www.tandavnews.com
Fact ~ In search of truth

‘प्रदेश नं २ को स्वास्थ्य र शिक्षाको अवस्था कहालिलाग्दो’: स्वास्थ्य मन्त्री यादव

जनकपुर ।

उपप्रधान एवम् जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रदेश नं २ स्वास्थ्य र शिक्षा क्षेत्रको अवस्था कहालिलाग्दो भएको बताएका छन् । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र जनकपुर शाखाको बहिरङ्ग भवनको आज यहाँ उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले काठमाडौँ उपत्यकाका अस्पतालहरूमा पनि प्रदेश नं २ कै बिरामीको चाप अधिक देखिएको चर्चा गरे ।

उनले प्रदेश नं २ मा हृदय, मिर्गौला, मधुमेहलगायतका नसर्ने बिरामी अन्य प्रदेशको दाँजोमा धेरै देखिएकाले खानपान र आचरण सुधारका लागि जनचेतना अभिवृद्धिको अभियान सञ्चालनको आवश्यकतामा जोड दिए । उपप्रधानमन्त्री यादवले प्रदेश नं २ का मुटुरोगीहरूको सङ्ख्यालाई दृष्टिगत गर्दै शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको पहिलो शाखा जनकपुरधाममा स्थापना गरिएको उल्लेख गरे ।

‘‘हृदय केन्द्रलाई विस्तार गर्न जनकपुर अस्पतालले जग्गा उपलब्ध र प्रदेशले भवन निर्माणका बजेट विनियोजन गरिसकेकाले आगामी दिनमा यसबाट अत्याधुनिक उपचार सेवा उपलब्ध हुनेछ,’’, उपप्रधानमन्त्री यादवले भने ।

प्रदेश नं २ मा क्यान्सर रोगको उपचारका लागि अस्पताल निर्माण गर्न सङ्घीय सरकारले बजेट विनियोजन गरिसकेको र अस्पतालका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा रहेको बताउँदै उनले प्रारम्भमा भरतपुर क्यान्सरको सहयोगमा यस प्रदेशमा क्यान्सर अस्पताल सञ्चालन हुने जानकारी दिए ।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुर अस्पताललाई प्रदेशको नमूना अस्पताल बनाउनु पर्ने खाँचो औल्याए । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको जनकपुरधाममा शाखा स्थापनाले प्रदेशवासीले उपचारमा सहजता पाएको चर्चा गर्दै उनले शाखाबाट अन्तरङ्ग सेवा पनि सञ्चालन हुनु आवश्यक छ भने ।

सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश सरकारद्वारा आगामी ७० दिनभित्र शाखामा क्याथ ल्याब स्थापना गरिने जानकारी दिए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुर अस्पतालको स्तरोन्नति हुनुपर्ने धारणा राखे ।

जनकपुर अस्पतालका प्रमुख डा. नागेन्द्रप्रसाद यादवले अस्पतालमा पूर्वाधार पर्याप्त भएकाले यसको सेवा विस्तारका लागि सरकारसँग १० करोडको व्यवस्थाका लागि माग गरे । प्रदेश नं २ का स्वास्थ्य निर्देशक डा .प्रमोद यादवले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको शाखाबाट प्रदेशका ६० लाख जनसङ्ख्याले सहज रूपमा उपचार सेवा पाउने बताए ।

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा.ज्योतिन्द्र शर्माले जनकपुर शाखाबाट आगामी तीन वर्षभित्र आकस्मिक र अन्तरङ्ग सेवा पनि उपलब्ध हुने जानकारी दिए । शाखाका प्रमुख डा. राकेश साहले शाखाले गत माघ महिनादेखि हालसम्ममा तीन हजारभन्दा बढी बिरामीलाई बहिरङ्ग सेवा प्रदान गरेको बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.