www.tandavnews.com
Fact ~ In search of truth

प्रदेश चार : मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने

पोखरा (रासस)

प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिनुभयो ।

Batas

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । गत माघ २८ गते प्रदेश नं ४ का नेकपा (एमाले) संसदीय दलका नेतामा निर्वाचित गुरुङलाई २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्ति गर्नुभएको थियो ।

सचिव खड्काका अनुसार आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मतका लागि प्रस्ताव राख्नुहुनेछ । प्रस्ताव राखेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने पाँचवटा दलका एक÷एक जनाले आ–आफ्ना धारणा राख्नुहुनेछ ।

छलफलमा उठेका विषयमा मुख्यमन्त्री गुरुङले जवाफ दिएपछि मत विभाजनको प्रक्रियामा लगिने सचिव खड्काले जानकारी दिनुभयो । जम्मा ६० जना प्रदेशसभा सदस्य रहेको प्रदेश नं ४ मा विश्वासको मत लिन गुरुङले बहुमत प्राप्त गर्नुपर्छ ।

बहुमतका लागि ३१ मत प्राप्त गर्नुपर्नेमा यस प्रदेशमा एमालेको २७ र नेकपा (माओवादी केन्द्र)का १२ सदस्य रहेका कारण वाम गठबन्धनका साझा मुख्यमन्त्री गुरुङले सहजै विश्वासको मत प्राप्त गर्ने देखिन्छ ।

यस प्रदेशमा एमाले, नेकपा (माओवादी केन्द्र) बाहेक नेपाली काँग्रेसको १५, राष्ट्रिय जनमोर्चाको तीन, नयाँ शक्तिको दुई र एकजना स्वतन्त्र प्रदेशसभा सदस्य हुनुहुन्छ ।

मनाङका स्वतन्त्रतर्फबाट निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङले भने शपथ लिनुभएको छैन । प्रदेशसभा सचिवालयमा आर्थिक कार्यविधि विधेयक– २०७४ दर्ता भएका कारण आज ११ः३० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले पारित गरेमा उक्त विधेयक आजै प्रदेशसभामा टेबुल हुने सचिव खड्काले जानकारी दिनुभयो ।

त्यस्तै, अघिल्लो बैठकमा टेबुल भएको प्रदेशसभा नियमावली–२०७४ आजको बैठकबाट पारित हुन सक्नेछ । गत फागुन २१ गते बसेको प्रदेशसभा बैठकमा नियमावली टेबुल गरिएकोमा संशोधनका लागि सभामुखले ४८ घण्टाको समय दिनुभएकोमा कुनै पनि संशोधन नपरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.