www.tandavnews.com
Fact ~ In search of truth

बिरानो आँगन

गोपाल खनाल,

आफैँ हुर्के बढेको आँगन कसरी बिरानो होला ? तातेताते गदैै,लड्दै खेलेको आफ्नै आँगन बिरानो बन्दाको नमिठो अनुभूति गर्न विवस छ आजको पुस्ता । हिजो लड्दै खेलेको, उफ्रिएको,साथीसङ्गी जम्मा भएर लुकामारी खेलेको त्यो सुखद स्मृति सजाउने मेरो आँगन साँच्चै आजकल बिरानो लाग्न थालेको छ । जीवनको सुरुआत जुन आँगनबाट भयो हो त्यही आँगन बिरानो बनिरहँदा मन चसक्क दुख्छ,मुटु भकानिन्छ अनायसै ।

न गाउँ हिजोको जस्तै गाउँ छ न त्यो आँगन नै हिजोको जस्तो छ । गाउँहरु रित्तो छन् आँगनहरु सुनसान छन् । आजकल पर्दैनन् आँगनमा बाल पदचापहरु । आँगनमा झार उम्रिएको छ । बुढा बाबाआमाअहरु पिँढीको डिलमा बसेर रहर पूरा गर्न सहर छिरेको सन्तान फर्कने झिनो आशा बोकेर बाँचेका छन् । हिजो सन्तानका लागि आफ्ना सबै रहरहरुलाई तिलाञ्जली दिएका बिचरा बाआमाहरु आज उनै सन्तानबाट अपहेलित छन् कति हो कति । हिजो आमाले भनेको सम्झन्छु साना छउन्जेल मर्छन् कि भन्ने डर ठूला भएपछि मार्छन् कि भन्ने डर ।

के भन्नु भा होला जस्तो लाग्थ्यो सानो छँदा आज देखिरहेछु,अनुभूत गरिरहेछु । आज गाउँमा बालबालिका र युवा युवतीको बोली सुन्न पनि मुस्किल छ । सुविधाका लागि सहर छिरेका अनि विदेश पसेकाहरु कति सुविधा भोगिरहेका होलान् तिनै जानून् । हिजो गाउँमा विजुली थिएन टुकीको धुमिल प्रकाशमा काम गर्नु पथ्र्यो, आज विजुली छ । हिजो खबरका निम्ति चिठी कुर्नु पथ्र्यो वा घण्टौँ हिडेर बजार पुग्नु पथ्र्यो फोन गर्न परदेसिएका लाई आज त्यो पनि पर्दैन घरका कुनामा बसेर संसार नियाल्न सकिन्छ ।

पढ्नका निम्ति घाम पानी नओत्ने विद्यालय थियो आज लाखौँ खर्चिएर विद्यालय भवन बनेका छन् तर खै हिजो गाउँमा असुविधा थियो र पनि रमाइलो थियो । बाल सखा थिए,काम गर्ने युवा शतिm थियो जोस थियो जाँगर थियो उल्लास थियो । हिजो गाउँमा ठूला कच्चि घरहरु (हाम्रा लागि दरबार) थिए २०७२ सालको भूकम्पले भत्काइदिएपछि आज नामका घर बनेका छन् पक्कि पनि छन् तर पनि किनकिन हिजोका जस्ता प्रिय छैनन् रमाइला छैनन् । साँच्चैभन्दा भूकम्पपछि गाउँमा मान्छेभन्दा धेरै घरहरु बनेका छन् ।

सरकारले घर बनाउन ३ लाख अनुदान दिने भएपछि बजारमा महल भएका अर्थात् गाउँ छाडिसकेकाहरुले पनि गाउँमा नामको घर बनाएको भेटिन्छ । सगोलमा रहेकाहरुले पनि छुट्टिएको भन्दै छोरापिच्छे घर बनाएकाले पनि गाउँमा अहिले घरैघर बनेको पाइन्छ । आज गाउँमा बनेका एक कोठे घर छ त्यसमा चोटा छैनन् न आँटी छ न बार्ताली नै छ । विनाशकारी भूकम्पले घर,गोठ, बस्ती मात्र भत्काएन भत्कायो सम्बन्धहरु, तहसनहस गरायो स्मृतिहरु, सुकायो पानीका मूलहरु । हिजो हामीले लुकामारी खेलेजस्तो न घर छ न आँगन छ ।

आज गाउँमा सँगै खेलेका÷मेलापात गरेका राम, सन्तोष, सरन, रमेश, मनोज, राजन, मुकुन्द, प्रकाश , साबी, नवराज, सीता, गीता, देवी,ऋषि, निरा, दीपक, कुमारी, सुमित्रा,पार्वती, माधव, विष्णु, शिव, विनोद, किशोर,शोभा, हरि,रामशरण लगायतका बाल सखाहरु छैनन् जो एउटै आँगनमा जम्मा भएर खेल्थे,सँगै पढ्थे । उनीहरु भौँतारी रहेछन् अन्त कतै । घर पक्कि बने तर सम्बन्धहरु कच्चि बन्दै गएको देख्छु । आफ्नैबाट असुरक्षित, आफ्नैबाट पीडित त्रस्त मनहरु देख्छु । करोड खर्चिएर गाउँमा विद्यालय भवन बन्यो तर त्यहाँ पढ्न जाने बालबालिका छेनन् । ज्यादै न्यून सङ्ख्या देख्छु विद्यार्थीको ।

न दक्ष जनशक्ति छ, न पर्याप्त दरबन्दी नै । नेपाली विषयमा उच्च शिक्षा लिएकाहरु गणितमा सूत्र रटाइरहेका छन्,अंग्रेजी घोकाइरहेका छन् । योग्यता नै नपुगेकाहरु विज्ञान सिकाउँन तम्सन्छन् । अनि कहाँबाट आओस् गुणस्तर ? कहाँबाट सिकून् बालबालिकाले । त्यसैले धेरै गाउँबस्ती बाबुनानी पढाउनकै लागि सुनसान बनेको देख्छु । विद्यालय भवन बनाइदिएर मात्र हुदैँन त्यहाँ नियमित दक्ष शिक्षक शिक्षिकाको व्यवस्था सरकारले गर्नुपर्छ । शिक्षक राखेर मात्र पनि हुदैँन तिनले पूरा समय विद्यालयमा बसेर पढाउन जरुरी छ , राजनीतिको झेला फालेर ।

सरकारी विद्यालयमा अंग्रेजी माध्यम नभएर विद्यार्थी नभएका होइनन् व्यवस्था नभएर हो । अंग्रेजी भाषा हो भाषा सबै चिज होइन । भाषा सिक्न एउटै पिरियड पनि पर्याप्त हुन्छ यदि विषय शिक्षकले मन लगाएर पढाउने हो भने । अंग्रेजी माध्यम बनाउँदैमा विद्यार्थीको ओइरो लाग्छ भन्ने मूर्ख मानसिकता छोडेर आधारभूत तहदेखि विषयगत शिक्षकको व्यवस्था गर्ने हो भने शिक्षामा रहेको असमानता स्वतः हट्न गइ गुणस्तर कायम हुन सक्छ । शिक्षाको गुणस्तर कायम हुन नसक्नुको कारण नै आधारभूत तह देखि नै विषयगत शिक्षकको व्यवस्था नगरिनु हो भन्ने बुझ्न जरुरी छ नत्र सरकारको लगानी बालुवामा पानी बराबर हुने निश्चित छ । यसरी शिक्षामा उस किसिमको सुधार गर्न सके गाउँ रित्तने क्रम रोकिने थियो कि ।

‘ तिमीहरु जस्ता पढेलेखेकाहरु गाउँ फर्कदैनौ, मरियो भने लास पनि नउठ्ने भो बाबु गाउँमा ।’ एक जना बुढा बाले भनेको सम्झन्छु मन नराम्ररी पिरोलिन्छ । हिजो पढाइका निम्ति सहर छिरेको मलाई पनि त्यो बिरानो बनेको आँगन आफ्नो बनाउने मन छ गाउँ सिँगार्ने मन छ । आमामो आँखाबाट बगेका आँसु पुछ्ने मन छ म जस्ता धेरै युवामा त्यो रहर छ र पनि सडकको उचित सुधार र विकास नहुदाँ त्यसो हुन सकिरहेको छैन । गाउँमै गएर कुनै व्यवसाय गरौँ नियमित यातायातको सुविधा छैन । गाउँ फर्किएका केही साथीहरुको पनि त्यही गुनासो छ ।

आफ्नै आँगनमा रमाउने चाहना कसलाई हुँदैन र ?मान्छे जहाँ पुगेर जति नै उन्नति गरोस् उसले आफ्नो आँगन कदापि भुल्न सक्दैन । बाध्यताले सहर छिरेका र परदेशिएकाहरु आफ्नै आँगनमा फर्कन चाहन्छन् तर खै राज्यले त्यस किसिमको वातावरण कायम गर्न सकेको ? गाउँमा जथाभावी बाटो खनिएको छ । हिजोका गोरेटा आज गाउँमा पाइँदैन तर स्मृतिमा गोरेटा र डहरहरु छन् गोठालो जाने गरेको पाखो पुरै सडक खन्ने नाउँमा ध्वस्त भएको छ, हरियाली हराएको छ । उजाड र निरस बनेको छ पाखा पखेराहरु । योजना बिना जथाभावी खनिएका बाटोका कारण पहिरोको डर छ जताततै ।

गाउँ छ , बाटाहरु फराकिला बनेका छन् तर त्यहाँ बस्नेहरुको सोच साँघुरै छ । पहिले भन्दा उल्लिखित धेरै कुराहरु भएर पनि केही नभएजस्तो बनेको छ गाउँ शून्य छ बस्ती अनि उस्तै बिरानो आँगन पनि । हुन त विग खोजेर पाइँदैन । विगतमा जे थियो त्यो आज छैन र आज जे छ त्यो भोलि हँदैन यो परिवर्तन को नियम नै हो । तर हिजो भएका केही कुराहरु जो आज पनि रहन जरुरी भएर पनि हामीले गुमाएका छौँ सुख खोज्ने बाहनामा ।

भएको सुख र खुसी बिर्सिएर नभएकामा वा नपाएकामा हामी दुःखी बनिरहेका छौँ । यस्तै आदतको विकास हुँदैछ हामीमा । जे होस् आफैँदेखि बिरानो बनेको आफ्नो आँगनलाई आफू चिनाउनु छ । ब्युँझाउनु छ गाउँलाई । खुसी फिर्ता गराउनुछ डाँडामाथिका घाम बनेका बाबाआमाहरुको मुहारमा । बुढो भयो सब रङ गयो । आँगन भयो परदेश भन्ने उहाँहरुको आशय बुझेर अनि आफ्नो भोलि सम्झेर …………………।

[email protected]

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.