www.tandavnews.com
Fact ~ In search of truth

बागलुङ ताराखोलामा पाडापाडी प्रोत्साहनको बजेट फ्रिज

बलेवा ।

किसानले उत्पादन गरेको दूध बजार पुर्याउन नसक्दा जिल्लाको ताराखोला गाउँपालिकाले ल्याएको पाडापाडी प्रोत्साहन कार्यक्रम प्रभावित भएको छ । दूध बिक्रीका आधारमा पाडापाडी संरक्षणका लागि गाउँपालिकाले किसानलाई प्रोत्साहन रकम दिन बनाएको कार्यविधि कार्यान्वयनमा ल्याउन नसक्दा कार्यक्रम प्रभावित भएको हो ।

गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्नका लागि ‘दूधमा आत्मनिर्भर गाउँपालिका’ बनाउने कार्यक्रम बनाएको थियो । जसअन्तर्गत किसान समूह गठन, घाँस विकास कार्यक्रम र थप केही कार्यक्रम सम्पन्न भएपनि पाडापाडी प्रोत्साहन कार्यक्रमको बजेट नै फ्रिज भएको हो ।

“महीनामा कम्तीमा ३० लिटर दूध बेच्ने किसानले मात्रै पाडापाडी प्रोत्साहन रकम पाउने कार्यविधि बनाएका थियौँ”, कृषि शाखा प्रमुख होमबहादुर थापाले भने, “किसानको दूध बजार नै पुर्याउन नसक्दा रकम फ्रिज भयो ।” कार्यक्रमका लागि गाउँपालिकाले दुई लाख बजेट व्यवस्था गरेको थियो ।

तत्कालका लागि ताराखोला–२ का चार गाउँमा समूह बनाएर दूध उत्पादनको काम थालिएको थियो । दैनिक १०० लिटर दूध उत्पादन हुने प्रारम्भिक अनुमान गरेको कृषि शाखाले र समूहले दूधको बजार खोजी गरेका थिए ।स्थानीयस्तरमा दूधको बजार नरहेको, बाहिरी बजारमा पुर्याउन दूधको मूल्य बढी पर्ने भएकाले किसान समस्या परेका छन् । “हिउँद वर्षा बाह्रै महीना चल्नेगरी सडक बनेको छैन्”, थापाले भने, “हामीले धेरै प्रयास गर्दा पनि ठूलो बजार क्षेत्रमा दूधको कारोवार गर्ने सहकारीले हाम्रो दूध लिन मान्नु भएन ।”

ताराखोलादेखि बागलुङ बजारमा दूध पुर्याउँदा पर्ने मूल्यभन्दा पोखरा लगायतका ठूला शहरबाट बागलुङ पुग्ने दूधको मूल्य कम हुने भएकाले पनि सहकारीले दूध लिन नमानेको थापाले बताए ।गाउँमा भैँसीको सङ्ख्या वृद्धि गर्ने र किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले गाउँपालिकाले कार्यक्रम ल्याएको अध्यक्ष प्रकाश घर्तीले बताए । “बजार अभावका कारण अहिलेको कार्यविधिअनुसार पाडापाडी संरक्षणका लागि प्रोत्साहन रकम वितरण गर्न सकेनौँ”, अध्यक्ष घर्तीले भने, “अब कार्यविधिमा थप छलफल गरेर भए पनि यो कार्यक्रमलाई यस वर्ष निरन्तरता दिन्छौँ ।”

गाउँका किसान एउटै भैँसीको दूधमा रमाउने परिपाटीको विकास भएपछि भैँसीको सङ्ख्या बढाउनकै लागि पाडापाडी प्रोत्साहन कार्यक्रम ल्याइएको थियो । गाउँमा पाडापाडी हुर्काउँदा दूध कम हुने भएकाले जन्मेका पाडापाडी तत्कालै फाल्ने चलन रहेको छ । पाडापाडीलाई संरक्षण गर्ने र हुर्काउने नगर्दा भैँसीको सङ्ख्या घट्दै गएको र मूल्यसमेत बढ्दै गएको गाउँपालिकाले जनाएको छ ।

“गाउँमा पाडापाडी हुर्काउनै छोडे, भैँसीको सङ्ख्या घट्दो हुँदा मूल्य बढेकोबढ्यै छ”, अध्यक्ष घर्तीले भने, “भैँसीको सङ्ख्या बढाउने र किसानलाई प्रोत्साहन गर्ने हाम्रो योजना हो ।” ताराखोला क्षेत्रमा पालिने लिमे पाराकोटी जातका भैँसीबाट राम्रो दूध उत्पादन लिन सकिने भए पनि स्थानीय किसान पाडापाडीपालनमा अग्रसर नभएकाले प्रोत्साहनको कार्यक्रम ल्याइएको घर्तीले बताए ।

“दूध बिक्रीका लागि विकल्पको खोजी गरेरै भए पनि हामी पशुपालनलाई आयआर्जनसँग जोड्छौँ”, उनले भने, “अहिले कार्यविधि बनाउने एकथरी र कार्यान्वयन गर्ने अर्कोथरी भएका कारण किसानले पाउने सहायता गुम्यो ।”गाउँपालिकाले कार्यक्रम घोषण गर्दा उत्साहित भएका किसान कार्यक्रम फ्रिज भएको सुन्दा निराश बनेका छन् । भकारो सुधार र समूहमा आधारित भैँसी संरक्षणको थालनी भएकामा भने किसान उत्साहित छन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.