www.tandavnews.com
Fact ~ In search of truth

बुर्तिबाङमा प्रथम ढोरपाटन मेयर रनिङ गोल्डकप

अर्जुन कार्की,
बागलुङ/ताण्डव न्यूज ।

बुर्तिबाङ राइजिङ युवा क्लब र ढोरपाटन नगरपालिकाको संयुक्त आयोजनामा पुरुष र महिला खुल्ला पालिका स्तरिय मेयर रनिङ गोल्ड कप भलिबल प्रतियोगिता हुने भएको छ ।

ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा असोज २६ गतेदेखि कार्तिक २ गतेसम्म खुल्ला पालिका स्तरिय मेयर रनिङ गोल्ड कप तथा पूर्णिमा मेला हुने बुधबार पत्रकार सम्मेलन गरेर आयोजकले जनाएको छ ।

परापुर्वकालदेखि बुर्तिबाङमा संचालन हुँदै आएको कोजागत पूर्णिमा मेलामा यस वर्षदेखि ढोरपाटन नगरपालिका पनि आयोजक रहने गरि मेयर रनिङ गोल्ड कप भलिबल सञ्चालन गर्न लागिएको हो ।
२५ टिमसम्मले भाग लिने आकांक्षा गरेको पुरुष खुल्ला पालिका स्तरिय मेयर रनिङ गोल्ड कप भलिबल प्रतियोगिताको विजेताले रनिङ गोल्ड कप सहित १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ६० हजार रुपैयाँ प्राप्त गर्ने बुर्तिबाङ राइजिङ युवा क्लबका अध्यक्ष सोमबहादुर पौ.वि.ले बताए । यस्तै महिला तर्फको विजेताले गोल्ड कप सहित ६० हजार रुपैयाँ र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष पौ.विले बताए ।

रनिङ गोल्ड कपमा २० ग्रामको सुन राखिने आयोजकले जनाएको छ । बुधबार बागलुङ बजारको सुनको रेट अनुसार १ लाख २६ हजार रुपैयाँ पर्ने २० ग्रामको सुन राखेर आकर्षक गोल्ड कप निर्माण भइरहेको अध्यक्ष पौविले बताए । गोल्ड कप कब्जा गर्नको लागि ३ वर्षसम्म लगातार एकै टिमले जित्नुपर्ने आयोजकले जनाएको छ ।

पर्यटन वर्ष २०२० लाई सफल पार्न सहयोग गर्ने लक्ष्य लिइएको मेलामा बुर्तिबाङ क्षेत्रका संस्कृति र झाँकीहरु प्रदर्शन गरिने अध्यक्ष पौ.विले जानकारी दिए । पुराना कला संस्कृतिको जगेर्ना र संरक्षणको लागि मेलामा बुर्तिबाङ क्षेत्रको मारुनी नाँच, सराँयो नाँच, झ्याउरे नाँच लगायतका एतिहासिक तथा जातजातिहरुको भेषभुष र संस्कृति प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

मेला सम्पन्न गर्नको लागि आयोजकले ३६ लाख ५० हजार रुपैयाँको लागत अनुमान गरेको छ । मेलामा खुल्ला एकल तथा समुह नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रस्साकस्सा प्रतियोगीता, स्लोबाईक रेश प्रतियोगिता, पुरुष तथा महिला छेलो प्रतियोगिता, कृषि प्रदर्शनी, शरायँ नाच, झाँक्री नाच लगायतका झाँकी प्रदर्शनी, बागलुङ जिल्ला स्तरीय मेन्स डवल ए र मेन्स डबल ग्रुप वि को व्याडमिन्टन प्रतियोगिता एवं जिल्ला स्तरीय तेक्वान्दो च्याम्पीयनशीप आयोजना गरिएको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.