www.tandavnews.com
Fact ~ In search of truth

पहिलो खेलमै नेपाल पराजित

पोखरा ।

आइसिसी टी–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनौटअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल कतारसँग पराजित भएको छ ।

सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको नेपालले कतारलाई जीतका लागि १२३ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा कतारले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।

Batas

कतारको जीतमा इनाम उल हकले सर्वाधिक ४१ रन बनाए भने कम्रान खानले २२, जाहिर इब्राहिमले १२ तथा मुहमद तानभिरले ११ रन जोडे । बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसीले १ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र बनाउन सक्यो ।

पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको साझेदारी गरे तापनि त्यो जितका लागि पर्याप्त भएन । कप्तान खड्काले व्यक्तिगत २८ बनाउँदा उपकप्तान मल्लले २३ रन जोडे ।यस्तै सोमपाल कामीले ११ सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन जोडे । कतारका इकबाल हुसेनले ३ विकेट लिए भने तमोर साजाद र नुमान सर्वारले दुई/दुई विकेट लिए । त्यस्तै इनवाल हुसेनको नाममा एक विकेट रह्यो ।

अब नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ । यसखेलसँगै दुई खेल खेलेको कतारको यो पहिलो जीत हो । हिजो भएको पहिलो खेलमा कतार सिङ्गापुरसँग ३३ रनले पराजित भएको थियो ।प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन् । उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनौटमा सहभागिता जनाउनेछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.