www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा अवैध बस्ने पर्यटक बढ्दै

पोखरा ।

पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ ।

त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डस्का नागरिक छन् । उनीहरुलाई लेकसाइड आसपासका क्षेत्रबाट पक्राउ गरिएको हो । आव २०७४÷७५ मा अवैध बस्ने पर्यटकको सङ्ख्या ६ जना रहेको थियो ।

पर्यटक प्रहरी प्रमुख भगवती तिमिल्सिनाका अनुसार पछिल्लो समय विदेशी पर्यटकमा निगरानी बढाएको कारणले सङ्ख्या बढेकोे उनको भनाइ छ । “पहिला कहीबाट आएको सूचनालाई आधार मानिन्थ्यो, अहिले हामी आफैँले विशेष चासोसाथ निगरानी बढाएपछि पक्राउ पर्ने बढेको हो”, तिमिल्सिनाले भने ।

फिलिपिन्सका नागरिक अल्बर्टले १९ वर्षदेखि कास्कीको ठूलाखेतमा कुखुरापालन व्यवसाय गर्दै आएको भेटिएको छ भने नेदरल्याण्ड्सका रुवेन १० वर्षदेखि लेकसाइडकै एक होटलमा गैरकानूनी रुपमा काम गर्दै आएको भेटिएको उनको भनाइ छ ।

पक्राउ पर्ने अधिकांशको राहदानी र प्रवेशाज्ञा छैन । पक्राउ परेका विदेशीलाई अध्यागमन कार्यालय पोखरामार्फत विभागमा पठाइएको छ । अवैध बसोबास गर्ने अधिकांश नागरिक शहर भित्रका होटलभन्दा बाहिर अपार्टमेन्ट र हामेस्टेमा बस्ने गरेको होटल सङघका केन्द्रीय सदस्य भरतराज पराजुली बताउछन् ।

“हामीले अधिकांश पर्यटकको राहदानीको फोटोकपी र प्रवेशाज्ञा हेर्ने गर्छौै तर अवैध बस्नेहरु आर्थिक रुपमा कमजोर रहेका पर्यटक हुन्छन् । उनीहरु शहरभन्दा अलि टाढा सुरक्षित स्थान खोजेर बस्ने गर्छन् ।” पराजुलीले अब हरेक होटलमा राहदानीसँगै प्रवेशाज्ञा पनि निगरानी गर्न आवश्यक रहेको बताए ।

त्यसैगरी गैरकानूनी रुपमा ड्रोन क्यामेरा प्रयोग गर्ने विदेशी नागरिकलाई पर्यटक प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्ष २०७५ ÷७६ मा तीन त्यस्ता नागरिक पक्राउ परेका छन् । त्यसअघि २०७४÷७५ मा ११ विदेशी नागरिकलाई पक्राउ गरिएको थियो । पक्राउ परेकालाई नागरिक उड्डयन कार्यालय पोखरामा बुझाइएको तिमिल्सिनाले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.