www.tandavnews.com
Fact ~ In search of truth

बराह माविमा अनियमितता ! (भिडियो सहित)

 

 

 

 

माधव भुसाल
पाेखरा, ताण्डव न्यूज । 

‘परोपकार पुण्याय, पापाय पर पिडनम्’ संस्कृतमा श्लोक लेखिएको छ । श्लोकले अथ्र्याउँछ ‘परोपकार नै पुण्य हो, अरुलाई दुख दिनु पाप हो ।’ विद्यार्थी लक्षित अर्को भनाइ पनि त्यही छेउ लेखिएको छ ‘अनुशासन विद्यार्थीको गहना हो’ ।

Batas

माछापुच्छ्रे गाउँपालिका ६ स्थित बराह माध्यमिक विद्यालयको भवनमा यस्तै अन्य श्लोक÷भनाइहरु पनि कोरिएका छन् । भित्र कक्षा कोठामा भविष्यका कर्णधारहरु तयार भइरहेका छन् । शान्त ठाउँमा रहेको यस विद्यालयको माहौलमा भने अहिले अशान्तिको बादल मडारिएको छ ।

विद्यालय व्यवस्थापन समिति र प्रशासनप्रति स्थानीयको आक्रोश र आरोपले यहाँको माहौल बिग्रिएको छ । स्थानीयले बराह माविमा ‘ब्रम्हलुट’ भएको आरोप लगाएका छन् ।

विद्यालय प्रशासनको मिलेमतोमा गैरकानुनी रुपमा शिक्षकलाई पैसा दिएको, गुपचुप विद्यालयको जग्गा भाडामा दिएर पैसा खाएको, इतिहास मेटाउने उद्देश्यले स्मारिका प्रकाशन गरिएको लगायतका विषयमा स्थानीयले आरोप मात्र व्यक्त गरेनन् भेला बोलाएर स्मारिका जलाएर विरोधसमेत गरे ।

आरोप नं १ : गैरकानुनी रुपमा शिक्षकलाई पैसा

यस विद्यालयमा २०६८ साउनदेखि प्लस टु सुरु भयो । आइएससी, भेटेरिनरी लगायतका प्राविधिक शिक्षा अहिले पनि विद्यालयले दिँदै आइरहेको छ । प्लस टु पढ्न विद्यार्थीहरु बिहानी सत्रमा पुग्थे । तर, २०७३ भदौमा शिक्षा मन्त्रालयले बिहानी सत्रमा कक्षा सञ्चालन नगर्नु भनेपछि दिउँसो सञ्चालन हुन थाल्यो । बिहानी कक्षा पढाउने शिक्षकलाई भत्ता लगायतका सुविधाहरु प्रदान गरिएको थियो ।

सरकारको आदेशपछि बिहानी सत्र बन्द भइसकेर पनि प्रधानाध्यापकसहित केही शिक्षकले सोही शीर्षकमा रकम लिएको आरोप स्थानीयले लगाएका हुन् ।

यसबारे विद्यालयका भूतपूर्व शिक्षक एकनारायण अधिकारी भन्छन् ‘२०७३ मै बन्द गरिएको बिहानी सत्रको भत्ता वापतको रकम यिनीहरुले २०७५ पौषसम्मै खाइरहे ।’ दिउँसो कक्षा सुरु भएको मितिदेखि प्रधानाध्यापक लगायतका शिक्षकहरुले लिएको रकम फिर्ता गर्नुपर्ने उनको भनाइ छ । ‘किन यसरी पैसा खाएको ?’ भनेर प्रधानाध्यापकलाई सोध्दा ‘मान्दै मानेनन् नखाई के गर्ने’ भन्ने उत्तर दिएको उनले सुनाए ।

आरोप नं २ : विना टेण्डर जग्गा भाडामा !

स्थानीयले लगाएको दोस्रो आरोप हो ‘थाहै नदिई जग्गा भाडामा दिनु’ । विद्यालयसँग भएको जग्गामध्येको करिब ८५ रोपनी यसअघि भाडामा दिइएको थियो, ७ वर्षका लागि । ७ वर्ष पुग्न नपाउँदै विद्यालयले काठमाडांैका विष्णु भुसाललाई २० वर्षका लागि जग्गा भाडामा दिइएको छ । ती व्यक्तिले ७ वर्ष भाडामा लिएका व्यक्तिलाई क्षतिपूर्ति रकम दिएर भाडामा लिएको जनाइएको छ ।

वर्षको १ लाख जग्गाको भाडा तोकिएको छ । यस विषयमा स्थानीयले २ पाटोबाट विरोध गरेका छन् । १, बिना टेण्डर भाडामा लगाउनु र २, स्थानीयलाई नदिएर बाहिरको मान्छेलाई भाडामा दिनु ।
विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य टेकप्रसाद अधिकारी भन्छन् ‘किन यसो गरेको भनेर सोध्दा हामीलाई निच शब्द प्रयोग गरिएको छ । प्रक्रियामा गएर, सूचना प्रकाशन गरेर भाडामा दिऊँ भन्दा ‘तिमीहरु को हौ ?’ सम्झौता बदर हुनैपर्छ ।’

अधिकारीले यस कार्यमा कमिसनको खेल भएको हुनसक्ने सुनाए । ‘टाठा बाठा र फटाहहरुको मिलेमतोमा जग्गा भाडामा दिइएको छ । पहिलो प्राथमिकता स्थानीय नै हुनुपर्ने हो नि । कहिले लमजुङ, कहिले काडमाडौंबाट व्यक्ति ल्याएर गुपचुप भाडामा दिन पाइन्छ विद्यालयको जग्गा?’ उनले प्रश्न गरे ।  यसबारे प्रशासन र व्यवस्थापन समितिले उचित जवाफ नदिए अख्तियार र अदालतको बाटो अपनाउने योजना रहेको अधिकारीले बताए ।

आरोप नं ३ : इतिहास मेटाउने प्रयास !

अर्को आरोप हो ‘इतिहास मेटाउने प्रयास ।’ विसं २०२४ पौष गते स्थापना भएको यस विद्यालयले ०७४ पौषमा स्वर्ण महोत्सव मनायो । महोत्सव मनाएको अर्को वर्ष अर्थात् ०७५ पौष ६ मा विद्यालयले स्मारिका प्रकाशन गरेको छ ।

स्थानीय उमानाथ अधिकारीले प्रकाशित स्मारिकामा संस्थापकको नामावलीमा गडबड भएको जनाए । विद्यालयको स्थापनार्थ जग्गा दिएका व्यक्तिहरुको अवहेलना गरेको आरोप उनले लगाए । स्मारिका प्रकाशनमा जालझेल भएपछि करिब १ सय ६० बढी व्यक्तिहरुको हस्ताक्षर नै संकलन गरेर विद्यालयमा बुझाएको उनले सुनाए ।

‘हस्ताक्षर अभियान नै भयो । निवेदन पनि दियौं । विद्यालयले बैठकको आह्वान पनि गर्यो, गयौं । छलफल गर्दा उहाँहरुले एकलौटी रुपमा प्रस्तुत हुनुभयो । स्मारिका सच्याउन ९ सदस्यीय कार्यदल बन्यो । तर, अर्थ भएन । राजनीतिक रंग नदिएका पनि होइनन् । वास्तविक जग्गादाताको अबमूल्यन गर्नुभएन भन्ने हाम्रो माग हो । ६५ जग्गादाताहरुलाई पनि उल्लेख गरिनुपर्छ । कपोकल्पित रुपमा संस्थापक नाम राख्ने काम गरिएको छ । जसरी पनि परिवर्तन गर्नुपर्छ । यो इतिहास हो, मेटाउन पाइँदैन ।’ अधिकारीको भनाइ ।

लामो समय सोही विद्यालयमा अध्यापन गरेर अवकाश लिएका जयलाल दुवाडीले स्थानीयले स्कुल कम्पाउण्डभित्रको कुरा थाह पाउनै मुस्किल रहेको गुनासो पोखे । विद्यालयल प्रशासनले आफ्ना काम पारदर्शी नगराइ गुपचुपमै सल्टाउने गरेको उनको भनाइ छ । ‘३ करोड पुँजी भएको विद्यालयमा विद्यार्थी चानचुन २ सय विद्यार्थी मात्रै हुनु दुखद हो । विद्यालयको प्रशासन नै फितलो भयो । विद्यालय अभिभावक र विद्यार्थीबिच राम्रो समन्वय भएन । विद्यालय व्यवस्थापन समिति नै शिक्षा नियमावली विपरीत छ । राजनीतिक आस्थाका आधारमा व्यक्ति राखिन्छ ’ उनले भने ।

स्थानीयलाई थाहै नदिइ जग्गा भाडामा दिएको उल्लेख गर्दै दुवाडी भन्छन् ‘पहिला थाह दिइएको थियो । अहिले बिना टेण्डर, बिना जानकारी किन दिइयो ? यो प्रक्रिया गतल भयो । हाम्रो आवाज पनि यही हो । यसलाई खारेजसम्म गरिनुपर्छ भन्ने हाम्रो माग हो ।’

उनले विद्यालय प्रशासन र व्यवस्थापन समितिले आफू अनुकूल व्यक्तिलाई मात्रै राखेर स्वर्ण महोत्सव सम्पन्न गरेको आरोपसमेत लगाएका छन् ।

विद्यालयका भूपू विद्यार्थी कृष्णप्रसाद अधिकारीले विद्यालयको स्मारिकामा इतिहास लेख्ने क्रममा कसरी त्रुटि भयो ? भनेर प्रशासन समक्ष कुरा राख्दा उनीहरु आक्रोशमा आएको बताए । त्यहाँका जनप्रतिनिधि, एवं वडाध्यक्षले आक्रेशित हुँदै निच शब्द प्रयोग गरेकोमा दुखेसो पोखे । ‘हामीले जनप्रतिनिधिलाई सोध्दा तिमीहरु को हौ भन्नुपर्ने ? भनेर भने । म चुट्कीको भरमा सबै काम गर्छु समेत भनेका थिए । भएको निर्णयहरु देखाउन चाहेनन् ।’ उनले भने ।

विद्यालयलाई वास्तविक योगदान दिनेहरुको नाम हटाइएकोप्रति उनको आपत्ति छ । जग्गादान गर्नेलाई नसमेटेर, आफू निकटमा व्यक्तिलाई समेटिको उनले सुनाए । उनका अनुसार यो इतिहास मेटाउने प्रयास भएको छ ।
करिब ३ करोड पुँजी भएको विद्यालयमा लेखा शाखा नै अस्तव्यस्त रहेको उनको ठहर छ । भन्छन् ‘अहिलेसम्म कम्प्युटराइज सिस्टम छैन । कलमले लेखेर हिसाब गरिन्छ, राखिन्छ । व्यवस्थित गरौंभन्दा पनि मान्नुहँुदैन । उल्टै हामीलाई आक्रेशको शैलीमा गाली गर्नुहुन्छ । ’

यस्तै विद्यालय व्यवस्थापन समितिका सदस्य नन्दलाल ढुंगानाले व्यवस्थापन समितिमा राजनीतिक भागवण्डा गरिएकै कारण विवादमा आउने गरेको बताए । उनले यसलाई खराब पक्ष भनेका छन् । ढुंगाना भन्छन् ‘यहाँको खराब पक्ष भनेकै राजनीतिक भागवण्डा हो । समितिमा बस्नलाई अब राजनीति पार्टीको कार्यकर्ता हुनुपर्ने ? ’उनले प्रश्न गरे ।

उनले विद्यालयको प्रशासन र व्यवस्थापन समितिलाई ‘पुच्छरले टाउको हल्लाउने संस्था’ भन्न भ्याए । ‘यो संस्था भनेको पुच्छरले टाउको हल्लाउने संस्था हो । यहाँ अण्डरग्राउण्ड हिरोहरु धेरै भए । म व्यवस्थापन समितिको सदस्य, केही सामान खरिद गर्दा छलफल हुनुपर्छ, जानकारी हुनुपर्छ । हामीलाई जानकारी नै दिइँदैन, सामान ल्याएपछिमात्रै देखिन्छ ।’ ढुंगानाले प्रष्ट्याए ।

आरोपबारे प्रध्यानाध्यापक नरबहादुर गुरुङको स्पष्टोक्ति

विद्यालयका प्रधानाध्यापक नरबहादुर गुरुङले बिनाआधार आरोप लगाइएको बताए । जग्गा भाडाको विषयमा प्रष्ट्याउँदै उनले भने ‘२० वर्ष भाडामा दिनुअघि १ व्यक्तिलाई ७ वर्षका लागि दिइएको थियो । पछि, विद्यालय र स्थानीयको हित हुने खालको प्रस्ताव लिएर अर्को व्यक्ति आउनुभयो । ७ वर्ष भाडामा दिएको व्यक्तिकै सहमतिमा, उहाँलाई लिनेवालाले नै क्षतिपूर्ति दिने गरी सहमति भएर २० वर्षका लागि भाडामा दिइएको हो ।’

शैक्षिक गतिविधिलाई विस्तार गर्ने उद्देश्य र स्थानीयलाई पनि हित हुने भएकाले समितिकै छलफल र सहमतिमा जग्गा दिइएको गुरुङको भनाइ छ । ‘टेण्डर आह्वान नगरिएको मात्र हो । विद्यालयको समिति, जनप्रतिधिसँग व्यापक छलफल सहित सहमति गरेर नै सबै कुरा भएको छ । प्रक्रिया नपुगेको हो भन्ने लाग्दैन । शैक्षिक विकासकै लागि यो सब गरिएको हो । उसले बनाएका संरचनाहरु सबै छाडेर जाने सहमति छ । फेरि सहमति अनुसार कार्य नगरे स्वतः खारेज हुने गरी सहमति पनि गरेका छौं नि’ गुरुङले भने ।

सरकारले दिउँसो कक्षा सञ्चालन गर्न लगाएपछि लिइएको तलबबारे स्पष्ट पार्दै प्रअ गुरुङ भन्छन् ‘ प्लस टु का कक्षाहरु दिउँसो सञ्चालन गर्न गाह्रो हुँदाहुँदै पनि हामीले सरकारको आदेशलाई पालना गर्दै सुरु गयौं । कतिले त अझै बिहानै सञ्चालन गरिरहेका पनि छन् । जतिवटा संकाय भएपनि सरकारले १, २ वटा अनुदान दरबन्दी भनेर दिन्छ । आन्तरिक स्रोतले जे जति भ्याउँछ त्यहीअनुसार गर्नु भनिएको छ । माविलाई प्लस टु को नियुक्ति त छैन । माविकै तलब खाएर पढाउनु पर्ने भो । योग्य शिक्षकलाई पढाए वापत प्रोत्साहन स्वरुप दिइएको हो । पहिला एउटा कक्षाको ५ हजार रुपैयाँ खाने शिक्षकलाई दिउँसोमा सञ्चालन भएपछि २ हजारमा मनायौं । त्यो पनि समितिकै निर्णयअनुसार दिइएको हो । सबै सहमति छ समितिको । पछि विवाद आएपछि त्यो २ हजार पनि बन्द गरियो ।’

पैसा खाएको भन्ने आरोप निराधार रहेको उनले दोहो¥याए । तलब वापत लिइएको रकम अवैध ठहरिए जुनसुकै कारबाही भोग्न तयार रहने उनको भनाइ छ ।

स्मारिका निर्माणको विषयबारे बोल्दै प्रअ गुरुङले समिति नै बनाएर काम गरिएको सुनाए । संयोजकको जिम्मा रामजीप्रसाद पौडेललाई दिइएको र पौडेलले नै तयार पारेको दस्तावेजको आधारमा स्मारिका निर्माण गरिएको उनले बताए । आफू प्रअ नरहँदा पनि विवाद हुने गरेको सम्झदै उनी भन्छन् ‘म प्रअ नहुँदा पनि विवाद भैरहन्थ्यो । इतिहासमा विवाद आएपछि मैले विवादबारे सुल्झाउन पटक पटक फोन पनि गरेको हुँ, असन्तुष्ट रहेकाहरुलाई । ५०, ६० पटक सम्म फोन गर्दा फोन नउठाउने, सम्पर्कमा नआउने गर्नुहुन्छ । म त अझै पनि भन्छु, अर्को वार्षिकोत्सवमा मिलाउ । प्रकाशन गरौं भनेर, छलफलको ढोका त सधैैं खुल्ला राखेको छु नि ।  छलफलनै नगरी कसरी मिलाउने ?’

विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामचन्द्र गौतम के भन्छन् ?

आरोपमा कति पनि सत्यता छैन । हामीले पहिले जग्गा सम्झैता गर्दा २ वर्षमा १० प्रतिशतले भाडा वृद्धि गर्ने गरी सहमति गर्यौैं । ६२ हजार वार्षिक प्राप्त हुन्थ्यो । विद्यालयकै पूर्व अध्यक्ष राजेन्द्र गुरुङलाई दिइएको जग्गा, उहाँमार्फत नै लमजुङका पवन रोकालाई दिइएको हो । उहाँले केही संरचना बनाउनुभएको पनि थियो । अहिले गएपनि देखिन्छ ।

उहाँहरुले शैक्षिक प्रयोजनका लागि लमजुङको गैरी क्याम्पसको शाखा खोल्ने भनेर विष्णु भुसाललाई लिएर स्वर्ण महोत्सवको बेलामा लिएर आउनुभयो । हामी महोत्सवको तयारीमा भएकाले पछि कुरा गर्ने भन्यौं । पछि बसेर कुराकानी गरियो । विद्यालयका सबै शिक्षकलाई राखेर छलफलमा जुटियो ।

मैले सुरुदेखि नै उहाँहरुलाई ठिक ढंगले गर्नुस् है भने । सबैको छलफलपछि दिन उपयुक्त हुन्छ भन्ने भयो । जग्गामा एग्रो टुरिज्म सम्बन्धित कार्यक्रम हुने भएकाले, हुन्छ भन्ने हिसाबले कुरा भयो । उहाँहरुले २० वर्षका लागि माग्नुभयो । सबै राम्रो हुन्छ भने दिम भन्ने भयो । सम्बन्धित १८ जना व्यक्तिहरुको हस्ताक्षर गरेका छौैं, कागज छ । यदि विद्यालयमा राम्रो काम गर्न सकेन भने स्वतः समाप्त हुने भने लेखेर सहमति पनि भएको छ । ६२ हजारबाट १ लाख आउने भएपछि राम्रो हुन्छ भन्ने भो । अग्रिम पोहोरको १ लाख लिइयो । अहिलेको १ लाख । जग्गाको विषयमा यही नै हो ।

अब शिक्षकको कुरा । विद्यालयमा प्लस टु कै लागि शिक्षक ल्याउँदा धेरै खर्च हुने भयो । त्यहिको शिक्षक प्रयोग गर्दा सस्तो पर्ने देखियो । उहाँहरुलाई नै तलब दिएर पढाउन लगाइयो । भन्ने पर्दा गर्जो टार्न यसो गरिएको थियो ।
दिउँसोमा सुरु भएपछि पढाइरहेका शिक्षकलाई नै प्रोत्सान स्वरुप रकम दिइएको थियो । त्यो पनि विवाद आएपछि दिन छोडियो ।

स्मारिकाको कुरामा भन्नुपर्दा सबैसँग छलफल भएरै तयार पारिएको हो । विद्यालयको श्री गणेसायः गर्ने बेलादेखि हस्ताक्षर गर्नेहरुलाई संस्थापक राखिएको छ ।  बेलाबेला आउने विवादहरु असहयोग आन्दोन हुन् । बाहिरबाट ठ्याक्कै देखिँदैन । भित्रभित्र पुरै असहयोग । एउटा एउटा विवाद नभइ कुनै हिँउद बित्दैन यहाँ ।

घटना बारे बुझ्छाैँ : जिशिसइ प्रमुख सुवेदी

जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख नारायणप्रसाद सुवेदीले विद्यायको बारेमा कुनै जानकारी नआएको बताए । ‘मैले यस बारे बल्ल सुने,’ उनले भने, ‘कुरा के रहेछ म बुझ्छु ।’ प्रमुख सुवेदीले विद्यालयको जग्गा भाडामा दिन मिल्ने बताए । ‘जग्गा भाडामा दिन मिल्छ, तर आर्थिक अनियमितता भएको भन्ने आएकोे छ भने छानविन हुन्छ ।’ अन्य अनियमितता सम्बन्धी छानविन हुने प्रमुखले बताए ।

हेर्नुहाेस् भिडियाे

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.