www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा पनि सिरुवा पर्व मनाइयो

पोखरा ।
नववर्षको आगमनसँगै पूर्वी तराईका जिल्लामा मनाइने गरिएका सिरुवा पर्व पोखरामा बस्दै आएका मिथिलावासीले पनि आज धार्मिक विधिपूर्वक हर्षोल्लासका साथ मनाएका छन् ।

यस पर्वलाई ‘जुडशीतल’ पर्वपनि भन्ने गरिन्छ । यस पर्वमा परिवारका ठूलावडाले अञ्जुलीमा जल लिएर कान्छोको टाउको राखेर आर्शीवाद दिने गर्छन् । वर्षभरि ‘तिम्रो दिमाग ठण्डा रहोस्, सोच विचार गरी काम गर्नु र कसैसँग रिस नराखी मेलमिलापका साथ बस्नु’ भनेर आर्शीवचन दिने गरिएकाले यस पर्वलाई जुडशीतल पर्व भन्ने गरिएको हो ।

खासगरी, तराईका ग्रामीण क्षेत्रमा अग्रजहरुले जलले भरिएका लोटा बोकेर टोल–टोलमा घुमेर आर्शीवाद दिने गर्छन् । पोखरामा मैथिल समुदायको जनसङ्ख्या न्यून भए पनि उत्साहका साथ आफ्ना धार्मिक एवं सांस्कृतिक पर्व मनाउँदै आइरहेको सप्तरीका ललनकुमार झाले बताए ।

कृषिका साथै सरसफाइसँग पनि जोडिएको पर्वको रुपमा सिरुवा पर्वलाई लिने गरिन्छ । नयाँ वर्षको आगमनसँगै नयाँ बालीको रुपमा गहूँ, दलहन र तेलहन भित्रिने गरिएको खुशीमा पनि यो पर्व मनाइने गरिएको हो ।

वैशाख महीनामा हावाहुरी चल्ने, वर्षा कम हुने गरेकाले प्रत्येक व्यक्तिले बिहानै सडकमा पानी छर्कने र आ–आफ्ना रुख बिरुवाको जरामा अनिवार्य रुपमा पानी हाल्नुपर्ने हुन्छ । सूर्यको तापबाट तुलसीबोटलाई जोगाउनका एक महीनासम्म निरन्तर पानीको व्यवस्था गर्छन् । बोटको दुई भागमा खम्बा गाडेर त्यसमा डोरीको सहयोगमा नयाँ माटोको गाग्रो बोटमाथि झुन्याइन्छ ।

सो गाग्रोको मुनिको भागमा सानो प्वाल पारेर कुशको टुक्रा पसाइन्छ । गाग्रोमा पानी भरिएपछि सो कुशको माध्यमबाट थोपा–थोपा पानी बोटमाथि चुहिँने गरिन्छ । वैशाख महीनामा पानीको अभावमा बोट सुक्ने भएकाले यस प्रक्रियालाई पर्वको विधिसँग जोडिएको देखिन्छ ।

यसका साथै, इनार, नालाको सरसफाइ गर्दै एक अर्कासँग हिलो छ्याप्दै पर्व मनाउनु यसको अर्को मुख्य विशेषता हो । यो पर्व मनाउनमा खासगरी महिला तुलनात्मक रुपमा बढी खुशी हुने गरिएको देखिन्छ । यस पर्वमा कुनै विशेष पकवान पकाउनुपर्दैन र बेलुकीको खानामा पनि पकाउनु नपर्ने भएकाले राहतको अनुभूति गर्न पाउँदा उनीहरु बढी खुशी हुने गर्छन् ।

घरको देउतालाई नयाँ माटोको भाँडोमा पकाइएका वासीभात, आँपको चिचिलाको चटनीलगायतका परिकार चढाइन्छ । त्यसपछि विधिवत् रुपमा पर्वको शुभारम्भ हुन्छ । यस पर्वमा भात, दाल, तरकारी र दहीका साथै आँपको चिचिलाको चटनी अनिवार्य रुपमा खानुपर्ने हुन्छ ।

यस पर्वको अवसरमा चुलोे पूजा गरिन्छ । पूजा गरिएपछि अर्को दिनमात्र खाना पकाउने परम्परा छ । दिनमै पकाइएका खाना बेलुकी खाने नियम रहेको छ । रासस

फाइल तस्बिर: गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.