www.tandavnews.com
Fact ~ In search of truth

बाढीले विद्युत आपुर्ति बन्द, बलेवाको सिङ्गो गाउँ अन्धकारमा

बलेवा ।

बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो ।

आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ, थापागाउँ, झिवाँखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा,बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द छ ।आइतबार राति वर्षासँगै आएको बाढीले आयोजनाको बाँध कामै नलाग्ने गरी बगाएको छ । निसीखोलामा रहेको २० मिटर बाँध गहिरो गरी बगाएकाले विद्युत् आपूर्ति बन्द भएको आयोजनाका अध्यक्ष लोकेश्वर पौडेलले बताए ।

वर्षाको समय भएकाले तत्काल मर्मत गर्न सम्भव नरहेको आयोजनाले जनाएको छ । वर्षा रोकिएर खोलामा पानीको बहाव घटेपछि मात्रै बाँध मर्मत गर्न सकिने स्थानीय उपभोक्ता डम्बर बुढामगरले बताए । “तत्कालै बनाउन सकिने अवस्था छैन, खोलाको पानी कात्तिकमा मात्रै घट्छ”, बुढामगरले भने, “झण्डै चार महीना अन्धकारमा परिने भइयो ।”

आयोजनाको बाँधसँगै मुख्य प्रसारण लाइनका आठ पोलसमेत भाँचिएका छन् । आयोजना बन्द हुँदा त्यस क्षेत्रमा सञ्चालित काठका फर्निचर, कुखुरा फार्म, दूरसञ्चारका टावरसमेत प्रभावित भएका छन् । मोबाइलको ब्याट्री चार्ज गर्न समेत विद्युत नभएकाले सम्पर्क टुट्ने अवस्था रहेको उनले बताए। रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.