www.tandavnews.com
Fact ~ In search of truth

बंगलादेशी राष्ट्रपति हमिद काठमाडौँ

काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिवसीय औपचारिक सद्भावना भ्रमणका क्रममा आज अपराह्न काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षी हमिदलाई स्वागत गरेका थिए ।

विमानस्थलको सोही कक्षमा राष्ट्रपति हमिदलाई पञ्चकन्याले पुष्पहारद्वारा स्वागत गरेका थिए । यसअघि राष्ट्रपति हमिद सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले स्वागत गरेका थिए।

सो अवसरमा राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । विशिष्ट पाहुनाको स्वागतार्थ विमानस्थलमा सातवटै प्रदेशका जीवन्त कला र संस्कृतिको झाँकी प्रदर्शन गरिएको थियो । विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उपस्थित थिए ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बंगलादेशी समकक्षी हमिदले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ रात्रिभोजको आयोजना गर्नेछन् ।

बुधबार नै बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन् ।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्नेछन् । नेपाल बसाइका बेला बंगलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरि भ्रमण गर्ने कार्यक्रम छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.