गरेको छ ।

ठूलीपोखरीका साविकका वडा नं. ३, ४, ८ र ९ नम्बर वडाका उपभोक्ताले ५ सय ६० मिटर तल रहेको मुहानबाट लिफ्ट सिस्टमबाट पानी तानेर उपभोग गर्दै आएका छन्। जिल्ला खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयको १ करोड ४६ लाख रुपैयाँ लगानीमा आयोजना सम्पन्न भएको थियो।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.