www.tandavnews.com
Fact ~ In search of truth

प्लाष्टिक नाई भन्नु ल !

नारायण अधिकारी
चितवन ।

के तपार्इं चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाँदै हुनुहुन्छ । आजबाट निकुञ्ज प्रवेश गर्दा प्लाष्टिकजन्य वस्तु लिएर जान पाउनुहुने छैन । सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई प्लाष्टिक नाई भन्नु ल ! भनी सिकाइएको छ ।

ती सुरक्षाकर्मीले तपाईंले लगेको प्लाष्टिकको झोला त्यही राख्ने छन् । तपाईंले कपडाको झोला पाउनुहुने छ । जहाँ लेखिएको छ, ‘प्लाष्टिक नाई भन्नु ल !’ त्यही झोलामा तपाईंका सामग्री रहने छन् । तत्कालका लागि प्लाष्टिकका झोलाबाहेक अन्य सामग्री लैजान पाए पनि सुरक्षा पोष्टमा टिपाएर कपडाको झोलामा राखेर लान पाइने छ ।

Batas

फर्कंदा ती सामग्रीका खोल आफूसँगै फिर्ता ल्याउनुपर्ने छ । अन्यथा तपार्इं कारवाहीमा पर्नुहुने छ । पहिलो चरणमा झोलाबाट शुरुआत गरिएको यो अभियान क्रमशः पानीका बोतल, खानेकुरा हुँदै पूर्णरूपमा प्लाष्टिकजन्य वस्तु निषेध गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जले मङ्गलबार वृहत कार्यक्रमको आयोजना गरी निकुञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र अभियानको शुभारम्भ गरेको छ । जनप्रतिनिधि, कर्मचारी, सरोकालवाला निकायलगायतको सहभागितामा निकुञ्जलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको हो । सहभागीले निकुञ्जको सो अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका छन् ।

सो अवसरमा प्रदेश नं ३ को वातावरण समितिका सभापति रमा आलेमगरले प्लाष्टिकलाई पुनः प्रयोग गर्न र अभियानलाई सार्थक बनाउनुपर्ने बताए । तीन वर्षभित्र प्रदेशलाई प्लाष्टिकमुक्त प्रदेश बनाउन र १० वर्षभित्र इन्धनबाट चल्ने गाडी निषेध गर्न लागेको भन्दै उहाँले यस्ता अभियान सफल पार्न सबैले साथ र सहयोग पु¥याउनुपर्ने बताए ।

प्रदेश सांसद कृष्णप्रसाद भूर्तेल र रामलाल महतोले निकुञ्जभित्र प्रदुषण कम गर्न निकुञ्जसँग जोडिएका क्षेत्रमा प्लाष्टिकको प्रयोगमा कमी ल्याउनुपर्ने कुरामा जोड दिए । कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का र वन तथा भूसंरक्षण विभागका महानिर्देशक रामप्रसाद लम्सालले अभियान सफल पार्न मध्यवर्तीका बासिन्दाको सहयोग आवश्यकपर्ने बताए ।

कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले निकुञ्जभित्र प्लाष्टिकको झोला नलैजान, त्यसको विकल्पमा कपडाको झोला प्रयोग गर्न, प्लाष्टिकको बोतलसँगै प्लाष्टिकजन्य फोहरलाई निकुञ्जभित्र नछोड्न र त्यसलाई बाहिर सुरक्षा जाँच गर्ने ठाउँको डस्विनमा राख्न आग्रह गरे ।

निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी, रीउजस्ता खोलाबाट वर्षाको समयमा बगेर आउने प्लाष्टिक तत्काल सफा गरिने भएको छ । निकुञ्जकका कर्मचारी, वाह्य पर्यटक र निकुञ्जको बाटो भएर जाने यात्रुबाट प्लाष्टिक सङ्कलन हुने गर्दछ । निकुञ्जमा रहेका वन्यजन्तुले ती प्लाष्टिक खाएर मृत्युसमेत हुने गरेको छ भने वर्षाँैसम्म नसड्ने हुँदा वातावरणीय सन्तुलनमा खलल ल्याउने बताइन्छ ।

सो अवसरमा आफ्नो प्रस्तुतीकरण गर्दै हिमालयन क्लाइमेटका प्रमुख कार्यकारी अधिकृत सिलसिला आचार्यले विगत ७० वर्षदेखि नेपालमा प्लाष्टिक प्रयोग हुन थालेको भन्दै यसले दीर्घकालीन असर पार्ने बताए । दैनिक दुई करोड प्लाष्टिकका झोला नेपालमा प्रयोग हुने गरेको उनले बताए । यी झोला पेट्रोलियम उत्पादन भएकाले जलवायु परिवर्तनमा नकारात्मक असर पर्छ ।

प्लाष्टिककै कारणले प्रत्येक वर्ष विश्वमा एक लाखभन्दा बढी जलचर मर्ने गरेको भन्दै उनले आगामी १२ वर्षभित्र प्लाष्टिक व्यवस्थापन गर्न नसके जलवायु परिवर्तनमा ठूलो असर पर्ने बताए । विश्वका ५० देशले प्लाष्टिकका झोला प्रतिबन्ध लगाएको पनि उनले जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तुसहितको बासस्थान हो । विसं २०३० असोज ४ गते स्थापना भएको सो निकुञ्ज ९५३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । मध्यवर्ती क्षेत्र ७२९ वर्ग किलोमिटर छ । यो देशका पाँच जिल्लामा पर्दछ । सन् १९८४ मा निकुञ्ज युनेस्कोको सूचीमा परेको थियो ।

निकुञ्ज विशेष गरेर एकसिङ्गे गैँडा र पाटे बाघका लागि प्रख्यात छ । निकुञ्जमा ४३ प्रजातिका स्तनधारी प्राणी, ४५० प्रजातिका चराचुरुङ्गी र ४५ प्रजातिका जलथलचर तथा घस्रने प्राणी पाइन्छन् । यहाँ पाइने प्रमुख स्तनधारी प्राणीमा हरिण, चित्तल, बाँदर तथा लङ्गूर बाँदरलगायत पर्छन् । निकुञ्ज घुम्न आन्तरिक र बाह्य गरी वार्षिक झण्डै दुई लाख पर्यटक आउने गरेका छन् । (रासस)
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.