www.tandavnews.com
Fact ~ In search of truth

पोखरा उद्योग वाणिज्य संघ ६५ औँ वर्षमा प्रवेश

पोखरा ।

पोखरा उद्योग वाणिज्य संघले ६४ औ वषन्त पार गर्दै आज शुक्रबार देखि ६५औँ वर्षमा प्रवेश गरेको छ । उद्योगी÷व्यवसायीहरुको हक हितको लागि २०११ साल माघ २५ आजकै दिन स्थापना भएको संघ २००७ सालको राजनीतिक परिवर्तनपछि पोखरामा स्थापना भएको जेठो सामाजिक संस्था हो। स्वर्गीय अमृतप्रसाद श्रेष्ठ संघका संस्थापक अध्यक्ष हुन् ।

स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा संघका पूर्व कार्यसमिति सदस्य तथा सँस्कृतिकर्मी तीर्थ श्रेष्ठले ‘उद्योगी÷व्यवसायीहरुको हक हितको लागि स्थापना भए पनि यो चेतनाको संवाहक संस्था भएको बताए । श्रेष्ठले भने,‘ पोखराको समग्र आर्थिक, साँस्कृतिक र शैक्षिक उन्नतीको लागि पनि संघको भूमिका महत्वपूर्ण रहेको छ ।’

पोखरा उद्योग वाणिज्य संघ समग्र पोखराको आर्थिक र सामाजिक विकासको अभियन्ताको रुपमा प्रतिष्थापित भएको छ । खासगरी पोखराको शैक्षिक जागरणमा संघको भूमिका महत्वपूर्ण रहेको छ ।‘पोखराका बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालय लगायतका शैक्षिक संस्था पोखरा उद्योग वाणिज्य संघको आर्थिक सहयोग र अगुवाईमा स्थापना भएको संघका पूर्व अध्यक्ष सुरेशराज राजभण्डारीले जानकारी दिए । उनले भने ‘संघले आफूलाई कहिल्यै वर्गीय दायरामा मात्र सिमित गरेन बरु यहाँका सबैजसो विकास निर्माणमा सक्दो सहयोग पुर्यायो ।’

संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठको विचारमा सामाजिक उत्तरदायित्वपूर्ण व्यवसायको अवधारणाको श्रेय पोखरा उद्योग वाणिज्य संघलाई दिँदा अन्यथा नहुने बताए।

संघले आफ्नो ६५औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन गर्नुका साथै व्यवसाय व्यवस्थापन तालीमको सुरुवात गरेको छ । संघको सचिवालयमा भएको झण्डोत्तलन कार्यक्रममा अध्यक्ष दामु अधिकारी, निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, संघका पदाधिकारी, पूर्व पदाधिकारी, कार्यसमितिका सदस्य तथा साधारण सदस्यहरु उपस्थित रहेका थिए।

वार्षिकोत्सवकै अवसरमा आयोजित व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालीमको समुद्घाटन गर्दै संघका अध्यक्ष दामु अधिकारीले पोखराको आर्थिक र सामाजिक विकासको अगुवा र सहयात्रीको रुपमा क्रियाशिल संस्थालाई अझ मजबूत र सवल रुपले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।

पछिल्लो समयमा पोखरा उद्योग वाणिज्य संघको जस्तै नाम सुनिने अमूक संस्थाहरुबाट संघ तथा सिंगो निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधी भएप्रति असन्तुष्टी जनाउँदै उनले संघको गरीमा घटाउने व्यवहारहरु अस्वीकार्य हुने घोषणा गरे ।

‘एउटा संस्थामा चुनाव हार्दैमा पराजीत मनस्थितिबाट ग्रस्त भएर अर्को संस्था खोल्दा त्यहाँ पनि चुनाव हार्नासाथ अर्को नयाँ संस्था नखोलिएला भन्न सकिन्न’, उनले भने,‘बजारमा देखिएका यस्ता प्रवृत्ति र हल्लाबिरुद्ध सबै व्यवसायी सचेत हुन जरुरी छ ।’ उनले संस्थाको अगाडि व्यक्तिको महत्वकांक्षा र भूमिका गौण हुने धारणा समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले तालीमहरु व्यक्तिको दक्षता बढाउने अभियानको हिस्सा भएको स्पष्ट पार्दै तालीमबाट सक्दो लाभ लिन सहभागीहरुलाई आग्रह गरे । संघका महासचिव अर्जुन पोखरेलको संचालन रहेको तालीममा विभिन्न व्यवसायिक प्रष्ठिानका २६ जना उद्योगी÷व्यवसायीहरुको सहभागिता रहेको छ । तालीम व्यवसाय विस्तार, व्यवसाय र बजारीकरणमा नयाँ प्रविधी तथा सीपको प्रयोगको लागि भएको आयोजक संस्था औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराका कार्यालय प्रमुख रामप्रसाद तिवारीेले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.