www.tandavnews.com
Fact ~ In search of truth

पश्चिम नेपालमा ‘अटवारी’ पर्व

धनगढी ।

पश्चिम नेपालमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा ‘अटवारी’ पर्व आजदेखि उल्लासपूर्वक मनाइँदै छ ।

आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रुपमा लिइने ‘अटवारी’ पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने चौधरी–डगौरा समुदायमा परम्परागतरुपमा मनाइने गरिन्छ ।

चौधरी डगौरा समुदायले आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज यो पर्व प्रारम्भ भई सोमबारसम्म मनाइन्छ । हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन प्रारम्भ हुने यो पर्व पछि उक्त समुदायले आफ्नो लोकसंस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन् ।

वर्षा ऋतुमा खेतीको काममा निकै ब्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सतको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्दछन् ।

यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ । यसरी व्रत बसेकाले साँझपख आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाइसकेपछि पूजामा बस्ने गर्दछन् ।

पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई व्रतालुले प्रसादका रुपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान पकाइएको परिकार विवाहिता आफ्नी छोरी बहिनीको घरसम्म पुर्याइदिने प्रचलन रहेको छ ।

पूजाको काम सकिएपछि छोरी बहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ । अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ । महाभारत कालमा वनबास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुशियाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको चौधरी समुदायका अगुवा बताउँछन् ।

यो पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथावाचन गर्ने समय पनि आरम्भ भएको विश्वास गरिन्छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.