www.tandavnews.com
Fact ~ In search of truth

भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्छ :प्रधानमन्त्री ओली

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पदालाई पुरानै स्वरुपमा पुनःनिर्माण गरी संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् ।

चौथो भूकम्प स्मृति दिवसका अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र काठमाडौँ महानगरपालिकाले आज यहाँ संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले नेपाल भूकम्पीय जोखिमको क्षेत्र भएकाले प्रतिरोधी संरचना बनाउनुपर्नेमा जोड दिए । भूकम्प प्रतिरोधी संरचना पुनःनिर्माणकै लागि आर्थिक र प्राविधिक सहयोग दिइएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

Batas

“यसपछिका भूकम्पले ती संरचनालाई असर नगरोस् भन्ने मुख्य उद्देश्यले अझ बलियो र राम्रो संरचना निर्माणका लागि सरकारले अनुदान दिएको हो, यसको सदुपयोग गरी तोकिएकै समयमा पुनःनिर्माण सम्पन्न हुनुपर्छ”, उनले भने ।

“हाम्रा पुर्खा वीर मात्र नभई विद्वान्समेत भएको कुराको प्रमाण सम्पदा, प्राचीन ग्रन्थ, वेद, पुराण हो, सांस्कृतिक वैभव भएको हाम्रो देश कहिल्यै कसैको उपनिवेश बनेन, यसको महत्व आधुनिककालमा अझ बढ्दै गएको छ”, प्रधानमन्त्री ओलीले भने ।

काठमाडौँ बाहिरका ऐतिहासिक सम्पदाको पनि पुरानै स्वरुपमा बलियो पुनःनिर्माण भइरहेको प्रधानमन्त्री ओलीले सुनाए । सम्पदाको धनी देश भएकाले त्यसको संरक्षण गर्नुपर्नेमा पनि उनले सरोकार भएका निकायलाई सचेत गराए । प्राधिकरणको बाँकी अवधि २० महीनामै पुनःनिर्माणका काम सक्न प्रधानमन्त्रीले आग्रह गरे । अनावश्यक र अनुचित विवादमा नअल्झी पुनःनिर्माणको काम गर्न उनले सुझाव दिए ।

बागदरबार मासिइसकेकाले हरिशम्शेरको दरबारलाई फेरि बागदरबार भनेर विवाद गर्न नहुने प्रधानमन्त्री ओलीले बताए। पुनःनिर्माणमा राम्रो काम गर्ने सबैप्रति उनले आभार पनि व्यक्त गरे ।

सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुरातात्विक सम्पदाबाहेक भूकम्पले क्षतिग्रस्त संरचना २० महिनामै पुनःनिर्माण सम्पन्न हुने प्रतिबद्धता जनाए । सांस्कृतिक इतिहास बोकेको काठमाडौँ उपत्यकाका विश्व सम्पदा सूचीमा सूचीकृत सातै सम्पदाको गुरुयोजना निर्माण गरी भूकम्प प्रतिरोधी बनाउन लागिएको तथा भूकम्प प्रभावित क्षेत्रका ६२ सम्पदा बस्तीका लागि प्राधिकरणले विशेष कार्यक्रम ल्याएको जानकारी दिए ।

खरीद कार्यविधि संशोधन गरी १० करोडसम्म पुनःनिर्माण हुने सम्पदा उपभोक्ता समितिलाई दिन सकिने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।कामपाका प्रमुख विद्यासुन्दर शाक्यले राजधानीका क्षतिग्रस्त संरचनाको पुनःनिर्माणमा समन्वयका साथ तीव्रता दिन माग गरे । शहरभित्रका घर अझै पुनःनिर्माण हुन नसकी टेको लगाएर राखिएकाले सहुलियत ऋणको व्यवस्था सहज बनाउनुपर्ने उनको भनाइ थियो ।

“४० लाख महानगरवासीले सेवा लिने भवन पुनःनिर्माण गर्न नदिने खेल भइरहेको छ, महानगरका ३२ वटै वडा पुनःनिर्माण हुँदैछन्, महानगर भवन पुनःनिर्माणको अवरोध हटाउन म प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछु”, शाक्यले भने । प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पछिल्लो समय पुनःनिर्माणले तीव्रता लिइरहेको जानकारी गराए ।

सम्पदा अवलोकन

भूकम्प स्मृति दिवसका अवसरमा प्रधानमन्त्री ओलीले वसन्तपुर दरबार क्षेत्रमा पुनःनिर्माण भइरहेका सम्पदाको अवलोकन गरे । पुनःनिर्माण भइरहेको काष्ठमण्डपको उनले अभिरुचिपूर्वक बाँसको भर्याङ उक्लेर माथिल्लो तलामा गई निरीक्षण गरे ।

भूकम्पअघि महानगरीय प्रहरी परिसर रहेको भवनमा काष्ठमण्डप पुनःनिर्माणका लागि बनिरहेको काठको कार्यशालाका गतिविधि पनि प्रधानमन्त्री ओलीले अवलोकन गरे। कालभैरव मन्दिरअघि भूकम्पमा परी निधन भएकाहरुको शान्तिका लागि भइरहेको धार्मिक कार्यक्रम सहभागी भई उहाँले टीका प्रसाद ग्रहण गरे।

दरबार क्षेत्रमै विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किई महानगरपालिकाले पुनःनिर्माण गरेको शिव मन्दिरको प्रधानमन्त्री ओलीले उद्घाटन गरे । हनुमानढोका दरबारभित्र प्रवेश गरी नासलचोक, नौतले दरबारलगायत संरचना पुनःनिर्माणको पनि उनले रुचिपूर्वक अनुगमन गरे । सो अवसरमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिकासमेत सहभागी थिए ।

वसन्तपुर दरबार क्षेत्रमा कार्यक्रम शुरु हुनुअघि नै उनले त्रिपुरेश्वरस्थित त्रिपुरासुन्दरी मन्दिर पुनःनिर्माणको अवलोकन गरेको सो अवसरमा जानकारी गराइएको थियो । चार वर्षअघि ११ः५६ को भूकम्पको सम्झनामा निधन हुनेप्रति सोही समय पारेर श्रद्धासुमन व्यक्त गरिएको थियो ।

उत्कृष्टलाई सम्मान

चौथो स्मृति दिवसका अवसरमा पुनःनिर्माणमा राम्रो काम गर्ने स्थानीय तह, वडा, जिल्ला आयोजना कार्यान्वयन एकाइलाई सम्मान गरिएको थियो । उत्कृष्ट काम गर्ने स्थानीय तहमा रसुवाको नवकुण्ड, गोरखाको बारपाक सुलिकोट र दोलखाको कालिञ्चोक गाउँपालिका छन् ।

यसैगरी सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–२ तथा रसुवा, गोरखा, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोकका जिल्ला आयोजना कार्यान्वयन एकाइलाई पनि प्रधानमन्त्री ओलीले सो अवसरमा सम्मान गरे । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.