www.tandavnews.com
Fact ~ In search of truth

बागलुङको कालिका मन्दिर परिसरमा बढे वन्यजन्तु

अर्जुन कार्की,
बागलुङ / ताण्डव न्यूज ।

प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर परिसरमा वन्यजन्तुहरुको संख्यामा वृद्धि भएको छ ।

मन्दिर परिसरमा वन्यजन्तु संरक्षण उद्यान बनाइएपछि बन्यजन्तुहरुको संख्यामा वृद्धि भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए ।

वन्यजन्तु संरक्षणसँगै पर्यटकीय गन्तव्य बनाउन उद्यानको योजना ल्याएर समितिले काम अगाडी बढाएसँगै मन्दिर परिसरमा कालिज, मृग, चितुवा, लोखरके, बाँदर, खरायो, लाटोकोसेरो, कोइरल लगायतका बन्यजन्तुहरु देखिन थालेका छन् ।

मन्दिरको चारैतिर फैलिएको १ सय ९० रोपनी जंगल क्षेत्रलाई वन्यजन्तु संरक्षण उद्यानका रुपमा विकास गरिएको छ ।अहिले मन्दिर परिसरमा २ ओटा मृग र १ दर्जन खरायोलाई संरक्षण स्थल बनाएर राखिएको छभने अन्य बन्यजन्तुलाई जंगलमै छोडिएको छ । समितिका अध्यक्ष खड्काका अनुसार मृगलाई संरक्षण गरि राख्न सकिन्छ की भन्ने लागेर तारबार लगाएर राखिएको बताए ।

उनले मन्दिर परिसरमा मिनि चिडिया खानाको रुपमा विकास गर्दैगर्दा पर्यटकहरुको बृद्धि भएको बताए । ‘यहाँको हावापानीमा हुने वन्यजन्तुलाई संरक्षित रुपमा राखेका छौंं,’ उनले भने, ‘वन्यजन्तु उद्यानले पर्यटकलाई समेत आकर्षित गरेको छ ।’ अहिले मन्दिरमा परिसरमा कालिजहरुले चारो खाँदै गरेको दृश्य देखिन थालेको छ ।

यस्तै कालिका मन्दिरको परिसरमा जिल्ला वन कार्यालयले १ ओटा हुकिचिल र ३ ओटा लाटोकोसेरो छोडेको छ । मन्दिर परिसरमै बन्य जन्तुहरु देखिदा पुजाको लागि मात्र नभइ बन्यजन्तु हेर्नको लागि पर्यटकहरु आउने गरेको अध्यक्ष खड्काले बताए ।

‘पहिला मन्दिरमा पुजाको लागि मात्र पर्यटकहरु आउनुहुन्थ्यो,’ अध्यक्ष खड्काले भने–‘अहिले परिसरमा वन्यजन्तुहरु देखिन थालेपछि अन्य पर्यटकहरुको संख्यामा पनि वृद्धि भएको छ ।’ अध्यक्ष खड्काका अनुसार उद्यानमा चितुवालाई संरक्षण गर्न तारजाली लगाएर राख्ने बारेमा सल्लाह अगाडी बढाएको जनाए ।

संरक्षण उद्यान बन्दा जंगल परिसरमा रहेका चराहरुको संख्यामा पनि वृद्धि भएको छ । मन्दिर वरिपरिको हावापानीमा रहन सक्ने बन्यजन्तुहरु नभएमा बाहिरबाट ल्याएर राख्ने काम पनि भइरहेको समितिले जनाएको छ । ‘यहाँ नभएका वन्यजन्तु र पंक्षी बाहिरबाट ल्याएर राख्ने गरेकाछौं,’ अध्यक्ष खड्काले भने, ‘मन्दिर क्षेत्रको सबै जंगल वन्यजन्तु संरक्षणको रुपमा राखिएको छ ।’ वन्यजन्तु संरक्षणको लागि वन क्षेत्रलाई चारैतिरबाट सुरक्षित घेराबार गरिने भएको छ ।

वन मन्त्रालय, कालिका मन्दिर गुठी समिति र बागलुङ नगरपालिका मिलेर वन्यजन्तु संरक्षण उद्यानको काम शुरु गरेका थिए । मन्दिरको चारैतिर फैलिएको १ सय ९० रोपनी जंगल क्षेत्रलाई वन्यजन्तु संरक्षण उद्यानका रुपमा विकास गरिएको छ ।

समितिले मुल गेटदेखि मन्दिरसम्मको बाटोको वरिपरि, नरिवल, कटर, धुपि सल्ला लगायतका २ सय ५० ओटा विरुवा लगाएको छ । परिसरलाई हरियाली बनाउने उद्देश्यले
वृक्षारोपण गरिएको समितिले जनायो ।

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.