www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा खानेपानीको सङ्कट टर्दै

बागलुङ ।

‘एक घर, एक धारा’ योजनाले गलकोट नगरपालिका–११ रिघाफेदीमा खानेपानीको सङ्कट टार्ने भएको छ । फेदी छरछरे खानेपानी आयोजनामार्फत रिघाफेदीका ५५ घरधुरीमा स्वच्छ खानेपानी पुर्याउन लागिएको हो ।

आयोजनाको ७० प्रतिशत काम पूरा भएको उपभोक्ता समितिका अध्यक्ष चित्रबहादुर राना कुमालले बताए । “यो वर्ष आयोजना पूरा हुन्छ”, उनले भने, “सबै घरधुरीमा धारा पुग्छ ।” बुहवर्षीय योजनाअन्तर्गत अघिल्लो आवमा शुरु गरिएको आयोजनालाई गण्डकी प्रदेश सरकारले ३५ लाख बजेट छुट्याएको थियो । यो वर्ष पनि रु पाँच लाख बजेट विनियोजन गरिएको अध्यक्ष कुमालले बताए ।

आयोजनामा अहिले पाइप बिछ्याउने, ट्याङ्की र धारा निर्माणको काम भइरहेको छ । एक घर, एक धाराको सरकारी लक्ष्यअनुसार नै आयोजना सञ्चालन भइरहेको वडाध्यक्ष डम्बर श्रीसले बताए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत आयोजना निर्माणको काम भइरहेको उनको भनाइ छ ।

वडा नं ११ मै सञ्चालित झारसादी–मजुवा–अरले–मनेवापाटा खानेपानी आयोजनाले पनि स्थानीय ७० घरधुरी लाभान्वित हुने वडाध्यक्ष श्रीसको भनाइ छ ।हिउँदमा खानेपानीको सङ्कट झेल्दै आएका ठूलो रिघालगायतका गाउँमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी पुर्याउने योजना रहेको उनले बताए ।

वडा नं २ नरेठाँटीमा पनि ‘एक घर, एक धारा’ पुर्याउने लक्ष्यसहित ‘जसपुर–घामपानी–मसरा खानेपानी तथा सरसफाइ आयोजना’ निर्माणाधीन अवस्थामा छ । सङ्घीय सरकारको २३ करोड लागतमा बन्ने आयोजनाको सम्पूर्ण काम आगामी सात वर्षमा पूरा हुने जनाइएको छ ।

दुई वर्षअघि शुरु भएको आयोजनामा एक करोड बराबरको काम भइसकेको उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजना बनेपछि नरठाँटीका ६५० घरधुरीमा खानेपानीको सहज पहुँच पुग्नेछ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.