www.tandavnews.com
Fact ~ In search of truth

बागलुङमा भूकम्पपीडितका गुनासै गुनासा

बागलुङ ।
जिल्लाका ७९६ भूकम्पपीडितले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा गुनासो दर्ता गराएका छन् । गुनासो दर्ता गराउनेमा लगत सङ्कलनमै छुटेकादेखि सर्वेक्षण भए पनि लाभग्राहीमा पर्न नसकेकासम्म छन् ।

प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण गर्ने भएपछि गुनासा थप बढ्ने देखिएको छ । सबैभन्दा बढी बागलुङ नगरपालिकाबाट ३११ ले गुनासा दर्ता गराएका छन् । जैमिनी, गलकोट र ढोरपाटन नगरपालिकाका क्रमशः दुई सय ७५, ८० र २६ गुनासा दर्ता छन् ।

यस्तै, बडिगाड र काठेखोला गाउँपालिकाबाट क्रमशः पाँच र नौ गुनासा दर्ता भएका छन् । भूकम्पबाट कम प्रभावित बरेङ, तमानखोला, निसीखोला र ताराखोला गाउँपालिकाबाट भने एउटा पनि गुनासो दर्ता छैन । प्राधिकरणमा दर्ता भएका केही गुनासाको स्थानीय तह छुट्टाउन बाँकी छ ।

गुनासो दर्ताअनुसार छुट तथा पुनःजाँच सर्वेक्षण गरिने प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ ९भवन० ले जनाएको छ । केही “दिनभित्रै सर्वेक्षणको काम शुरु हुन्छ”, एकाइका निमित्त प्रमुख उमेशकुमार चौधरीले भने ।

हरेक स्थानीय तहमा दुई इञ्जिनीयर छुट तथा पुनःजाँच सर्वेक्षणमा खटिनेछन् । गुनासो सङ्ख्याको आधारमा सर्वेक्षक थपघट हुन सक्ने जनाइएको छ । सर्वेक्षणका क्रममा नयाँ आउने गुनासा पनि दर्ता गरिने निमित्त प्रमुख चौधरीले बताए ।

“वास्तविक भूकम्पपीडित कोही पनि लाभग्राहीमा नछुटोस् भनेर अन्तिम पटकलाई पुनः सर्वेक्षण हुन लागेको हो”, उनले भने । पहिलेको सर्वेक्षण कार्यक्रममै छुटेका वास्तविक भूकम्पपीडित लाभग्राहीमा समेटिने छुट तथा पुनःजाँच सर्वेक्षण सञ्चालन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाले बताए ।

“सर्वेक्षण भए पनि कतिपय त्रुटिका कारण लाभग्राहीमा नपर्नु भएकालाई पनि यो अवसर हो”, उनले भने, “अनुदान पाउनबाट कोही पनि वञ्चित हुन नपरोस् ।” वडा गुनासो समिति हुँदै स्थानीय तहको सिफारिसका आधारमा छुट तथा पुनःजाँच सर्वेक्षणका लागि लगत सङ्कलन गरिनेछ ।

सर्वेक्षकले ‘ट्याबलेट’को प्रयोग गरी गरेको स्थलगत लगत सङ्कलन प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा पठाइनेछ । सर्वेक्षणबाट सङ्कलित लगतको थप अध्ययन र प्राविधिक विश्लेषणपछि प्राधिकरणले लाभग्राहीको सिफारिस गर्ने व्यवस्था छ ।

प्राधिकरणले भूकम्पबाट प्रभावित ३२ वटै जिल्लामा छुट तथा पुनःजाँच सर्वेक्षण शुरु गर्न लागेको हो । आउँदो वैशाख मसान्तसम्ममा सर्वेक्षण सकेर असारभित्रै नयाँ सूचिकृत हुने लाभग्राहीलाई पहिलो किस्ता अनुदान दिने योजना प्राधिकरणको छ ।

जिल्लामा हाल निजी आवासतर्फ कूल दुई ३७५ लाभग्राहीको सूचीमा छन् । जसमध्ये दुई १३९ को सम्झौता भइसकेको छ । कूल तीन लाख अनुदानमा पहिलो किस्ता भुक्तानी दुई हजार ४०, दोस्रो किस्ता एक हजार ३० र तेस्रो किस्ता ५७० ले मात्र पाएका छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.