www.tandavnews.com
Fact ~ In search of truth

पुर्वाधार निर्माणमा ढिलाई, भ्रमण वर्षमा प्रभाव पर्ने सम्भावना

मुस्ताङ ।

बीस लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरिएको नेपाल भ्रमण वर्ष आउन तीन महीनामात्र बाँकी छ ।

प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको हिमालपारिको जिल्ला मुस्ताङ पुग्ने बेनी–जोमसोम–कोरलालगायत पर्यटकीयस्थलका सडक निर्माणमा भएको ढिलाइले भ्रमण वर्षलाई असर पुग्ने भएको छ ।

Batas

पर्यटकीयस्थल जाने यो मात्र नभइ उपत्यकाकै नगरकोट, ककनी, सुन्दरीजल, बौद्धलगायतस्थलका सडक पनि जीर्ण छन् । स्थलमार्गबाट उपत्यका बाहिरिने कलङ्की–नागढुङ्गा सडक अझै सम्पन्न हुनसकेको छैन ।

पर्यटकीयस्थलमा जाने अधिकांश सडकको दूरावस्था भएपछि प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले बेनीबाट कोरलासम्मको १८६ किमी सडकको स्थलगत अनुगमन गरेको छ ।

समितिले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीलाई बैठकमा डाँकी भ्रमण वर्ष अगावै पर्यटकीयस्थलसम्म पुग्ने सडक बनाउन निर्देशन दिएको थियो ।

भ्रमण वर्षमा २० लाखभन्दा बढी पर्यटक भित्र्याउने घोषणा भइरहेकाले पर्यटकीय हबको सडकको अनुगमन गर्न आएको सभापति कल्याणीकुमारी खड्काले बताए ।

“खराब पूर्वाधारकै कारण पर्यटकले बल्ल बल्ल ज्यान जोगाएर आएँ भन्ने सन्देश आफ्नो देशमा लिएर गए भने आउने अरुमा राम्रो सन्देश जाँदैन, तीन महीनामा पर्यटकीय क्षेत्रमा जोडिएका सडक सुधार गरी देश विदेशमा ठीक छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ”–उनले भने ।

कास्की–पर्वत–म्याग्दी–मुस्ताङ चारवटै जिल्ला पर्यटकीय रुपमा अब्बल रहेकाले यस क्षेत्रको सडक भ्रमण वर्ष अगावै सुधारका लागि सरोरकार भएका निकायलाई निर्देशन दिने सभापति खड्काको प्रतिबद्धता थियो ।

मुस्ताङमा स्वदेशीमात्र नभइ विदेशी पर्यटकको समेत आवागमन बढी हुने गरेको छ । हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थलका रुपमा रहेको मुक्तिनाथ जाने धार्मिक पर्यटकको सङ्ख्या पनि अत्यधिक हुन्छ । आश्विन कृष्ण औँसीका दिन असोज ११ गते हजारौँ तीर्थयात्री कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शनमा लागेका थिए ।

हजारौँ सार्वजनिक एवं निजी यातायातमा भक्तजन बेनीबाट जोमसोम हुँदै कागबेनीबाट मुक्तिनाथ जान्छन् । बेनीबाट जोमसोमसम्म पुग्ने सडकको अवस्थाले दुई दिनसम्म सडक जाम हुँदा धार्मिक तीर्थयात्री राति बसमै बस्न बाध्य भएका थिए । तीर्थयात्रीको भीड हुने बेलामा पानी परेर पहिरोसमेत खसिरहेको थियो ।

कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाले रातारात पहिरो पन्छाएर सडक खुलाएको थियो । मुक्तिनाथ भन्दामाथि उपल्लो मुस्ताङ घुम्न जाने विदेशी पर्यटकको समेत भीड लाग्ने समय हो, कात्तिकसम्म । कात्तिकपछि चैतसम्म माथिल्लो मुस्ताङ जान सकिँदैन ।

सोह्रश्राद्ध सकिने औँसीको अवसर पारेर कागबेनीमा श्राद्ध गरी मुक्तिनाथ दर्शन गर्न पुग्नुभएका पोखराका दुर्गालाल पण्डित सडककै कारण दुःख पाउनु परेको गुनासो गर्छन । कागबेनीमा श्राद्ध गरी मुक्तिनाथ दर्शन गरेपछि चारधाम जाने बाटो खुल्ने मान्यताका कारण यहाँ आएको उनले बताए । यो मान्यतालाई विश्वास गर्ने हजारौँ श्रद्धालु एक पटक कागबेनी र मुक्तिनाथ पुग्न चाहन्छन् ।

जोमसोमसम्मको सडक निर्माण मङ्सिर १५ सम्म सक्नुपर्ने सम्झौता छ । जोमसोममाथिको सडक निर्माण गर्नुपर्ने अवधि सकिए पनि काम सम्पन्न नभएर म्याद थप्ने तयारी भइरहेको छ । जोमसोममाथिका सात ठेक्कामध्ये चार वटाको काम सम्पन्न भएको छ । तीनवटाको काम बाँकी छ ।

म्याग्दीको चमेरेबाट मुस्ताङको घाँसासम्मको करीब ३५ किमी सडकको अवस्था सबैभन्दा दयनीय छ । भीर र सीम क्षेत्रबाट पूर्वाधार निर्माण गर्नुपर्दा खोलिएको ट्र्याकमा हिलो जमेर धान रोप्ने खेतजस्तो बनेको छ । सवारी गुड्दा टायर जति हिलोमा गाडिन्छ । गाडिएको टायर निकाल्न घण्टौँ लाग्दा सवारी लामो समय जाममा पर्ने गरेका छन् ।

बेनीबाट जोमसोमसम्म चार वटा ठेक्का लागेका छन् । यो सडकमा ३५ पुल बनाउनुपर्नेमा एउटा सम्पन्न भएको छ । १९ वटा पुलको काम भइरहेको छ भने १५ वटाको ठेक्का गर्ने तयारी भएको छ ।

आयोजना प्रमुख मुकुन्दराज अधिकारी करीब पाँचवटा ठूला भीर क्षेत्र पार गरेर सडक निर्माण गर्नुपर्ने भएकाले काममा ढिलाइ भएको स्वीकार गर्छन् । भीर क्षेत्रमा विष्फोटक पदार्थ विष्फोट गरेर सडक बनाउन अनुमति मागेर पत्राचार गरेको पाँच महीनासम्म पनि सम्बन्धित निकायबाट जवाफ नआउँदा काममा अप्ठ्यारो भएको उनको दुःखेसो छ ।

कोरिडोरमा समर, झौखेल, काभ्रे, मह र भीरकाटे नामका ठूला भीर छन् । समर भीरमा विष्फोट गरेर सडक बनाउने क्रममा नुवाकोटका ४२ वर्षीय ब्लाष्टर दलबहादुर अधिकारीको निधन भएको थियो । यो घटनाका कारण कामदारमा डर सिर्जना हुँदा पनि सडक निर्माणमा असर गरेको छ ।

विसं २०७२ मा भारतीय नाकाबन्दीपछि वैकल्पिक मार्गका रुपमा विकास गर्ने उद्देश्यले कालीगण्डकी कोरिडोरको निर्माण शुरु भएको थियो । कोरिडोरको निर्माण शुरु भए पनि छिटो गर्न सरकारको ध्यान जान नसकेको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टको भनाइ छ ।

बेनीबाट करीब १८६ किमीको दूरीमा कोरला नाका छ । नाका खुल्ने भएपछि चीनतिर कार्यालय प्रयोजनका लागि ठूला भवन निर्माण सम्पन्न भए पनि नेपालतर्फ संरचना निर्माणको काम शुरु हुन नसकेको उनले बताए ।

भ्रमण वर्ष घोषणा गर्दा तयारी नगरिएकाले अप्ठयारो पर्ने देखिएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको भनाइ छ । पूर्वाधारलगायत पर्यटन क्षेत्रलाई प्रभाव पार्ने क्षेत्रको अवस्था अध्ययन गरेर भ्रमण वर्ष घोषणा गर्नुपर्नेमा सस्तो लोकप्रियताका लागि छिटो घोषणा भएको उनको भनाइ छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.