www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा हावाहुरी र असिनाबाट बैशाखमा साढे पाँच करोडको क्षति

पोखरा ।

कतै फलेर बिक्री शुरु भइसकेको त कतै फल्नका लागि फूल खेल्ने क्रममा रहेका तरकारी बाली । क्षणभरमा नै हावाहुरीसहितको असिनाले तरकारी बाली सखाप पारेपछि यतिखेर यहाँका कृषक चिन्तामा छन् ।

वैशाखमा बारम्बार आएको हावाहुरीसहितको असिनापानीले पोखराका विभिन्न १० स्थानमा पाँच करोड ४९ लाख ५० हजार बराबरको भौतिक संरचना एवं कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको छ ।

Batas

कृषि विकास मन्त्रालय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजन (एकाइ) सुपरजोन (तरकारी) अन्तर्गत निर्माण गरिएका भौतिक संरचना भत्कनुका साथै कृषकले टनेल भित्र र बाहिर लगाएको तरकारी बाली नोक्सान हुँदा ठूलो क्षति पुगेको हो ।

स्थलगत गरेको अध्ययन प्रतिवेदनअनुसार पोखराका विभिन्न सात वडामा तरकारी बालीका लागि आर्थिक वर्ष २०७४÷७५ निर्माण गरिएका चार स्थानका हाइटेक, चार स्थानका अस्थायी प्लाष्टिक घरसहित भित्र र खुलारूपमा कृषकले लगाएको तरकारी बालीमा क्षति पुगेको सुपरजोन कार्यालय पोखराका प्रमुख वसन्त श्रेष्ठले जानकारी दिए ।

हावाहुरी र असिनाले राधिका एग्रो फार्ममा हाइटेक ग्रिनहाउस उडाउँदा छ लाख, डीआरएग्रो फार्ममा दुई लाख ५० हजार, वेगखोला दिदी बहिनी कृषि फार्म चार लाख र वरपिपल एग्रोमा रु दुई लाख क्षति पुगेको तथ्याङ्कमा उल्लेख छ ।

त्यसैगरी अस्थायी प्लाष्टिक घर बालीतर्पm उजिर बुढाथोकीको चार लाख, लालप्रसाद न्यौपानेको एक लाख ५० हजार, विश्व सापकोटाको एक लाख तथा झौरीखेत कृषि सहकारी लिमिटेडअन्तर्गत खुलारूपमा लगाइएको तरकारी बाली नष्ट भएको उनले राससलाई बताए ।

हावाहुरीसहितको असिनाले कृषकले व्यावसायिकरूपमा लगाएको काक्रो, घिरौला, लौका, साग, गाजर, काउली, मुला, बन्दा, साग, धनी, सिमी, गोलभेँडालगायतका मौसमी एवं बेमौसमी तरकारी एवं फलफुल खेती नोक्सान गरेको छ ।

उनका अनुसार कृषि तथा पशुपक्षी विकास मन्त्रालय, सिंहदरबार, कृषि विकास निर्देशनालय, मालेपाटन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना व्यवस्थापन एकाइ, खुमलटार एवं पोखरा महानगरपालिका वडा नं ५, १३, १४, १५, २६, ३२ र ३३ कार्यालयमा क्षतिपूर्तिका लागि कृषकको मागसहित जानकारी पठाइएको छ ।

राधिका एग्रो फार्मका सञ्चालक मोहन कार्कीका अनुसार हावाहुरीले हाइटेक (हरितगृह) मा लगाएको प्लाष्टिक सबै उडाएपछि गोलभेँडा खेतीमा क्षति पुगेको छ ।

एक रोपनी जग्गामा निर्माण गरिएको टनेलभित्र भर्खरै फूल खेलेका ५०० गोलभेँडाका बिरुवालाई क्षति पुगेकामा दुःख व्यक्त गर्दै उनले हाइटेकमा ४० हजारको प्लाष्टिक खरीद गरेर पुनः ओढाउने तयारी भइरहेको बताए ।

“जग्गा भाडामा लिएर नौ टनेल निर्माण गरी आठ वटामा लगाएको काक्रो लटरम्म फलेको थियो”, पोखरा–१३ कुँडरफाँटकी अर्का कृषक लक्ष्मी बुढाथोकीले मलिनो अनुहार पार्दै भने ।

दैनिक पाँच÷छ सय केजी बिक्री गर्दै आएकोमा हावाहुरीले एकै छिनमा टनेलको प्लाष्टिकसँगै सबै खुशी उडाएको उनको भनाइ थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.