www.tandavnews.com
Fact ~ In search of truth

पोखरा-बागलुङ सडकखण्ड दैनिक सात घण्टा अवरुद्ध

राजु पौडेल
कुश्मा ।

नेपालको मध्य भागबाट पूर्वपश्चिम जोड्ने उद्देश्यका साथ अघि बढाइएको मध्यपहाडी लोकमार्ग दैनिक सात घण्टा बन्द हुने गरेको छ ।

यतिबेला लोकमार्गको पोखरा–बागलुङ खण्डमा सडक विस्ताको काम तीव्र गतिमा भएसँगै सडक दैनिक सात घण्टाका दरले बन्द भएको हो । पूर्व–पश्चिम जोड्ने सडक तथा प्रसिद्ध तीर्थाटन एवं पर्यटकीय गन्तव्य मुस्ताङको मुक्तिनाथ जाने सडकसमेत यही भएकाले यात्रु भने मर्कामा परेका छन् ।

Batas

असोज १ गतेदेखि लागू हुने गरी असोज २० गतेसम्मका लागि दैनिक सात घण्टा बन्द भएको कम्पनीले जनाएको छ । सडक विस्तारको क्रममा घुम्ती चौडा बनाउने काम भइरहेको छ । महभीर, छमर्के, चुवा र अर्मादीलगायतका ठाउँमा चट्टान फोर्ने काम भइरहेको छ । नाली बनाउने, पर्खाल चिन्ने, जाली भर्ने काम पनि सँगसँगै चलिरहेको छ ।

पर्वतखण्डको डिमुवादेखि बेतनीसम्म र दोबिल्लादेखि चुवासम्मको साँघुरो सडक फराकिलो बनाउन सडक बन्द गरेर काम भइरहेको हो । बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म, दिउँसो १ बजेदेखि ४ बजेसम्म र साँझ ६ बजेबाट राति ८ बजेसम्म गरी जम्मा सात घण्टा सडक बन्द हुने लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ ।

धौलागिरिका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने यो सडक पटकपटक अवरुद्ध हुँदा सर्वसाधारणले दुःख पाइरहेका छन् । वर्षा रोकिएर सडक सहज हुने अपेक्षा लिएका सर्वसाधारण पुनः सडक अवरुद्ध हुँदा चिन्तित छन् । असोज २० गतेदेखि विजयादशमी शुरु हुने र प्रसिद्ध मुक्तिनाथधाम दर्शन गर्नेको समेत चाप बढ्ने भएकाले सडक खुला गरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताए ।

पोखरा–बागलुङ खण्डको सडक चौडा गर्ने क्रममा बाटो बन्द गर्ने विषयमा जिल्ला प्रशासन कार्यालयमा राजनीतिक दलसहित बैठक बसेको हो । विकास निर्माणको काममा केही समय असहज भए पनि सहमति जुटेको हो जिल्ला प्रशासन कार्यालय पर्वतका प्रमुख गुरुदत्त ढकालले भने , “सकभर विकल्प सडक बनाउनुपर्ने हो तर त्यो हुन सकेन, समन्वयका आधारमा एम्बुलेन्स र भिआइपीको यात्रामा भने जुनसुकै बेला पनि सडक खुला गर्न सकिने व्यवस्था छ ।”

“स्वास्थ्य परीक्षण लागि पोखरा हिँडेको थिएँ तर बीचमा रोकिनुप¥यो” जलजला–३ का गुमानसिंह कार्कीले भन्नुभयो, “कि विकल्प दिनुपथ्र्यो हामी स्वास्थ्य परीक्षणका लागि हिँडेकाले सास्ती पायौँ ।” ठूला चाडबाडसमेत नजिकिँदै गरेकाले सडक लामो समय बन्द हुँदा निकै दुःख खेप्नु परेको यात्रुको गुनासो छ ।

मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा बागलुङ खण्डलाई नयाँस्वरुपमा ढाल्ने गरी मर्मत सम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पूरै नयाँस्वरुपमा विस्तार र स्तरोन्नति गर्न चार खण्ड बनाएर काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्ष पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पूरै नयाँ बन्नेछ ।

अहिलेसम्म १५ प्रतिशत काम सकिएको आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले रु ८३ करोड ९८ लाखमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का पाएको हो ।  (रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.