www.tandavnews.com
Fact ~ In search of truth

पोखरा र उत्तरपूर्वी भारतबीच गासिदैँ पर्यटकीय साइनो

पोखरा ।

पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यले भारतको उत्तरपूर्वी विभिन्न राज्यको प्रर्वद्धनात्मक भ्रमण गर्न लागिएको छ । भारतका पर्यटन व्यवसायी एवं पर्यटन सम्बद्ध संस्थासँग पोखराको पर्यटन प्रर्वद्धन गर्ने प्रयासस्वरुप यही माघ २२ गतेदेखि २७ गतेसम्म सिलगुडी, गुवाहाटी लगायतका शहरको भ्रमण गर्न लागिएको बताइएको छ ।

पोखरासँगको पर्यटनमा साझेदारी गर्ने उद्देश्यका साथ पाँच वर्षअघि नेपाल पर्यटन बोर्ड क्षेत्रीय कार्यालय पोखराको पहलमा इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएशन, भारत र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा संयुक्त हस्ताक्षर समेत भएको थियो ।

Batas

भ्रमणका क्रममा भारतीय उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता सङ्गठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएशनका साथै पर्यटन सम्बद्ध व्यवसायीसँग अन्तरक्रिया गरिने पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जानकारी दिए।

“उत्तर पूर्वी भारतका पर्यटकको पोखरा आगमन बढाउन र बसाइँ लम्ब्याउन समेत यो प्रर्वद्धनात्मक भ्रमण सफल बन्ने विश्वास लिएका छौँ,” पोखरेलले भने । उत्तरपूर्वी भारतका पश्चिम बङ्गाल, आसाम, सिक्किम, मणिपुर, मेघालय, मिजोरमलगायतका राज्यबाट धेरै पर्यटक धार्मिक रुपले पनि नेपालको भ्रमणमा आउने गर्दछन् ।

पूर्वी हिमाली शृङ्खलासँग जोडिएका यी भू–भागमा नेपाली भाषीको बाहुल्यता समेत रहेको र काँकरभिट्टा नाकाबाट ठूलो सङ्ख्यामा भारतीय पर्यटक भित्रने गरेको अध्यक्ष पोखरेलको भनाइ छ ।

अफगानिस्तानबाट पाकिस्तान हुँदै शुरु हुने विश्वको पूर्वी हिमाली शृङ्खला भारतको उत्तरपूर्वी राज्य भएर भुटान हुँदै नेपालमा आएर टुङ्गिने भएकाले पर्यटकीय विकास र पर्यावरणीय संरक्षणका दृष्टिले पनि पछिल्लो समयमा यसले चर्चा पाउन थालेको छ । नेपाल आउने विदेशी पर्यटकमध्ये सन् २०१८ मा १७.०९ प्रतिशत भारतीय पर्यटक हवाई मार्गहुँदै आएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणि लामिछानेले जानकारी दिए ।

नेपाल आउने विदेशी पर्यटक नेपालपछि भुटान र सिक्किम जाने भएकोले नेपालको पर्यटकीय आकर्षणले उत्तरपूर्वी भारतसहित भुटानमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेको छ । यस वर्षको प्रवद्र्धनात्मक भ्रमणका क्रममा पोखरेली टोली सिलगुडीमा हुने बङ्गाल ट्राभल मार्ट९विटिएम०मा सहभागी बन्ने कार्यक्रम संयोजक एवं नाट्टा पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

उहाँका अनुुसार उक्त अवसरमा विटिएमको मञ्चमार्फत पोखरा नाइट र भारतीय सञ्चारकर्मीसँग पत्रकार सम्मेलन समेत तय भइसकेको छ । उत्तर–पूर्वी भारतका सिलगुडी, डुअर्स, ग्याङटोकका साथै सिक्किम, दार्जलिङ हुँदै मणिपुर, आसामलगायतका स्थानबाट धेरै भारतीय पर्यटक नेपालको काँकरभित्तासहित पूर्वी क्षेत्रका नाका हुँदै आउने गरेका छन् ।

काँकरभित्ता हुँदै पोखरालगायतका स्थानमा जाने पर्यटकलाई राजमार्गमा पनि उत्तिकै सहज आवागमनको व्यवस्था नहुँदा यसले यहाँको पर्यटकीय आगमनमा असर पारेको व्यवसायी बताउँछन् । काँकरभिट्टा हुँदै पोखरा आउने सडकलाई व्यवस्थित बनाउँदै भारतीय सीमा नाकाका विमानस्थलबाट प्रमुख शहरमा सिधा हवाई सम्पर्क गराउन सके पोखराको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।

भारतका उत्तरपूर्वी राज्यबाट पोखरा भ्रमणमा आउने क्रम पनि वर्षेनी बढ्दै गएको जानकारी दिँदै कार्यक्रम संयोजक सिग्देल नेपाली भाषीको बाहुल्यता रहेको त्यो ठाउँ हाम्रो धर्म संस्कृतिसँग पनि उत्तिकै मल्निे भएको पर्यटकीय साझेदारीका धेरै सम्भावना रहेको बताउछन् । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.