www.tandavnews.com
Fact ~ In search of truth

पाहुनालाई भानु भूमिको माटो उपहार

दमौली ।
नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको जन्मगाउँमा हुने अन्तर्राष्ट्रिय कवि सम्मेलनका सहभागीलाई भानु भूमिको माटो उपहार दिइने भएको छ । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको आयोजनामा यही चैत ३० गते शनिबार भानु नगरपालिका–५ चुँदीरम्घामा हुन लागेको सम्मेलनमा आउने साहित्यकारलाई माटो उपहार दिन लागिएको हो ।

मञ्चका अध्यक्ष आकाश अधिकारीले भानुभक्त आचार्यको योगदान स्मरण गराउने उद्देश्यले भानुभक्तकालीन बिर्खे टोपी र भानुभक्तको जन्मघरको माटो उपहारका रुपमा प्रदान गर्न लागिएको जानकारी दिए । उनले भने, “माटो र टोपी सम्झनाको रुपमा चिनो दिँदा भानुको योगदान स्मरण गर्न टेवा पुग्ने विश्वास लिएका छौँ ।”

साहित्यकार क्षेत्रप्रताप अधिकारीको स्मृति दिवसको अवसर पारेर भानुभक्तको जन्मगाउँमै अन्तर्राष्ट्रिय कवि सम्मेलन हुँदैछ । सम्मेलनमा अमेरिका, म्यान्मा, भारत, भूटान, बङ्गलादेश, चीन, जापान र नेपाललगायतका साहित्यकारको सहभागिता रहने मञ्चले जनाएको छ ।

Batas

आयोजकका अनुसार साहित्यिक सम्मेलनमा देशभरबाट पाँच दर्जन बढी कवि र साहित्यकार सहभागी हुनेछन् । साहित्यिक कार्यक्रम दुई चरणमा हुनेछ । टाढाबाट आउने साहित्यकारलाई आज शुक्रबार भानुको जन्मस्थल नजिकै रहेको रानागाउँ भालडाँडा घरबासमा बास बस्ने व्यवस्था मिलाइएको छ । आजै साँझ घरबासमा सांस्कृतिक कार्यक्रम गरिने आयोजक मूल समारोह समितिका सदस्य शिव आर्य खड्काले जानकारी दिए ।

साहित्यकार भोलि आइतबार बिहान रानागाउँदेखि नौमती बाजासहित पदयात्रा गरी भानुको जन्मघर शिखर कटेरीमा पुग्नेछन् । भोलि नै चुँदीरम्घाबेँसीस्थित भानु जन्मस्थल विकास समितिमा आयोजित कार्यक्रममा क्षेत्रप्रताप स्मृति साहित्यिक पुरस्कार मोहन दुवाल, गीतल प्रभात पुरस्कार वीरु लम्साल र दुर्गा किरण तिवारीलाई प्रदान गर्ने कार्यक्रम रहेको छ ।

अन्तर्राष्ट्रिय कवि सम्मेलनले आदिकवि भानुभक्तको योगदानलाई संसारभरि फैलाउन तथा भानुको जन्मस्थललाई साहित्यिक तीर्थस्थलको रुपमा विकास गर्न टेवा पुग्ने नगरपालिका प्रमुख उदयराज गौलीले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.