www.tandavnews.com
Fact ~ In search of truth

भिलेन फ्लेभरका एसपी राना : छन्त्यालको स्वागत, बतासको बिदाई !

 

 

 

 

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

अहिलेका कास्की प्रहरी प्रमुख ओमबहादुर राना मात्र यस्ता पात्र हुन जो आउदा पनि चर्चामा थिए र जादा पनि चर्चामा छन् । त्यो पनि सकारात्मक रुपले होइन आलोचित भए ।  पोखरा आउन साथ यहाँका टोले गुण्डासँगको सम्बन्ध र जाँदा किलो २ अर्थात डिएसपी रवीन्द्रमान गुरुङले अटेर गर्छन् भनेर उनी चर्चामा रहे ।

Batas

कास्कीका तत्कालिन एसपी अशोक सिंहलाई महानगरीय विशेष सुरुक्षा महाशाखामा सरुवा गर्यो । सोही निकायका एसपी ओमबहादुर राना सिंहको स्थानमा सरुवा भएर आएका थिए राना । ०७५ बैशाख ३० गते देखि नै ‘किलो वान’ को जिम्मा सम्हाल्ने गरि एसपी राना जिल्ला प्रहरी कार्यालय आए । एसपी सिंहलाई पनि सोही दिन बिदाइ गरिएको थियो । किलो वान जिल्लाको प्रहरी प्रमुखको कल साइन हो ।

इन्ट्रीमै भिलेन फ्लेभर

कार्यभार सम्हाल्न कास्की टेक्ने बित्तिकै एसपी रानाको आलोचना भयो । कथित टोले गुण्डा धनबहादुर छन्त्यालले खादा लगाइदिएको हल्ला बाहिरिएपछि एसपी रानाको पसिना पोखराको चिसो हावाले ओभ्याउन सकेन । खादा मात्रै होइन,केही गाडीले विमानस्थलबाटै स्कर्र्टिङ गरेको कुराले इन्ट्री नै भिलेन स्टायलको बनिदियो ।

यसबारे गृह मन्त्रालयमा पनि कुरा पुगिसकेको थियो । गृह श्रोतका अनुसार २ महिनामै एसपी रानाको सरुवाबारे हल्ला पनि बाहिर आए । यी कुरा सत्य नै हुन् त ? भन्ने प्रश्नमा एसपी रानाले ताण्डव न्यूजसँग भनेका थिए ‘यी सबै हल्ला मात्र हुन् ।’

मुखमा छुरा, बगलीमा राम ! राम !

कास्की आइसकेपछि एसपी रानाले ०७५ असार २४ गते आइतबार पत्रकार सम्मेलन गरे । गुण्डागर्दी विरुद्ध शून्य सहनशिलताका साथ एक्सनमा उत्रने उनको भनाई जोसिलो सुनिएको थियो । तर, उखान उल्टाइए जस्तै मुखमा छुरा बगलीमा राम राम देखिए उनी ।

आएको ५५ दिनमै उनले कार्यप्रगति सुनाउन पत्रकार डाकेका थिए । इन्ट्रिमै भिलेन फ्लेवर मिसिएर पनि हुनसक्छ, कार्यप्रगति सन्तोषजनक देखिएको थियो । गुण्डासँगको हिमचिमको बहस भने सेलाएको थिएन । पत्रकारमाझ उनले कास्की प्रहरीको गुण्डागर्दी निस्तेज अभियान अन्तर्गत १५ जना पक्राउ गरेको सुनाए ।

गुण्डागर्दी, हप्ता असुली, धम्की, मिटर व्याज, बेटिङ लगातका कार्यमा संलग्नहरुलाई पत्रकार सम्मेलनमै उभ्याएर फोटो खिच्न पनि लगाइयो । तर, गुण्डागर्दीमा को–को हुन् ? हप्ता असुली कसले गर्यो ? धम्की दिने को ? मिटर व्याजमा पक्राउ कसलाई गरिएको हो ? भन्ने प्रश्नमा उनी अनुत्तरित देखिए । एक्सनमा उत्रन खोजेका एसपी रानालाई यहि प्रश्नले फेरी पसिना छुट्यो ।

असार २४ गते केही अनलाइन मिडिया र २५ गते पत्रपत्रिकामा एसपी रानाको कार्यप्रगति पढ्दा पोखरेलीले आशाको स्वास फेरे । ‘खरो रहेछन् एसपी सा‘ब ’ भन्ने छाप बसाल्न सफल भए ।

मिटरमा जान नमान्ने ट्याक्सीलाई पक्राउ गरेर कारवाही पनि अघि बढाएका थिए । मिटरको कुरा लिटरमै अड्किरहेको छ अहिले पनि । ट्याक्सी व्यवसायीहरु लिटर डिजलको मूल्य सुनाएर, महंगीको उदाहरण दिएर मिटर ठप्प पारेको लामो समय भइसक्यो । कास्की आएका प्रहरी प्रमुखहरुको लागि टाउको दुखाइको विषय पनि हो यो ।

असार २४ गते नै उनले आफ्ना १२ बुँदे कार्ययोजनालाई निरन्तरता दिने बताएका थिए । गुण्डागर्दी निस्तेज, लागुऔषध, घरेलु हिंसा, मिटर व्याज, जुवातास, यौन व्यवसाय, अवैध मदिरा लगायतका अपराधिक कार्य निस्तेज पार्ने उनका १२ बुँदे मिसन थिए ।

यस्तै ट्राफिक व्यवस्थापन तर्फ अनियमितता, ट्राफिक लाइट, ओभर स्पीड कन्ट्रोल लगायतका विषयमा गम्भिर भएर लाग्ने उनको भनाई थियो ।

यो ३७८ दिनमा उनी गम्भिर भएमात्रै, व्यवहारमा त्यो देखिएन । हिट एण्ड रनमा मृत्युवरण गरेका ड्युटी खटिएका प्रहरी जवानलाई समेत उनले न्याय दिन सकेका छैनन् ।

त्यसो त ,०७५ जेठ २७ गते कथित टोले गुण्डा ललित गुरुङको ८३८६ नम्बरको आइलक्स गाडीमा एसपी राना मदिराले मस्त भएर लेकसाइड स्थित ओजोन डिस्कोमा पुगेको आरोप पनि लागेको थियो ।

एसपी र डिएसपीको कोल्ड वार

एसपी राना आइसकेपछि लागु औषध नियन्त्रण ब्युरो पोखराबाट बढुवा भएर जिल्ला प्रहरी कार्यालय कास्कीमा डिएसपी आए रविन्द्रमान गुरुङ । डिएसपी गुरुङ कास्कीकै हुन् । आफ्नै बसोबास स्थान भएर पनि हुनसक्छ, उनमा केही दम्भ देखिन्थ्यो । केही जटिल केसहरु उनले एसपी समक्ष पु¥याउँदै पु¥याएनन् ।

विशेषगरी आर्थिक लेनदेनको मामला उनी एक्लै सल्टाइदिन्थे । व्यक्तिगत लेनदेनको कुरालाई लिएर डिएसपीले थर्काउने गरेको श्रोतले बतायो । ‘न प्रमाण देखाउ भन्दा देखाउँछन् । कानुनी रुपमा जाउँ न त भन्दा गाली गर्छन् । पक्राउ पूर्जी नभई, घर घेरेर अपराधी जसरी हिरासतमा लिए’ एक पीडितले गुनासो गरे ।

यस सम्बन्धमा एसपी राना बेखबर जस्तै देखिए । यसलाई उनीहरुबिचको कोल्ड वार अर्थात् शित युद्ध मान्न सकिन्छ ।

प्रवक्ता समेत रहेका डिएसपी गुरुङलाई प्रवक्ताको भुमिका ननिभाएको समेत आरोप लाग्यो । सूचनाका लागि फोन गर्दा फोन नउठाइदिने, सूचना लुकाउने जस्ता आरोप उनीमाथी लाग्दै आएको छ ।
‘फोन उठाउनुहुन्न रे नी तपाई ? के हो कुरा ?’ गत महिना पत्रकारहरु माझ एसपीले डिएसपीलाई बोलाएर सोधे । डिएसपी गुरुङले त्यतिबेला हातमा रहेको मोबाइल देखाउँदै गैर जिम्मेवार जवाफ दिएका थिए ‘यी यस्तो थोत्रो मोबाइल छ । कहिले अफ हुन्छ, कहिले के हुन्छ ।’

नोटिसेबल वर्क

पोखरा २२ पुम्दी भुम्दीकी श्रीया बिकको हत्यारालाई २४ घन्टा नपुग्दै जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गर्नु एसपी रानाको ‘नोटिसेबल वर्क’को रुपमा लिन सकिन्छ ।

यस्तै कास्की सिल्दुजुरे घर भई नयाँबजारमा बस्दै रहेका सूर्य पाण्डे हत्याको केस पनि अघि बढाए उनले । पाण्डेको चार वर्ष अघि हत्या भएको थियो । लागुऔषध कारोवारमा पनि उनको एक्सन सम्झनलायक छ ।
बतासको बिदाई !

छन्त्यालको खादा र स्कर्टिङमा पोखरामा स्वागत गरिएका एसपी रानालाई पछिल्लो समय बतास अर्गनाइजेसनका विपेन्द्रराज बताससँग सेटिङ मिलाएको आरोप छ । पत्रकार अर्जुन गिरीले बतासविरुद्ध समाचार प्रकाशन गरेपछि, हिरासतमा लिनका लागि उनीहरुबिच सेटिङ भएको आरोप लागेको हो ।

पक्राउ पूर्जी जारी भएको ४ दिनपछि पत्रकार गिरीलाई जिप्रका बोलाएर हिरासतमा लिइनु शंकास्पद देखियो । किन ४ दिन सम्म भनिएन ? प्रश्नको उत्तर दिँदै एसपी रानाले भनेका थिए ‘चाडबाड थियो । घरपरिवार सँगै हुनुहोला, किन दुःख दिने भनेर खबर गरेनौँ ।’

गिरी पक्राउ पछि देशैभर रिहाइ र प्रेस स्वतन्त्रताको मागसहित आन्दोलन चर्कियो । गिरी पक्राउ पर्नुअघि एसपी राना र वीपेन्द्र पोखरा टे«ड मलमा रहेको रेस्टुरेन्टमा भेटर कुराकानी गरेको एक पत्रकारले पत्रकार महासघको कार्यक्रममै खुलासा गरेका थिए । यस घटनालाई ‘पावर एण्ड मनी प्लानिङ’ अर्थात् बतासले पैसा र शक्ति देखाउनकै लागि एसपी रानासँगको सेटिङमा पक्राउ गरिएको आरोप छ ।

अहिले बतासलाई अदालतले पक्राउ पूर्जी जारी गरिसक्दा पनि प्रहरीले पक्राउ नगर्नु उनीहरुबिचको निकटताको असर हो की, भन्ने आँकलन सुरु भएको छ ।

रक्तचन्दन, सुन तस्करी र घुस प्रकरण

राना रसुवाको डिएसपी हुँदा रक्तचन्दनको तस्करी प्रकरणमा मुछिएपछि अवधी पुग्नु अघि नै तानिएका थिए । रक्तचन्दन तस्करीको आरोपमा सेनाले एक कर्णेललाई कोटमार्सल गरि जागिरबाटै बर्खास्त गरेको थियो । तर, तत्कालिन डिएसपी रानाले भने उन्मुक्ती पाए । रक्तचन्दन बाहेक सुन तस्करीमा पनि उनी मुछिए ।

यस्तै, बौद्ध प्रहरी प्रमुख हुँदा रानालाई तिब्बतीहरुसँग घुस मागेको घटना पनि बाहिरिएको थियो । राना महानगरीय आयुक्त कार्यालयमा रहँदा रकम असुलीका कारण पनि बद्नाम भएका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.