www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा हुने अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौडमा २७ टोली सहभागि

पोखरा ।

पोखरामा यही असोज २९ गते (अक्टोबर १६) मा हुने अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड प्रतियोगिताका लागि सबै तयारी पूरा गरिएको छ ।

पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा चीनको कुन्मिन माउण्टेनियरिङ एण्ड एक्पोरेशन एशोसिएसन (केएमइए)को संयुक्त आयोजनामा हुने सो प्रतियोगितामा टिम इभेन्टमा नेपाल र चीनका गरी २७ टोलीको सहभागिता रहने प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले बताए ।

टिम इभेन्टमा नेपालका तीन विभागीय टोली तथा काठमाडौँ, सुदूरपश्चिम र पोखरासहित २५ टोली र तथा चीनबाट दुई टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । प्रतियोगिताका लागि चीनका दुई टोली तथा नेपालका टोली पोखरा आइपुगेको र व्यवस्थापकीय, सुरक्षालगायत सम्पूर्ण तयारी सकिएको उनले बताए ।

व्यक्तिगत प्रतिष्पर्धामा भने चीनका ३० धावकको सहभागिता रहने छ भने टिम इभेन्टका लागि प्रत्येक टोलीमा तीन खेलाडी रहनेछन् । एकसय पाँच खेलाडीको सहभागिता रहने सो प्रतियोगिताका लागि पोखरा महानगरपालिका र चीनको कुन्मिङ महानगरपालिकाले संरक्षकत्व प्रदान गरेका छन् भने विभिन्न सङ्घसंस्थाले सहकार्य गरेका छन् ।

दौड पोखराको पर्यटकीय क्षेत्र बैदामको बाराही चोकबाट बिहान ९ बजे शुरू हुनेछ । दौडको दूरी २२ किमी, साइक्लिङ १९ किमी र फेवातालमा एक दशमलव दुई किमी ‘बोटिङ’ रहेको प्रतियोगिताका प्राविधिक संयोजक यामबहादुर गुरुङले जानकारी दिए ।

उनका अनुसार व्यक्तिगत प्रतिष्पर्धामा भने ४० किमीको दौडमात्र रहेको र दौडका क्रममा धावकहरु एक हजार ३०० मिटर उचाइको मट्टिखान तथा पुम्दीभुम्दीसम्म पुग्नेछन् ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीले ट्रफी र मेडल पाउनाका साथै चीनको जेहाउमा हुने जेहाउ माउन्टेनियरिङ रेस प्रतियोगितामा भाग लिन पाउनेछन् ।

कार्यक्रमलाई चिनियाँ टेलिभिजन तथा पत्रपत्रिकामासमेत महत्वका साथ प्रचारप्रसार गराउने लक्ष्य रहेकाले यसबाट चिनियाँ बजारमा नेपाल र पोखराको पर्यटन प्रर्वद्धनमा ठूलो टेवा पुग्ने विश्वास आयोजकको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले हालै नेपाल भ्रमणको क्रममा यहाँको पर्यटन प्रवद्र्धनमा सघाउने प्रतिबद्धता व्यक्त गरेको सन्दर्भमा दौडले अझ ठूलो महत्व राख्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए ।

नेपाल भ्रमण वर्ष २०२० तथा सन् २०२२ मा गण्डकीमा २० लाख पर्यटक ल्याउने सरकारी योजनालाई सफल बनाउन प्रतियोगिताले मद्दत पुर्याउने र पर्यटकको बसाइँ लम्ब्याउन सहयोगी हुने उनको भनाइ थियो । प्रतियोगिता सम्पन्न गर्न ३४ लाख ६० हजार खर्च लाग्ने अनुमान आयोजकको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.