www.tandavnews.com
Fact ~ In search of truth

भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता हुने

काठमाडौं ।

आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धनका लागि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा अन्तर्राष्ट्रिय स्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको छ ।

नेपाल एसोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा)को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ अन्तर्गत र्याफ्टिङ र कायक प्रतियोगिता हुन लागेको हो ।

नाराका अध्यक्ष गङ्गाप्रसाद नेपालले हरेक वर्ष झैँ यस वर्ष पनि नाराले कायक र कर्पोरेट र्याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशीमा यस्तो प्रतियोगिता गर्न लागिएको अध्यक्ष नेपालले बताए ।

नाराले गत वर्ष लमजुङको मस्र्याङ्दी नदीमा कायक तथा र्याफ्टिङ रेसको प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा सालोलम, बोटर क्रस र डाउन रिभर रेस गरी तीन विधामा कायक प्रतियोगिता तथा कर्पोरेट हाउसलाई सहभागिता गराएर एक विधामा समूहगत र्याफ्टिङ रेस प्रतियोगिता हुनेछ ।

कर्पोरेट र्याफ्टिङ रेस प्रतियोगितामा भाग लिने टोलीलाई ७५ हजार दर्ता शुल्क लाग्ने नाराले जनाएको छ । र्याफ्टिङ रेस प्रतियोगितामा प्रथम हुने समूहलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार तथा तेस्रो हुनेलाई २५ हजार नगद प्रशंसापत्र र मेडल प्रदान गरिनेछ ।

यस्तै, कायकतर्फ दर्ताशुल्क विदेशी खेलाडीलाई पाँच हजार ५०० र स्वदेशी खेलाडीलाई तीन हजार लाग्नेछ । तीनै प्रकारका कायकमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिने नाराका महासचिव शिशिर खनालले जानकारी दिए ।

प्रतियोगितामा स्वदेश तथा विदेशका झण्डै ४०० खेलाडीको सहभागिता रहनेछ । सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन लिएको उद्देश्यअनुरुप विदेशी पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्वबजारमा प्रचारप्रसार र प्रर्वद्धन गर्नुपर्ने महासचिव खनालको भनाइ छ ।

सन् २००२ बाट कायक र र्याफ्टिङ प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष विदेशी ३० भन्दा बढी खेलाडीको सहभागिता हुने विश्वास नाराले लिएको छ ।

प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै ७० लाख खर्च हुने नाराले जनाएको छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.