www.tandavnews.com
Fact ~ In search of truth

बुबा आमाको स्मृतिमा पाँच लाख अक्षयकोष

बेनी ।

म्याग्दी रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटका इञ्जिनीयर चन्द्रकुमार सुवेदीको परिवारले आफ्नो दिवङ्गत बुबा आमाको स्मृतिमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

स्वर्गीय बुबा खडानन्द र आमा केशरकुमारी शर्मा सुवेदीको स्मृतिमा सुवेदी परिवारले ‘खडानन्द केशरकुमारी शर्मा सुवेदी स्मृति प्रतिष्ठान’ दर्ता गरी पाँच लाख राशीको अक्षयकोष स्थापना गरेका हुन् ।सो कोषको ब्याज रकमबाट स्थानीय ज्ञानोदय माविमा निजी स्रोतका शिक्षकको तलब व्यवस्थापन, विद्यार्थीका लागि छात्रावृत्ति तथा पुरस्कारमा खर्चिने प्रावधान बनाइएको प्रतिष्ठानका सदस्य एवं विद्यालयका पूर्वप्रअ निलकण्ठ सुवेदीले जानकारी दिए ।

Batas

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका इञ्जिनीयर सुवेदीले निजी स्रोतबाट मावि तह सञ्चालन भएको विद्यालयको शिक्षाको गुणस्तर सुधारमा चौतर्फी सहयोग पुगोस भन्ने उद्देश्यले कोष स्थापना गरिएको बताए ।

उनले कोषको पूँजी विस्तारका लागिसमेत प्रतिष्ठानले समाजका अन्य सहयोग दाताहरुसंग आवश्यक समन्वय गर्ने बताए । कोष स्थापनाकर्ता चन्द्रकुमार र सुधाकुमारी सुवेदी दम्पत्ति संरक्षक रहेको सो प्रतिष्ठानका अध्यक्षमा विद्यालयका पूर्वप्रअ लक्ष्मीप्रसाद सुवेदी र सदस्य सचिवमा विद्यालयका प्रअ रहने गरी समिति गठन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिएको प्रतिष्ठानको उपाध्यक्षमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदेन सदस्य तथा कोषाध्यक्षमा विद्यालयका लेखापाल रहने व्यवस्था छ । त्यस्तै समितिको सदस्यमा बालकृष्ण सुवेदी, तारानाथ शर्मा, निलकण्ठ सुवेदी रहेका छन् ।

स्व .खडानन्द सुवेदी ज्ञानोदय माविको विद्यालय व्यवस्थापन समितिको संस्थापक अध्यक्षसमेत रहेका थिए । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.