www.tandavnews.com
Fact ~ In search of truth

प्रवासीको सहयोगमा काफलडाँडामा खेलमैदान

म्याग्दी ।

रोजगारीका लागि विदेशिएका युवाहरुको सहयोगमा म्याग्दीको धवलागिरि गाउँपालिका–७ काफलडाँडामा खेलमैदान निर्माण भएको छ ।

कतारमा रहेका काफलडाँडाका युवाको सहयोगमा जग्गा खरीद गरेर देवी देउराली युवा क्लबको खेलमैदान निर्माण भएको हो । करीब पाँच लाख लगानीमा ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ भएको खेलमैदान निर्माण भएको क्लबका उपाध्यक्ष रेशम शर्माले जानकारी दिए ।

Batas

खेलमैदान निर्माणका लागि कतारमा पुगेका २८ युवाको तीन लाख ५० हजार सहयोगमा गत फागुनमा तीन रोपनी १४ आना जग्गा खरीद गरिएको थियो । क्लबले थप एक लाख खर्च गरेर खेलमैदान बनाएको हो । सरकारी निकायको सहयोगविनै खेलमैदान निर्माण गरेका हुन् ।

एक्साभेटर परिचालन गरेर जग्गा सम्याउन पुख्र्यौली नृत्य समूहले नाचगान गरेर जुटाएको रकम उपलब्ध गराएका थिए । बाध्यताले रोजगारी र अवसरको खोजीमा विदेशिए पनि गाउँको विकासका लागि सहयोग गरेको कतारमा रकम सङ्कलनका लागि संयोजन गर्नुभएका बालकृष्ण आचार्यले बताए ।

खेलमैदानमा भलिबल, बास्केटबल, क्रिकेट, एथलेटिक्स, फुटसल खेल सञ्चालन गर्न सकिने भएको छ । विस्तार गरेर फुटबल खेलसमेत सञ्चालन गर्न सकिने बनाउने क्लबको लक्ष्य छ । चिसापानीदेखि काफलडाँडा जोड्ने सडक विस्तारका लागि दुई लाख, ताकमकी रक्तक्यान्सरपीडित फुलमाया भण्डारीको उपचारका लागि एक लाख १४ हजार, हेम मावि शिवाङमा विद्युतीय पुस्तकालय स्थापना गर्न २० हजार सहयोग गरेका थिए ।

यसैगरी देवीस्थानका सुकबहादुर विकको उपचारका लागि १५ हजार, ताकमकी मिर्गौलापीडित इन्द्रा खत्रीको उपचारका लागि १३ हजार, काफलडाँडाकी शिवकुमारी शर्माको उपचारका लागि १० हजार सहयोग गरेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.