www.tandavnews.com
Fact ~ In search of truth

पुम्दीकोटमा महादेवको मूर्तिको जग निर्माण

पोखरा
प्रभाषचन्द्र झा ।

धार्मिक पर्यटकको पनि गन्तव्य स्थलका रूपमा विशिष्ट पहिचान बनाएको पुम्दीकोटमा महादेवको विशाल मूर्ति स्थापना कार्यले गति लिएको छ ।
परापूर्वकालदेखि भूमेश्वर महादेवको मन्दिर रहेको पोखरा–२२ को पुम्दीकोटमा ५६ फिट उचाइको सोही नामको महादेवको मूर्ति स्थापनाका लागि आठ हजार वर्गफिटको गोलाकार जग निर्माण कार्य भइरहेको छ ।

नेपाल सरकारले उपलब्ध गराएको २२ रोपनी जग्गाको परिसरको भुइँतल्लामा ध्यान केन्द्रसहित गोलाकार जगको वरिपरि १०८ वटा शिवलिङ्ग, दोस्रो तल्लामा गणेशद्वारा शिवलाई परिक्रमा गर्दै गरेको मूर्ति राखिने छ । सौर्य ऊर्जा विधिद्वारा सो परिक्रमा निरन्तररुपमा जारी रहनेछ । तेस्रो तल्लामा फाइबर ग्लासको पद्मासन अवस्थाको महादेवको मूर्ति स्थापना गरिनेछ । उक्त मूर्तिको लागत रु तीन करोड १८ लाख पर्ने पुम्दीकोट पर्यटन प्रर्वद्धन विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।

यसका साथै, स्वर्गद्वारी सिँढी, रुङ्गटा वैकुण्ठ कक्ष, गुरु महाराज आश्रम, हरियाली बगैँचा शान्ति भवन, ज्येष्ठ नागरिक मिलनकेन्द्र र पार्किङस्थललगायत निर्माण गरिने लक्ष्य राखिएको उनले बताए ।
प्याराग्लाइडिङका लागि पोखराको प्रसिद्ध सराङकोट डाँडाको आमुन्ने– सामुन्ने पुम्दीकोट डाँडा पर्दछ । दुवै डाँडाको बीचमा पोखरा उपत्यका, फेवाताल, दक्षिणमा हराभरा रानीवन, हरिया पहाडी भूभागको मनमोहक दृश्य देख्नसकिन्छ ।

यसका साथै, पश्चिममा थाप्ले लेकदेखि धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेसम्म तथा हिमशृङ्खलामा माछापुच्छे« र अन्नपूर्ण पहाडको मनोरम दृश्यको अवलोकन सजिलैसँग गर्न सकिन्छ । सो मनोरम दृश्यको अवलोकनका लागि निर्माणाधीन मन्दिरकै परिसरमा शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा ६० लाख रुपैँयाको लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको छ ।

पर्यटकलाई रात्रि विश्राम गर्नुपरेमा वरपर स्तरीय होटलको निर्माण कार्य भइरहेको छ । पोखराको छोरेपाटनबाट सात किलोमिटर दक्षिण पश्चिममा अवस्थित सो स्थलमा पुग्नका लागि नगर बस समेत सञ्चालन हुने गरेको समितिका सल्लाहकार नरेन्द्र बरालले बताए।

पदयात्राको लागि पोखराको रानीवन, पुम्दीकोट, भुम्दीकोट, थाप्लेडाँडा हुँदै पञ्चासेसम्मको पुरानो बाटोलाई नयाँ पहिचान दिने लक्ष्य रहेको पोखरा–२२ का वडासदस्य मातृका बरालले जानकारी गराए ।
महादेवको विशाल मूर्ति स्थापना गर्ने उद्देश्यका साथ २०७३ साल फागुन ३ गतेदेखि १४ गतेसम्म लगाइएको शिवपुराणबाट छ करोड १८ लाख रुपैँया उठाइएको थियो ।

तीन करोड १८ लाख मूल्य पर्ने मूर्ति लगायत र संरचना निर्माणका लागि विभिन्न दाता अग्रसर रहेको समाजसेवी समितिका अध्यक्ष बरालले जानकारी गराए ।
निर्माण कार्यमा नेपाल सरकारबाट पनि सहयोग प्राप्त भएको छ । आर्थिक वर्ष ०७३/०७४ मा २० लाखको निर्माण कार्य सम्पन्न भएको छ । चालू आर्थिक वर्षमा ८० लाख विनियोजन भएको छ । उक्त रकम प्रदेश सरकारमार्फत निकासाको प्रक्रियामा रहेको समितिका अध्यक्ष बरालले बताए ।

मूर्ति स्थापना लगायत सम्पूर्ण कार्य सम्पन्न गर्नका लागि ४० करोड खर्च हुने अनुमान गरिएको छ । आर्थिक व्यवस्थापन भएमा आउँदो तीन वर्षमै निर्माण कार्य सम्पन्न गरिने समितिका अध्यक्ष बरालले बताए। रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.