www.tandavnews.com
Fact ~ In search of truth

प्रमुख जिल्ला अधिकारीको टोलीद्वारा निर्माणाधिन पुष्पलाल (मध्यपहाडी) राजमार्गको अनुगमन

सुशान्त गाहा मगर,

ताण्डव न्युज ।

कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा नेतृत्वको एक टोलीले निर्माणाधिन पुष्पलाल (मध्यपहाडी) राजमार्गको स्थलगत अनुगमन गरेको छ ।

आज (मंगलबार) प्रजिअ सँगै सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्की, ससत्र प्रहरी उपरिक्षक मुरारी बस्नेत, राष्ट्रिय अनुसन्धान ब्युरो कास्कीका उपरिक्षक भुमी पाठक तथा साईट ईन्जिनियर लगायतले याम्दी पुल देखी नयांपुल सम्मको निर्माणाधिन सडकखण्डको स्थलगत अनुगमन गरेका हुन् ।

अनुगमन पश्चात बोल्दै प्रजिअ बुढाले निर्माण कार्यको प्रकृति देख्दा तोकिएकै समयमा काम सम्पन्न हुने बिचार ब्यक्त गरे । उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थल र पुष्पलाल (मध्यपहाडी) राजमार्ग राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको योेजना रहेको उल्लेख गरे । ‘अहिले सडक निर्माणको काम जुन गतिमा भैराछ यसलाई तिब्र गतिको कार्य भन्न मिल्दैन । उनले भने, तर तोकिएकै मितिमा सम्पन्न हुने किसिमले आफ्नै गतिमा काम भैरहेको पाईयो ।’

यतिबेला बेसमा माटो भर्ने, नालीहरु बनाउने, चट्टानहरु कटान गर्ने र केही ठाँउमा बेसमेन्ट ग्राभेलिङ गर्ने काम भैरहेको प्रजिअ बुढाले बताए ।उनले मनसुन सुरु भएसँगै बिभिन्न ठाँउमा पहिरोका कारण बाटो अबरुद्ध हुने भएकाले सिमित क्षेत्रमा मेसिनहरु राख्नका लागि सम्बन्धित ब्यक्तिहरुलाई निर्देशन दिएको समेत जानकारी दिए ।

प्रजिअ बुढाले सो सडकखण्डमा बिशेषगरी बिद्युतका पोल र मापडण्ड बिपरित बनेका टहराहरुको कारण निर्माण कार्यमा केही समस्या पैदा भएको उल्लेख गरे ।उनले उक्त योजनाको बारेमा प्रगति बिबरण, समस्या, आवश्यक सामाग्री तथा बिभिन्न समुदायसँगको समन्वयको स्थितिबारे बुझ्न अनुगमन गरेको बताए ।

त्यस्तै पुष्पलाल (मध्यपहाडी) राजमार्ग पर्बतका ईन्जिनियर अनन्त बरालले प्रजिअ नेतृत्व टोलीले कास्कीको याम्दी पुल देखी कास्की र पर्बतको सिमाको पुलसम्म (साढे ३७ किमि) स्थलगत अनुगमन गरेको जानकारी दिए । बरालले याम्दी पुल देखी नयांपुल सम्मको योजनामा तिन कम्पनीले काम गरिरहेको बताए ।

उनका अनुसार याम्दी पुल देखी सुईखेतसम्म शर्मा एण्ड कम्पनीले त्यस्तै सुईखेतदेखी घट्टेखोलासम्म स्वच्छन्द ईलाईट जेभीले र घट्टेखोलादेखी नयांपुलसम्म श्रेष्ठ दिवा एपेक्सले निर्माणको काम गरिरहेको छ ।

ईन्जिनियर बरालले याम्दी पुल देखी सुईखेतसम्म निर्माणाधिन सो सडकखण्डको कार्य ५० प्रतिशत पुरा भएको बताउदै ६ लेनको सडक निर्माण हुने बताए । त्यसैगरी सुईखेतदेखी घट्टेखोलासम्म निर्माणाधिन सो सडकखण्डको कार्य ५१ प्रतिशत पुरा भएको बताउदै सोको लागत ८७ करोड रहेको बताए ।

उनका अुनसार घट्टेखोला देखी नयांपुलसम्म ९३ करोडको लागतमा बन्ने सो सडकखण्ड को काम ६५ प्रतिशत पुरा भएको छ । त्रिवर्षीय योजना अन्तर्गत निर्माणाधिन उक्त सडकखण्ड आगामी २०७७ भदौमा सम्पन्न गर्ने सम्झौता रहेको छ ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.