www.tandavnews.com
Fact ~ In search of truth

बन्दीपुरमा बन्न लागेको केबलकारको ‘बटम स्टेशन’ भवन शिलान्यास

पोखरा ।

तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण हुन लागेको केबलकारको ‘बटम स्टेशन’ भवन निर्माण शुरु भएको छ ।

केबलकारको साझेदारी कम्पनी आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले निर्माण गर्न लागिएको उक्त भवन आज शिलान्यास गरेका हुन् ।

बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा १८ करोड ५५ लाखको लागतमा निर्माण गर्न लागिएको उक्त भवन १५ महीनामा सम्पन्न गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए ।

उक्त लिमिटेड, पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेड, टुरिज्म इन्भेष्टमेन्ट फण्ड र बन्दीपुर गाउँपालिकाको साझेदारीमा एक अर्ब ३८ करोडको लागतमा बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजना पनि निर्माण निर्माण गर्न लागिएको छ ।

केबलकारको टप स्टेशनमा १० तल्लाको होटलसहितको भवन निर्माण गरिनेछ ।८२ करोडको लागतमा निर्माण हुने उक्त होटलमा आधुनिक भ्यू टावर, बेनक्युट हल र ८० कोठा रहने अध्यक्ष शर्माले जानकारी दिए ।

‘पहाडकी रानी’ नामले परिचित बन्दीपुर घुम्न आउने पर्यटकलाई मनोरञ्जन र सुविधा प्रदान गर्ने उद्देश्यले उक्त कम्पनीले विविध पूर्वाधार निर्माणको योजनाअनुसार कामलाई तीव्रता दिएको छ ।

५६ करोडको लागतमा केबलकार निर्माण गरिने योजना रहेकामा उक्त कम्पनीले केबलकारमा आधुनिक ‘मोनोकेबल डिटाचेबल प्यासेन्जर सिस्टम’ जडान गर्ने र सुरक्षाको पक्षलाई महत्व दिएर सुरक्षा उपकरण जडान गर्ने योजना थपेको उनको भनाइ थियो ।

ठूल्ढुङ्गा स्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा २०० ले वारपार गर्न सक्नेछन् ।विमलनगरस्थित सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि बन्दीपुर घुम्न आउने पर्यटकका लागि केबुलकार आकर्षण बन्ने विश्वास लिइएको छ ।

ठूल्ढुङ्गा स्वाँराबाट शुरू हुने केबलकारले सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म एक किलोमिटर ६०० मिटर यात्रा गर्नेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.