www.tandavnews.com
Fact ~ In search of truth

भूकम्पको ४ वर्षः के के भए पुनर्निर्माणको काम !

काठमाडौँ ।

विनाशकारी भूकम्प गएको आज ४ बर्ष पूरा भएको छ ।

४ बर्ष अघि अर्थात २०७२ साल वैशाख १२ गते आजैको दिन गोरखाको बारपाक केन्द्रविन्दू बनाएर ७ दशमलव ६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । विनाशकारी भूकम्पमा परि नौ हजारभन्दा बढी नेपाली ज्यान गुमाएका थिए।
भुकम्पले पुर्वाधार, संरचनाहरु क्षतविक्षत बनाएको थियो । क्षतिग्रस्त संरचनाहरुको पुनःनिर्माणको काम भने कछुवा गतिमा भईरहको छ । ४ वर्ष बितिसक्दा पनि पुनःनिर्माणले सोचेअनुरुप गति लिन सकेको छैनन् ।भूकम्पले क्षतिग्रस्त पाँच ग्रामीण सडकको ६१.९ किमी पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ले जनाएको छ ।

Batas

निर्माण सम्पन्न भएका सडकमा भक्तपुरको तेलकोट–घट्टेडाँडा ७।६ किमी, ललितपुरको ठैब–गोदामचौर २.६ किमी, काभ्रेपलाञ्चोकको खोपासी–ढुँगखर्क १४ किमी, दोलखाको सुनखानी–साङ्बा २७.४ किमी र काठमाडौँको साँखु–पालुवारी–नगरकोटको १०.१ किमीको काम सकिएको हो । पाँचवटै सडक आयोजना पुनःनिर्माणका लागि एशियाली विकास बैंक (एडीबी) को सहुलियत ऋण सहयोग रहेको एकाईका आयोजना उपनिर्देशक वरिष्ठ डिभिजनल इञ्जिनीयर अमृत श्रेष्ठले जानकारी दिए ।

भूकम्पले क्षति पुगेका थप १२ सडक आयोजना पुनःनिर्माणका लागि एडीबीले सहयोग गरेको छ । बाह्र सडक आयोजनाको ३०१ किमीको काम चालू आर्थिक वर्षमा सकिने गरी भइरहेको जनाइएको छ । भूकम्पले क्षति भएको २४ सडक आयोजनाको ३४९ किमी सरकार आफैँले पुनःनिर्माण गर्ने उनले सुनाए ।

गोरखा भूकम्पले ८३ ग्रामीण सडकको एक हजार ५१ किमीमा क्षति पुर्याएको थियो । ३८ वटा सडक आयोजनाको ७०७ किमी पुनःनिर्माण जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

भूकम्पले क्षति भएका ४२ सडकको ३१६ किमीको काम शुरु हुन बाँकी रहेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । चालू आर्थिक वर्षमा भूकम्पले भत्किएका ६० प्रतिशत सडक पुनःनिर्माण सक्ने प्राधिकरणको लक्ष्य छ ।

आर्थिक वर्ष २०७६÷२०७७ सम्म ८० प्रतिशत र आव २०७७÷२०७८ सम्म भूकम्पले भत्किएका सबै सडकको काम सकिने जनाइएको छ । भूकम्प प्रभावित २१ जिल्लाका सडक आयोजनाको पुनःनिर्माण भइरहेको छ । भूकम्प अति प्रभावित सिन्धुपाल्चोकका सडक आयोजना पुनःनिर्माण अझै शुरु हुन नसकेको उपनिर्देशक श्रेष्ठले स्वीकार गरे ।

केही विदेशी संस्थाले सिन्धुपाल्चोकका सडक आयोजना पुनःनिर्माण गर्ने प्रतिबद्धता जनाएकाले काम सुरु हुन नसकेको हो । भूकम्प गएको चार वर्ष पुग्दा पनि ती संस्थाले काम सुरु नगरेकाले एकाईले नै गर्ने गरी प्रस्ताव अघि बढाइएको छ ।

भूकम्प प्रभावित क्षेत्रका सडकका पुल हालसम्म पुनःनिर्माण हुन सकेको छैन । करीब एक दर्जन पुल पुनःनिर्माण स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव गरिएको एकाईले जनाएको छ । केही पुल पुनःनिर्माणको प्रस्ताव स्वीकृत भई आउने जानकारी आएको एकाई प्रमुख गणेशराज वस्तीले सुनाए ।

क्षतिग्रस्त २६२ सरकारी भवन पुनःनिर्माण

भूकम्पले भत्किएका २६२ सरकारी भवन पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

गोरखा भूकम्पले क्षति पुगेका ४१५ सरकारी भवन बनाउनुपर्ने तथ्याङ्क छ । १४५ भवन पुनःनिर्माण भइरहेको छ । आठ वटा सरकारी भवन पुनःनिर्माण गर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।हालसम्म ६३ प्रतिशत सरकारी भवन पुनःनिर्माण सम्पन्न भएकामा चालू आर्थिक वर्षको अन्त्य सम्ममा ७५ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले  जानकारी दिए ।

आर्थिक वर्ष २०७६÷२०७७ मा ९० प्रतिशत पुनःनिर्माण सक्ने लक्ष्य छ । आर्थिक वर्ष २०७७÷२०७८ मा ४१५ वटै सरकारी भवनको पुनःनिर्माण सकिने उनले बताए । भूकम्पले १६२ सरकारी भवनमा पूर्ण र २५३ मा आंशिक क्षति पुगेको थियो ।

सुस्त खानेपानी आयोजना पुनःनिर्माण

भूकम्पको चार वर्ष बित्दा पनि मानवीय जीवनका लागि अत्यावश्यक खानेपानीका संरचना पुनःनिर्माणले भने गति लिन सकेको छैन ।

भूकम्पले क्षति पुगेका तीन हजार २१२ खानेपानी आयोजनामध्ये हालसम्म ७९१ को मात्र पुनःनिर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । यो कूल क्षति भएकामध्ये २५ प्रतिशत मात्र हो । हाल ६७० आयोजना पुनःनिर्माण भइरहेका छन् । अझै एक हजार ७५१ आयोजना पुनःनिर्माण हुन सकेको छैन । वैशाख ८ गतेसम्म प्राधिकरणमा प्राप्त तथ्याङ्क अनुसार ५५ प्रतिशत खानेपानी आयोजना बनाउने सुरसार छैन ।

आधा बढी विद्यालय भवन पुनःनिर्माण

भूकम्पले क्षति पुगेका सात हजार ५५३ विद्यालय भवनमध्ये चार हजार २५३ को पुनःनिर्माण सम्पन्न भएको छ । हाल दुई हजार १३१ विद्यालय भवन बनिरहेको छ । एक हजार १६९ विद्यालय भवन अझै पुनःनिर्माण शुरु हुन नसकेको प्राधिकरणले जनाएको छ ।

यसैगरी भूकम्पले ४९ हजार ६८१ कक्षा कोठामा क्षति पुगेको थियो । वैशाख पहिलो सातासम्म १८ हजार ४५६ कक्षा कोठा पुनःनिर्माण सम्पन्न भएको छ । १८ हजार ५५० कक्षा कोठा बनिरहेका छन् । १२ हजार ६७५ कक्षा कोठा अझै बन्न सकेको छैन ।

भूकम्पले क्षति पुगी पुनःनिर्माण गर्नुपर्ने विभिन्न विश्वविद्यालयका ३० क्याम्पसमध्ये हालसम्म दुई वटाको मात्र काम सम्पन्न भएको छ । हाल २१ क्याम्पस भवन पुनःनिर्माण भइरहेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताए । सात क्याम्पस भवन अझै पुनःनिर्माण शुरु हुन सकेको छैन । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.