www.tandavnews.com
Fact ~ In search of truth

बेनी जोमसोम सडक चार दिनदेखि अवरुद्ध,यात्रु जोखिम मोलेर पैदल यात्रा गर्न बाध्य

म्याग्दी ।

संसारकै गहिरो अन्धगल्छीको माथिल्लोपट्टी रहेको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पहिरो गएपछि अन्धगल्छी सङ्कटमा परेको छ ।

कालीगण्डकी नदीले कटान गरेपछि सडक भासिएर पहिरो खसेको हो । धौलागिरि र अन्नपूर्ण हिमालको खोंचमा छ हजार ९६७ मिटरको गहिराइमा बनेको ‘अन्धगल्छी’ संसारकै गहिरो गल्छी हो । यहाँ कालीगण्डकी नदी लुकेर बगेको छ ।

Batas

शुक्रबार बेनी–जोमसोम सडकको सबैभन्दा साँघुरो र कठिन भूगोल रहेको भिरकाटे र बाँदरजुङ भिरमा सडक भासिएपछि अवरुद्ध भएका यातायातका साधन चार दिन बितिसक्दा पनि सञ्चालन हुन सकेका छैनन् ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले चार दिनदेखि सडक मर्मत गर्ने गरेको प्रयास सफल हुन सकेको छैन । सडक आयोजनाका प्रमुख मुकुन्द अधिकारीले बेनी–जोमसोम सडकको सबैभन्दा साँघुरो र कठिन भूगोल रहेको भिरकाटे र बाँदरजुङ भिरमा एक–एक सय मिटर लामा सुरुङमार्ग वा अन्य विकल्पमा अध्ययन भइरहेको बताए । उनले भने, “सडक भासिएर कुनै पनि समस्या आउने प्रायःनिश्चित थियो । जहाँ तलबाट वाल उठाएर सडक जोगाउन सकिने अवस्था नै थिएन ।”

अहिले बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत सात मिटर कालोपत्रसहित ११ मिटर चौडा सडक बनाउने काम भइरहेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको महभिरदेखि मुस्ताङको सीमाक्षेत्र बाँदरजुङ भिरसम्मको करीब २० किमी खण्डमा बढी भिरपहरा र साँघुरो गल्छी भएकाले काम गर्न अप्ठ्यारो छ ।

बेनी–जोमसोम सडकको बाँदरजुङमा मात्र होइन, विभिन्न खोलामा रहेका बेलीव्रिज पनि नदी कटानको उच्च जोखिम छन् । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत रहुघाट, कालीगण्डकी र अन्य साना खोलामा नयाँ पक्की पुल निर्माण गर्न फाउण्डेसन राख्ने क्रममा नदीको धार परिवर्तन भएकाले चालू अवस्थाका बेलीव्रिज कटानको जोखिममा परेका हुन् ।

ठाउँठाउँमा पहिरो खस्ने र सडक अवरुद्ध भएपछि यात्रु र सवारी चालक त्रसित बनेका छन् । बेनीबाट मुस्ताङ जाने र मुस्ताङबाट फर्कने यात्रु जोखिम मोलेर पैदल नै पहिरो पार गर्न बाध्य भएका छन् ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.