www.tandavnews.com
Fact ~ In search of truth

बार्सिलोना र चेल्सीको अन्तर दिन र रातजस्तो ।

यदि चेल्सी र बार्सिलोनाबीच च्याम्पियन्स लिग म्याच अहिले नै खेलाइने भने क्याटलान टोलीको हात माथि हुनेछ । बार्सिलोना उत्कृष्ट फर्ममा रहेको बेला चेल्सी भने संकटबाट गुज्रिरहेको छ र आउँदा दिनमा यसका कोच पदबाट बर्खास्त हुन सक्छन् ।
सिजनको यो बिन्दूमा दुई टिमबीच असमानताको यति ठूलो खाडल कि बार्साको सफलताप्रति ढुक्क हुनका लागि यहाँ केही आधारहरु प्रस्तुत गरिएको छ ।
कोन्टे भर्सेस भाल्भेर्डे
बार्सिलोनाभित्रको माहोल सुखद छ भने स्टामफोर्ड ब्रीजको माहोल प्रत्येक साता बिग्रिँदै गइरहेको छ । यतिसम्मकि एन्टोनियो कोन्टेको पद नै धरापमा छ ।
ईंग्ल्यान्डका सट्टेबाजहरुले उनको प्रतिस्थापनका विषयमा आआफ्नो अनुमान लगाउन थालिसकेका छन् । यसमा बार्सिलोनाका पूर्वप्रशिक्षक लुइस इनरिकको नाम अग्रस्थानमा छ ।
अर्कोतर्फ बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भेर्डेले प्रशंसामाथि प्रशंसा बटुलिरहेका छन् । उनी यति बलियो पोजिसनमा छन् कि कसैलाई नसोधिकन लुइस सुआरेज र मेस्सी जस्ता छुनै नसकिने प्लेयरहरुलाई पनि रोटेट गराउन सक्छन् ।
रक्षापङ्ती
भाल्भेर्डेको बार्सिलोनाको रक्षापङ्ती यतिबेला सम्भवत इतिहासमै सबैभन्दा सुदृढ छ । उम्टीटी र टेरस्टेगेन जस्ता पर्खालहरुले क्याटलानलाई सक्दो सुरक्षित राखेका छन् । उच्च दबावको अवस्थामा पनि यो रक्षापङ्ती डग्मगाउँदैन । विश्व फुटबलमा यति कडा रक्षा पङ्ती यतिबेला विरलै भेटिन्छ ।
यता चेल्सीको ब्याकलाइन केही अघिसम्म कोन्टेको टिमको प्रमुख हतियार थियो । तर, पछिल्ला दिनहरुमा यो भुत्ते भइसकेको छ । वेस्ट लन्डनको टिमले पछिल्लो दुई म्याचमा मात्रै सात गोल खायो । यसका प्रमुख डिफेन्डर एन्ड्रिज क्रिस्टेनसेन घाइते अवस्थामा रहेकाले सो म्याच गुमाउन सक्छन् ।
आक्रमण
चेल्सीको स्ट्राइकिङ फोर्स यतिबेला सन्देहको घेरामा छ । एल्भारो मोराटाले यूरोपियन भिडन्तमा खेल्न पाउने–नपाउने अझै निश्चित छैन । उनको पिठ्यूको समस्याले समर्थकहरु र आर्सनलबाट हालै मात्र चेल्सी आएका ओलिभर गिराउन्डलाई अन्योलमा राखिरहेको छ । फ्रेन्च खेलाडी जिराउन्ड मोराटाका विकल्प हुन् । केवल एडेन हाजार्डबाट मात्रै राम्रो प्रदर्शनको ठोकुवा गर्न सकिन्छ ।
यता, बार्सिलोनाका लागि प्रमुख स्ट्राइकर मेस्सी र सुआरेजले स्कोरिङमा रेकर्डमाथि रेकर्ड राखिरहेका छन् ।
चेल्सी र बार्सिलोनाका स्ट्राइकरहरुको तथ्यांक
१. लियोनल मेस्सीः ३४ म्याचमा २७ गोल
२. लुइस सुआरेजः ३१ म्याचमा १९ गोल
३. एल्भारो मोराटाः ३१ म्याचमा १२ गोल
४. एडेन हाजार्डः ३५ म्याचमा १३ गोल
टिम
अहिलेको अवस्थामा च्याम्पियन्स लिगको नकआउट चरणका प्रतिस्पर्धी दुई टिमको स्क्वाडको तुलना गर्नु भनेको दिन र रातको तुलना गरेजस्तै हो ।
बार्सिलोनाका प्लेयरहरु एकतावद्ध छन् र भाल्भर्डेको निर्णयमाथि आशंका गर्दैनन् । लुइस एनरिकले खासै प्रयोग नगरेका भर्मालेन, आन्द्रे गोमेस र पाको अल्कासर जस्ता खेलाडीहरुलाई भाल्भर्डेले ब्यूँताएका छन् । उनीहरुले गर्दा टिम भझ सुदृढ बनेको छ ।
यता लन्डनमा चेल्सीका फुटबलरहरुले कोन्टेको निर्णयमा विश्वास गर्न छोडिसके । आफ्नो जिम्मेवारीका लागि कोन्टे सक्षम छन् भन्नेमा खेलाडीहरुमा सन्देह छ ।
यूरोप यात्रा
बार्सिलोना पहिलो चरणमा समुह विजेताका रुपमा र एउटा म्याच पनि नहारी छनोट भएको थियो । चेल्सी समुह चरणमा दोस्रो रह्यो । समूह चरणमा एथ्लेटिकोले लण्डनमा ड्र खेलेको थियो भने रोमाले पनि चेल्सीलाई बराबरीमा रोकेको थियो । यद्यपि दुई टिमबीच खेल हुन अझै १४ दिन बाँकी छ । यो समयमा चेल्सीले आफूलाई कति सुधार गर्छ हेर्न बाँकी नै छ ।

© 2018, अर्जुन गिरी. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.