www.tandavnews.com
Fact ~ In search of truth

पेट्रोलियम अन्वेषणको दोस्रो चरणको काम शुरु

काठमाडौं ।

नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको दैलेखको शिरिस्थान, नाभिस्थानलगायतका क्षेत्रहरुमा दोस्रो चरणको अन्वेषणको कार्य शुरु हुने भएको छ । यसपालिको अन्वेषणबाट कति परिमाणमा पेट्रोलियम पदार्थ छ र कुन भू–भागमा रहेको छ भन्ने कुराको निस्कर्ष निकालिने बताइएको छ ।

चीन सरकारको विशेषज्ञ टोली दशैँअघि दोस्रोपटक दैलेख आएको छ । उत्खनन कार्यका लागि आवश्यक पर्ने इन्धनलगायतका सामानहरुको व्यवस्थापनसँगै उत्खनन समयमा विशेषज्ञ टोली बस्ने स्थानको समेत छनोट भइसकेको छ । टोलीले प्रजिअ, दैलेखका सांसद, निर्वाचित जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल गरेर काठमाडौँ फर्केको र दशैँ सकिएलगत्तै काम शुरु हुने बताएको छ ।

असार २६ गते औपचारिक उद्घाटनसँगै दैलेख आएको चीन सरकारको विशेषज्ञ टोली करीब १५ दिन अनुसन्धान गरेर फर्केको थियो । उक्त समयमा दैलेखका विभिन्न भू–भागहरुको स्थलगत अध्ययनसमेत गरिएको थियो । पुनः असोज दोस्रो सातामा टोली दैलेख आएर अन्वेषणका लागि आवश्यक पर्ने विषयहरुमा छलफल गरेको प्रजिअ युवराज कट्टेलले जानकारी दिए ।

दोस्रो चरणको अन्वेषणका लागि चीनबाट आवश्यक सामग्रीहरु दशैँलगत्तै काठमाडौँ आउने र सामग्रीसहित दशैँपछि टोली दैलेख आउने भएको अन्वेषण परियोजनामा संलग्न गणेशराज त्रिपाठीले जानकारी दिए ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहित चीन सरकारको विशेषज्ञ टोलीले औपचारिक उद्घाटपछि काम शुरु गरिएको अन्वेषणको कार्यका लागि दशैँपछि भौगोर्भिक सर्वे, म्यागनेट सर्वेलगायतका कामहरु हुने बताइएको छ ।

जमीनको पाँच किलोमिट मुनिसम्म ड्रिलिङ गरेपछि पेट्रोलियम पदार्थको परिणाम पत्ता लाग्न सकिने भएकाले सोही अनुसार अनुसन्धान थालनी हुने भएको छ । यसपालिको अनुसन्धानबाट कति परिमाणमा भण्डारण छ भन्ने कुराको ठोस निष्कर्ष आउने र सोही अनुसार काम अगाडि बढ्ने सरकारको तयारी रहेको छ ।

नेपाल र चीन सरकारबीच सम्पन्न सम्झौताअनुसार काम शुरु भएको यो परियोजना परिणामुखी हुने र नेपालको आर्थिक अवस्था सुधारसँगै समग्र दैलेख जिल्लाको विकासमा टेवा पुग्ने प्रतिनिधिसभाका सांसद रवीन्द्रराज शर्माले जानकारी दिए ।

जिल्लाका निर्वाचित जनप्रतिनिधि र स्थानीय सरकारले अन्वेषण कार्यका लागि सबै तह र तप्काबाट सहयोग गरेर अन्वेषणको काम सफल बनाउनेतर्फ अगाडि बढेको प्रदेशसभा सदस्य अमरबहादुर थापाले बताए ।

दैलेख जिल्लामा पेट्रोलियम पदार्थ रहेको विभिन्न अध्ययन–अनुसन्धानबाट थाहा भए पनि अझै यसको गहन अध्ययन र उत्सखनन हुन सकेको छैन । चिनियाँ विशेषज्ञ टोलीसहित नेपाली विशेषज्ञहरुको पहलमा यसपटक गरिने अन्वेषणबाट अगामी दिनमा उत्खननका लागि सजिलो हुनेछ ।

पेट्रोलियम पदार्थमा पूर्णरुपमा विदेशमा निर्भर रहनुपर्ने नेपालका लागि स्वदेशमै उत्खनन हुनु आर्थिक विकासका लागि महत्वपूर्ण उपलब्धि हुनसक्ने विश्वास गरिएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.