www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा बटुकदेखि किरियापुत्रीसम्मका परीक्षार्थी सहभागी

बलेवा ।

माध्यमिक तहको परीक्षा (एसइई) को आज पहिलो दिन बागलुङबाट फरक क्षमता भएका २५ र किरियापुत्री एक परीक्षार्थी सामेल भएका छन् ।

बागलुङबाट पाँच हजार ५१९ परीक्षार्थीले परीक्षा दिएका छन् । तीमध्ये दुई हजार ८७४ छात्रा छन् । बागलुङबाट एक न्यून दृष्टियुक्त व्यक्तिसहित २५ जना विशेष क्षमता भएका र नौ जना संस्कृत विद्या पढ्दै गरेका परीक्षार्थी सामेल भएका छन् ।

विशेष शिक्षातर्फ बागलुङको धौलागिरि बहिरा आवासीय माविबाट २४ जनाले कम्प्युटर धार विषयको परीक्षा विद्यामन्दिर केन्द्रबाट दिएको केन्द्राध्यक्ष जगन्नाथ आचार्यले बताए । यो वर्ष मुक्तिनाथ वेदविद्याश्रमका नौ बटुक, जनताधन माविका एक न्यून दृष्टियुक्त व्यक्ति र प्रभा मावि बोहोरागाउँका एक किरियापुत्री परीक्षामा सामेल भएका छन् ।

प्राविधिक विद्यातर्फ १६८ विद्यार्थीले सदरमुकामकै विद्यामन्दिर माविबाटै परीक्षा दिएका छन् । उनीहरुले कम्प्युटर, कृषि, भेटनरी र सिभिल इञ्जिनीयरिङको परीक्षा दिएका हुन् । परीक्षालाई मर्यादित बनाउनका लागि कुनै पनि विद्यालयका विद्यार्थीले आफ्नो विद्यालयमा परेको केन्द्रबाट परीक्षा दिन नपाउने व्यवस्था गरिएको छ ।

परीक्षालाई मर्यादित बनाउनका लागि माध्यामिक परीक्षा समन्वय समितिले ३३ बुँदे आचारसंहिता पनि जारी गरेको छ । ती संहिता पालना नगरेमा आवश्यक कारवाही गर्ने र परीक्षालाई खलल पर्ने गतिविधि गरेमा शिक्षा ऐन २०२८ को दफा १७ (क) अनुसार कसुरको मात्रा हेरी ६ महीनासम्म कैद र एक लाखसम्म जरिवाना गराउन सकिने चेतावनी दिइएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख कुश्मराज उपाध्यायले बताए ।

उपाध्यायका अनुसार परीक्षामा ३१ केन्द्राध्यक्ष, ३९ सहायक केन्द्राध्यक्ष, ५६ सहायकसहित २६८ निरीक्षक खटाएको छ । सबै केन्द्रमा गरी ४६५ सुरक्षाकर्मीलाई परिचालन गरिएको पनि उनले बताए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.